६ वैशाख २०८१ बिहीबार
अर्थ

बारपाक सडकको काम छाडेर ठेकेदार बेपत्ता

बारपाक जाने सडक।

बाह्रकिलोदेखि बारपाकसम्मको सडक दुईवर्ष अघि कालोपत्रे भईसक्नु पर्ने हो। तर, अहिले पनि सडकमा बुङ्बुङ्ती धुलो उँड्छ। निर्माण व्यवसायीले समयमै काम नगर्दा सडक अलपत्र छ। पक्की सडकामा यात्रा गर्ने बारपाकीको सपना निर्माण व्यवसायीकै कारण पूरा हुन सकेको छैन।

‘चार, पाँचवर्ष पहिला सडक कालोपत्रे हुन्छ भन्ने सुनेका थियौं,’ बारपाकका स्थानीय जितबहादुर घलेले भने ‘अहिले पनि सजिलो गरी यात्रा गर्न मिल्ने सडक बनेको छैन।’ जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्न नसक्दा विकास निर्माणको काम अलपत्र परेको उनले गुनासो गरे। अहिले पनि बर्षातको समयमा बारपाकसम्म सवारी साधन आउजाउ गर्न मुस्किल छ। निर्माणाधिन सडक खण्डमा केही समय यता कामदार छैनन् ।

चारवटा प्याक्केजमा ठेक्का लागेको उक्त सडक खण्डको २२ देखि ३० किलोमिटरको काम लामो समय देखि रोकिएको छ। १३ करोड २० लाख रुपैयाँमा लोहोनी एण्ड ब्रदर्श कन्ट्रक्सन प्रालीले ठेक्का लिएको खण्डको काम ७० प्रतिशत मात्रै पूरा भएको छ। २०७४ असारमा सिध्याउनुपर्ने काम म्याद सहिएको चारवर्ष सम्म पुरा हुन सकेको छैन। उक्त सडकको ७० प्रतिशत प्रगती भएको नौ करोड ९१ लाख रुपैयाँ खर्च भएको ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाका प्रमुख पशुपती ज्ञवालीले बताए। ‘हामीले काम छिटो गर्न पत्राचार गरेका छौँ’ उनले भने, ‘योजना अनुसार पहिल्यैदेखि काम गरेका छैनन्।’  

३० देखि ४६ किलोमिटर बारपाक सम्मको सडकको काम ६० प्रतिशत मात्रै भएको छ। ३५ करोडमा ठेक्का भएको उक्त खण्डको अहिले सम्म २३ करोड ६५ लाख निर्माण कम्पनीलाई भुक्तानी दिएको छ। रसुवा सुर्य इलाईट जेभीले जिम्मा लिएको उक्त सडक दुई वर्षअघि निर्माण सक्नुपथ्र्यो। कोरोनाको प्रभावका कारण सरकारले पटक–पटक म्याद थप्ने सुविधा दिएपनि ब्यवशायीले काम गरेका छैनन्। ‘काम भएको पनि केही भत्किएको छ’ आयोजना प्रमुख ज्ञवालीले भने ‘त्यो मर्मत गर्ने दायित्व पनि कम्पनीकै हुनेछ।’  

अहिले यी दुबै खण्डमा काम गर्ने मजदुर देखिँदैनन्। कोरोनाको बाहना बनाउँदै निर्माण व्यवसायीले लामो समयदेखि काम रोकेका छन्। बारपाक खण्डको १७ देखि २२ किलोमिटरमा कन्काई गोरखा जेभीले काम गरेको हो। उक्त खण्ड पूरा भएको इन्जिनियर सुबास गुरुङले बताए। १५ करोड ३३ लाखमा उक्त काम भएको हो।  

बाह्रकिलो बारपाक खण्डको ४ देखि १६ किलोमिटर सम्म २०७१ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो। नार्गाजुन त्रिसुली जेभीले १० करोड ५९ लाखमा उक्त सडक निर्माणको जिम्मा लियो। उक्त खण्डको काम पाँच वर्ष सम्म पूरा नगरेपछि सो खण्ड मध्येपहाडी लोकमार्ग परेको छ। मध्येपहाडीमा पर्ने भएपछि ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजना उक्त खण्डको ठेक्का रद्द गरेको छ। सो खण्डमा अहिले मध्येपहाडी लोकमार्गले काम गरिरहेको छ।

ठेक्का लिएका व्यवसायीले आफू काम नगर्ने र अर्का व्यवसायीलाई योजना जिम्मा लगाउनु, बाहना बनाएर म्याद थप गर्नु, कार्यालयले काम नगर्ने व्यवसायीलाई कारवाही गर्न नसक्नु लगायत कारण बारपाक सडक कालोपत्रेमा ढिलाई भएको गुनासो स्थानीयको छ।  

प्रकाशित: ६ माघ २०७८ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App