१६ चैत्र २०८० शुक्रबार
अर्थ

आगन्तुक घट्दै प्रमुख पर्यटकीय स्थल भरततालमा

शीतलहर र कोरोना लहरले गर्दा मधेस प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै गएको सर्लाहीको भरततालमा आगन्तुक घट्दै गएको छ। दैनिक पाँच हजार पर्यटक आउने सर्लाहीको बागमती नगरपालिकास्थित मानव निर्मित भरततालमा अहिले आधाले घटेको छ।

मधेसमा पाँच दिनदेखि घामको अनुहार सर्वसाधारणले देख्न पाएका छैनन्। दिन र रात कुहिरो लाग्नुका साथै चिसो बतास चलिरहेकोले घरबाट बाहिर निस्कन पनि समस्या भएको छ। यस्तो अवस्थामा पर्यटकीय क्षेत्रमा सर्वसाधारण कमै पुग्ने गरेका छन्। यसैमा झन् केही दिनदेखि कोरोना लगातार बढिरहेको छ। दुवै कारणले भरततालमा जाने पर्यटकहरुको संख्यामा आधाले कमी आएको स्थानीयको भनाइ छ।  

शनिवार र अन्य विदाका दिनमा २० देखि २५ हजार पर्यटक भरतताल पुग्ने गरेका छन् तर प्रदेश सरकारले लगातार दुई दिन दिएको बिदाको दिनमा झन् पर्यटकको आगमन सुकेको स्थानीय एक पसल संचालक बताउँछन्। अत्यधिक जाडो बढेको दिनदेखि पर्यटकको आगमन धेरै घटेको चिया पसलेको भनाइ छ।  

गत माघ १ गतेका दिन २६ हजारभन्दा बढी पर्यटकले भरततालको अवलोकन गरेका थिए। भरततालमा पुग्ने पर्यटकको मुख्य रोजाइ नै डुंगा चढ्ने हुने गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरतबहादुर थापाले बताएका छन्।

भरततालमा १२ ओटा साधारण स्वचालित डुंगा र एउटा अति व्यवस्थित अत्याधुनिक मिनी क्रुजले सेवा दिइरहेको छ। झन्डै एक सय बिगाहा क्षेत्रफलमा पानी रहेको भरतताल देशकै ठूलो मानव निर्मित कृत्रिम ताल भएको दाबी नगर प्रमुख थापाको रहेको छ। तालको व्यवस्थापन नगरपालिकाले गरिरहेको थापा बताउँछन्।

भारतीय पर्यटकलाई मुख्य लक्ष्य गरी निर्माण गरिएको ताललाई हेर्न गत १ जनवरीका दिन नेपाल र भारतबाट गरी १ लाख २५ हजार पर्यटक आएको तथ्यांक रहेको नगर प्रमुख थापाको दाबी छ। अहिलेसम्म सबैभन्दा बढी पर्यटक आएको दिन १ जनवरी नै भएको थापा बताउँछन्।

अहिले निर्माणको चरणमा नै रहेको भरतताल मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। पूर्व–पश्चिम राजमार्गको बागमती नगरपालिकाको बागमती नदीमा रहेको पुलसँगैको पूर्वी तटबन्ध भएर दुई किलोमिटर दक्षिणमा निर्माण भइरहेको भरतताललाई सर्वसाधारणले गत असोजदेखि अवलोकन भ्रमण गर्न थालेका हुन्। तालमा चल्ने डुंगाको आनन्द लिन पाएपछि धेरैले समुद्रको अनुभूति गर्ने गरेको सुनाउँछन्।  

भरतताललाई अवलोकन गर्न पुगेका रौतहटको गढीमाई नगरपालिका समनपुरका श्याम यादवले यति ठूलो विशाल तालमा डुंगामा बसेर बिहार गर्न पाउँदा समुद्रमा नै पुगेको अनुभूति भएको बताएका छन्। मधेस प्रदेशमा यतिको ठूलो ताल हुन पाउनु सबैको लागि खुसीको कुरो भएको यादवको भनाइ छ।  

भरततालको बारेमा आफूले सुनेको भरमा आएको तर सुनेको भन्दा अझ धेरै राम्रो यहाँको वातावरण राम्रो रहेको आफूले पाएको अर्का पर्यटक सर्लाही मलंगवाका बिकाउ महतो बताउँछन्। भरततालमा आउँदा आफूलाई मधेसमा नभएर विदेशमा भएको जस्तो लागेको महतोको अनुभूति रहेको छ।  

निर्माणाधीन अवस्थामा नै पर्यटकको मन जित्न सफल भइसकेको भरतताल बागमती नगरपालिकाको आम्दानीको बलियो स्रोत बन्ने सम्भावना रहेको छ। गत असोजदेखि व्यावसायिक रुपमा पर्यटकीय कारोबार हुन थालेको भरततालबाट नगरपालिकालाई पुस मसान्तसम्म करिब ३० लाख रुपैया आम्दानी भइसकेको नगर प्रमुख थापाको भनाइ छ।

बढ्दो कोरोनाले गर्दा पर्यटकीय गतिविधिमा पनि केही प्रभाव पर्ने सम्भावना रहेको छ। तर भरततालको निर्माण तथा यसको आसपासको संरचना निर्माण निरन्तर अगाडि बढिरहने देखिन्छ।  

बागमती नगरपालिकाले पर्यटकीय स्थल निर्माण तथा संचालनका लागि चालिरहेको सम्पूर्ण संरचना पूरा भएमा आगामी केही वर्षमा आत्मनिर्भर नगरपालिका बन्ने विश्वास लिएको नगर प्रमुख थापाको भनाइ छ। नगरमा निर्माणाधीन पर्यटकीय स्थलहरुले अहिले नै सबैको ध्यान तानिसकेको अवस्थामा आगामी दिन अझ सहज हुने विश्वास नगरपालिकाले लिएको छ।

प्रकाशित: ६ माघ २०७८ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App