७ वैशाख २०८१ शुक्रबार
अर्थ

बजेट अभावमा निर्माणाधीन मदन भण्डारी सभाहल अलपत्र

बजेट अभावमा गाईघाटस्थित निर्माणाधीन अलपत्र सभा भवन। तस्बिरः महेश्वर

सदरमुकाम गाईघाटको ‘आईकन प्रोजेक्ट’ मानिएको निर्माणाधीन ‘मदन भण्डारी स्मृति सभाहल तथा अतिथिगृह’ भवन रकम अभावमा वर्षदिनयता अधुरो छ। २३ करोड रुपैयाँमा ०७४ वैशाख १० गते भएको ठेक्का सम्झौता अनुसार काम सकिएको वर्षदिन बित्दा सिज थप बजेट व्यवस्था नहुँदा भवन अलपत्र परेको हो।  

त्रियुगा नगरपालिका १३ साविक हवाईफिल्डस्थित थरुहट–उदयपुर रंगशाला परिसरमा निर्माणाधीन राष्ट्रिय गौरवको सभा भवन बहुवर्षीय हो। सुविधा सम्पन्न र बहुआयामिक भवनको पहिलो फेजको काम युद्धस्तरमा हुँदाहुँदै पहिलो कोभिड महामारी सुरु भएपछि अवरुद्ध हुन पुग्यो। कोभिड कम भएसँगै सुरु भएको काम अर्को वर्ष कोभिड दोहोरिएपछि ०७८ माघ १० गतेसम्मका लागि सरकारले म्याद थप्यो। तर, थप म्यादभन्दा अगावै काम सकिए पनि वर्षदिनसम्म थप रकमको जोहो नहुँदा ठेकेदार कम्पनी निर्माणस्थलबाट क्याम्प हटाउने पक्षमा पुगेको छ।

ठेकेदार रविना÷जोशी÷पवित्र जेवीले ठेक्का कवोल अनुसारको सम्पूर्ण भौतिक संरचना निर्माण गरिसकेको भन्दै अब क्याम्प हटाउन लागेको जनाएको छ। ठेक्का लिए अनुसार सबै काम सकेको धेरै भईसक्दासम्म थप बजेटको निश्चित नभएपछि अन्यत्रको साईटमा लगाउन क्याम्प हटाउन लागेको निर्माण कम्पनीका प्रतिनिधि केदार दाहालले बताए। उनले भने, ‘अहिलेसम्म थप बजेटको कुनै निश्चित नभएपछि क्याम्प हटाउन लागेका हाैं।’ कम्पनीको अन्य ठाउँको साईट चलाउन पनि काम नभएको ठाउँमा क्याम्प राखिराख्न नमिल्ने दाहालले बताए।

दाहालका अनुसार भवनको ठेक्का सम्झौता अनुसार भौतिक संरचना निर्माण कार्य लगभग सकिएको छ। विद्युत ट्रान्समिटर राख्न र वईरिङलगायतका सहायक कामहरु मात्र बाँकी रहेको छ। तर, तीे काम गर्न भवन पूर्णरुपमा सक्नुपर्ने हुन्छ। भवनको बाँकी काम भनेको छानो (ट्रस) हाल्न मात्र बाँकी हो। जसका लागि भवन विभागले भिओ (भेरिफिकेसन अर्डर) गरे पुग्ने उनको भनाइ छ। भिओ गर्नका लागि आफूले सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयलाई सुझाएको तर, अहिलेसम्म सो काम नभएको उनले बताए।

सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजका प्रमुख (डिई) सचिन्द्रकुमार देवले भवन लगभग सकिइसकेको ट्रसलगायत काम मात्र बाँकी रहेको बताए। उनका अनुसार कूल लागतको २५ प्रतिशत भिओ गरे भवनको काम सक्न बजेट पुग्ने प्राविधिक अनुमान छ। तर, २५ प्रतिशत भिओ गर्ने अधिकार मन्त्रालयको सचिवलाई मात्र हुन्छ। सघन कार्यालयले यसअघि नै प्राविधिक इस्टीमेट बनाएर २५ प्रतिशत भिओ गर्न अनुरोध गर्दै विभागमा पत्राचार गरिसकेको र सो फाईल विभागबाट यसअघि नै मन्त्रालय पुगिसकेको छ।  

बीचमा सरकार परिवर्तन र अन्य बिबिध कारणले अड्किएको फाईल खोल्न आफूले पत्र लेखेर अनुरोध गरेको डिई देवले बताए। देवका अनुसार कन्टीजेन्सी र मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक २४ करोड ९ लाख ४१ हजार १ सय ८७ रुपैयाँ ६० पैसा लागत इस्टीमेट थियो। सो अनुसार टेण्डरमार्फत प्रतिस्पर्धा गराउँदा २३ करोड हाराहारीमा ठेक्का लागेको थियो। ठेक्काको काम समयभित्रै र सन्तोषजनक भएको भन्दै उनले थप बजेटको व्यवस्था गर्ने अधिकार आफूसँग नभएर विभाग र मन्त्रालयको रहेकाले त्यतातिरै पहल गरिरहेको बताए।  

सघन सहरी विभागका भवन शाखाका निर्देशक दिलिप भण्डारीले निर्माणाधीन मदन भण्डारी स्मृति सभाभवन बजेट अभावमा अधुरो हुन पुगेको विषयमा विभाग सचेत रहेको बताए। उनले भवनलाई पूर्णता दिने विषयमा विभागले आवश्यक कागजात सघन कार्यालयसँग मागेर फाईल मन्त्रालयमा पठाईसकेको बताए। ‘गाईघाटमा निर्माणाधीन सभाभवन अधुरो रहेको विषयमा हामी संवेदनसिल छौँ’, निर्देशक भण्डारीले भने, ‘त्यसलाई पूर्णता दिने विषयमा आवश्यक सम्पूर्ण कागजात तयारी गरी मन्त्रालय पठाइएको छ। अब सचिवज्युबाट हुनुपर्ने काम मात्र बाँकी छ। केही दिनभित्र टुंगो लाग्ला।’  

विभाग स्रोतका अनुसार सचिवलाई भने केही दिन पहिले कोभिड पोजेटिभ देखिएको छ। ‘सचिवज्यु कोभिडले थलिनु भएको छ, उहाँ निको भएर फर्केपछि फाईलले अन्तिम रुप लिन्छ’, स्रोतले भन्यो।

प्रकाशित: ८ माघ २०७८ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App