७ वैशाख २०८१ शुक्रबार
अर्थ

यार्सागुम्बा ह्विस्की जापान निर्यात

नेपाली बजारमा विदेशी मदिराको बर्चस्व रहेको अवस्थामा यहाँको एक मदिरा उत्पादक कम्पनीले यार्सागुम्बा ह्विस्की विदेश निर्यात सुरु गरेको छ। एभरेस्ट हब्र्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्रान्ड यार्सागुम्बा जापान निर्यात भएको छ। जापानको तोमोदाची हब कम्पनीले उक्त मदिरा आयात गरेको हो।

यार्सागुम्बासहित विभिन्न जडीबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अस्ट्रेलिया, चीन निर्यात हुँदै आएको थियो। नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ।

जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले बताए। नेपाल हिमालयको देश भएको र जापानिजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्रान्डलाई सहजै चिनाउन सजिलो भएको उनले बताए।

यार्सागुम्बा अहिले जापानको टोकियो सहर आसपास मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। भण्डारीका अनुसार जापानका मुख्य सहरका होटल, रिसोर्ट, क्लब, रेस्टुरेन्ट, बार लगायतमा यार्सागुम्बा पुर्‍याउने तयारी छ। अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउन पनि केही कम्पनीसँग कुराकानी भएको उनले बताए।

लन्डनबाट एमबिए गरेका भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन्। जापानको होटल र रेस्टुरेस्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिट्टै जापानका मुख्य सहरका प्रख्यात होटल र रेस्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने बताए।

यार्सागुम्बालाई कम्पनीले बेभरेजको रूपमा प्रचार गर्दै आइरहेको छ। यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडीबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ। स्वाथ्यका लागि औषधीको गुण समेत रहेको कम्पनीको दाबी छ।

प्रकाशित: ७ माघ २०७८ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App