coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुरे तोरीको तेललाई ब्राण्ड बनाइने

भक्तपुरको लोप हुने अवस्थामा पुगेको परम्परागत तोरीको तेल बनाउने पेशा व्यवसायलाई ब्राण्ड बनाउने प्रयास थालिएको छ। जिल्लाका स्थानीय मानन्धर समुदायले तोरी पेलेर तेल निकाल्ने यो पेशा व्यवसायलाई ब्राण्ड बनाउन तोरीको तेल उत्पादन सम्बन्धी अध्ययन समिति गठन गरिएको छ।  

भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यहरुमा बाबुकाजी मानन्धर, रामबहादुर मानन्धर, ज्ञानेन्द्र मानन्धर, उमेश मानन्धर, आनन्द मानन्धर र राजेश मानन्धर रहेका छन्। यो पेशा व्यवसाय यहाँंका मानन्धर थर भएका समुदायको परम्परागत पेशा हो। यही कारण समितिका सबै समुदाय मानन्धर रहेका हुन्।  

अध्ययन समितिका संयोजक न्हुछेरत्न मानन्धरले भक्तपुर चेम्बरले जिल्लाका जुझारू युवाहरूलाई समेटेर परम्परागत पेशालाई लोप हुनबाट बचाउने अभियानै सञ्चालन गर्ने योजना बनाएको बताए। त्यसै क्रममा सुरुमा पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन, बजारीकरण तथा ब्राण्ड बनाउनको लागि संघले अध्ययन समिति बनाएको संयोजक मानन्धरले बताए।  

समितिले यस क्रममा सरोकारवाला पक्षलाई सहभागी गराएर छलफल कार्यक्रम सम्पन्न गरिसकेको मानन्धरले बताए। मानन्धर समुदायको लोप हुने स्थितिमा पुगेको स्थानीय उत्पादन तोरीको तेललाई ब्राण्ड बनाउनको लागि छलफल कार्यक्रम सम्पन्न गरेको उनले बताए।  

भक्तपुर चेम्बर अफ कमर्सले प्रवर्द्धन गर्ने भएपछि करिव हराइसकेको परम्परागत पेशालाई पुनर्उत्थान गर्न भक्तपुरका मानन्धरहरू अघि सरेका छन्। यस कार्यमा अन्य संघसंगठनले पनि हातेमालो गर्न थालेका छन्। भक्तपुर जिल्ला मानन्धर युवा संघले यसमा सहयोगीको भूमिकामा आएको हो। उसैको अगुवाइमा सम्पन्न गरेको प्रारम्भिक चरणको छलफल कार्यक्रममा भक्तपुर, मध्यपुर तथा सूर्यविनायक नगरपालिकाका विभिन्न टोलमा बसोबास गर्दै आएका मानन्धरहरू सहभागी भएको जनाइएको छ।

‘लोप हुने तरखरमा रहेको मानन्धर समुदायको पुर्ख्यौली पेशाको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने घरेलु उद्योगलाई अब सामूहिक लगानीमा कम्पनीको रूपमा विकास गर्छाैं,’ अभियानमा सहभायी मानन्धर युवाहरुको सामूहिक भनाइ छ। साना उद्योगको रूपमा रहेको तोरीको तेल उत्पादन गर्ने पेशा पुँजी तथा कच्चा पदार्थको अभाव, मौलिक उत्पादनको गुणस्तर सम्बन्धीको गुणदोष बुझाउन नसकेर आधुनिक बजारबाट लोप हुँदै गएको उनीहरुको बुझाइ छ। योजनालाई सफल बनाउन योजनाबद्ध रुपमा छलफल गर्दै अगाडि बढ्ने योजना बनाइएको छ।  

मानन्धर समुदायको परम्परागत पेशाको रुपमा रहेको यो पेशा व्यवसाय विशेष गरेर भक्तपुरको साःकोलान टोल, टेखाच्व, तःपालाछि, गोमारी, मध्यपुर थिमिको चोडेलगायतमा देखिन्छन्।  

तोरीको तेललाई मात्रै नभएर यहाँंको जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी, चिउरा, चाकुलगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्ने देखिन्छ तर सरकारी नीति तथा प्रोत्साहन अभावले करिव उस्तै उत्पादनहरू विदेशबाट आयात गरी उपभोग भइरहेको छ।

प्रकाशित: ८ माघ २०७८ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App