coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोनाको सकसः पर्यटन क्षेत्रमा मजदुर व्यवस्थापन सधैंको पिरलो

काम पर्दा बोलाउने, नत्र जाउ भन्दा साह्रै गाह्रोः व्यवसायी

पदयात्रामा रहेका पर्यटन मजदुर। फाइल तस्बिरः नागरिक

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्र पछिल्लो छ महिनादेखि खुला थियो। व्यवसाय मात्र खुलेको थिएन की पाहुना आउँदा व्यवसायीले आम्दानी पनि गर्न पाएका थिए भने मजदुरले काम पाएका थिए। पर्यटन क्षेत्रमा निर्भर हजारौं मजदुर काममा फर्केका थिए। तर, कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनले सबैतिर त्रसित बनाएपछि पर्यटन क्षेत्र फेरि छ महिना अघिकै अवस्थामा फर्किने चिन्ता व्यवसायीमा पलाएको छ।

संक्रमणले पाहुनाको आउजाउ रोकिँदा व्यवसाय नोक्सानमा जाने त पक्का छ, त्यसपछि अर्काे तनाव मजदुर व्यवस्थापन व्यवसायीका लागि टाउको दुखाई हुने गरेको छ। पछिल्लो छ महिनादेखि पूर्ण रुपमा काम गरेका मजदुरलाई अब व्यवसाय नै चल्ने अवस्था नहुँदा के गर्ने भन्ने अन्योल व्यवसायीमा फेरि पलाएको छ। पाहुनाविहीन अवस्थामा कर्मचारीलाई कसरि व्यवस्थापन गर्ने भन्ने उनीहरुमा चिन्ता छ।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालका अनुसार रेबानमा आवद्ध करिब एकसय रेस्टुरेन्टमा झन्डै पाँचहजार जना मजदुर कार्यरत थिए। ती मध्ये पछिल्लो समय करिब ८० प्रतिशत मजदुर काममा फर्केका थिए। काममा फर्केका उनीहरुले पूर्णकालिन काम पनि पाएका थिए। काममा नफर्केका अरु मजदुर भने कोरोना संक्रमण सुरु भएदेखि नै पेशा परिर्वतन गर्दा उनीहरु पर्यटन क्षेत्रमा फर्किन सकेका थिएनन्। काममा फर्केर छ महिनादेखि काम गरिरहेका ती कर्मचारी फेरि कामविहीन हुने अवस्था आएको बरालले बताए।

‘कर्मचारीलाई मात्र होइन, हामी व्यवसायीलाई पनि तनाव छ। काम पर्दा बोलाउने, नत्र फिर्ता जाउ भन्ने अवस्था आउँदा साह्रै अप्ठेरो परेको छ,’ बरालले भने, ‘कोरोना भाइरस तिब्ररुपमा फैलिँदा कार्यरत कामदार कामविहीन भएका छन्। तत्काल पाहुना आउने अवस्था नहुँदा ती कामदारले काम पाउने अवस्था रहन्न। यसले पर्यटन मजदुरलाई अस्थिरतातर्फ धकेलेको छ।’ कामविहीन अवस्थामा राखिरहन व्यवसायीलाई पनि अप्ठेरो र काम नपाउँदा मजदुरलाई पनि सकस हुने अवस्था निम्तिएको उनले बताए। पोखराको पर्यटन क्षेत्रमा मात्र करिब २५ हजार पर्यटन मजदुर कार्यरत छन्।  

‘मजदुरलाई घर पठाउँदा पनि फेरि बोलाउनुपर्छ, काममै राखिरहँदा पनि उनीहरुलाई पुग्ने काम छैन,’ उनले भने, ‘पर्यटन व्यवसाय नै अस्थिर बनिरहँदा आवद्ध मजदुर सधैका लागि बिस्थापित हुने चिन्ता पलाएको छ।’ पर्यटन व्यवसाय नै अनिश्चित बनेपछि अहिलेसम्म पर्यटनमा आवद्ध रहेका मजदुर सधैंका लागि बिस्थापित हुने चिन्ता पलाएको उनले बताए। ‘पर्यटन क्षेत्र कहिले खुल्ला र काम पाउँला भनेर ती मजदुर बस्ने अवस्था रहन्न। पर्यटन क्षेत्र नै अस्थिर रहिरहँदा मजदुर सधैंका लागि बिस्थापित हुने सम्भावना बढ्यो,’ उनले भने।

उनका अनुसार संक्रमण बढेसँगै सरकारले हिडडुलमा पनि कडाई गरेको छ। पछिल्लो समयको त्रासले पाहुना घरबाहिर निस्कन पनि सक्ने अवस्था नहुँदा अहिले पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बनिसकेको छ। दुईसाताअघिसम्म खचाखच पाहुना पाएको पर्यटन क्षेत्र छोटो अवधिमै सुनसान बन्न पुगेको अध्यक्ष बरालले बताए। ‘पाहुना कतै छैनन्। एकाध रेस्टुरेन्टमा फाट्टफुट्ट पाहुना देखिएपनि अबका दिन झनै कठिनपूर्ण हुने देखिएको छ। संक्रमणबाट कर्मचारीलाई जोगाउन पनि सकस भईसकेको छ,’ उनले भने।

पर्यटन मजदुरको संस्था (यूनिट्राभ) का अध्यक्ष विजय केसीका अनुसार पर्यटक आउन नसक्दा पर्यटन क्षेत्रसँग सम्बद्ध सबैखाले कम्पनिले मजदुरलाई काममा बोलाउन सकेका थिएनन। ‘कामचलाउको अवस्था मात्र थियो। फेरि पनि मजदुरमाथि उहि अप्ठेरो आउने भयो, यसले अन्योल सिर्जना गराएको छ,’ केसीले भने, ‘बारम्बार यस्तै अवस्था दोहोरिँदा मजदुरलाई पर्यटन क्षेत्रमा फर्किने वा नपर्किने भन्ने द्विविधा बनाएको छ।’  

उनका अनुसार पेशाको सुनिश्चितता नहुँदा दक्ष जनशक्ति पहिल्यै नै बिस्थापित भएका थिए। ‘पर्यटनमा सबैले नभई होटल र रेस्टुरेन्टका मजदुरले मात्र पछिल्लो समय काम पाएका थिए। पदयात्रा, ट्राभल, र्‍याफ्टिङ क्षेत्रका मजदुर पहिल्यै बिस्थापित भईसकेका थिए,’ उनले भने, ‘अब फेरि होटल र रेस्टुरेन्टका मजदुर पनि काहविहीन  हुने अवस्था आयो। तीनमहिना काममा बोलाएर फेरि बिदा गर्दा व्यवसायीलाई अप्ठेरो परेको छ।’  

अखिल नेपाल ट्रेड यूनियन महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतम पर्यटन क्षेत्रका मजदुरका लागि कोरोनाले निकै नै पीडा थपिदिएको बताउँछन्। ‘दुईपटकसम्मको लकडाउनपछि बल्लतल्ल पर्यटन क्षेत्र चल्ने तरखरमा पुगेको बेला फेरि मार पर्ने अवस्था आएको छ,’ गौतम भन्छन्, ‘सरकार, सरोकारवालाले समाधानको बाटो पहिल्याउनुपर्छ। मजदुर बिस्थापित हुने क्रम अझै बढ्ने पक्का छ।’ उनका अनुसार कोरोना संक्रमण सुरु भएपछिको अहिलेसम्म गण्डकी प्रदेशका मात्र करिब १० हजार पर्यटन मजदुर बेरोजगार भईसकेका छन्। ‘मजदुरलाई मात्र मार पर्ने नभई समग्र पर्यटन क्षेत्रलाई पनि यसको मार पर्ने हो,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराई माघ मसान्तसम्म पर्खिने र त्यसपछि मात्र मजदुरको बारेमा सोच्ने बताउँछन्। ‘अहिलेको अवस्था खराब हुँदै गएमा माघ मसान्तपछि बिदामा पठाउनुपर्ने अवस्था आउनेछ,’ भट्टराईले भने, ‘आन्तरिक पाहुना आउँदा सबैलाई काम पुगेको थियो। तर, अब त पाहुना आउन सक्ने अवस्था नै छैन।’ अहिलेको संक्रमणले तिब्र गति लिएको आधारमा अवस्था खराब हुने देखिएको उनले बताए।

‘सरकार र व्यवसायीले घुमघामको नीति त बनाउँलान तर, घुम्ने वातावरण नै हुन्छ की हुँदैन भन्ने यकिन भएन। आर्थिक भार बोकिरहेका व्यवसायीले फेरि मजदुरको भार पनि बोक्नुपर्ने निश्चित छ,’ उनले भने, ‘मजदुरलाई पनि चाहिएको बेलामा मात्र बोलाउने र नचाहिने बेला लखेट्न भएन। चाहिने बेलामा आउ भन्ने, अरुबेला जाउ भन्दा नैतिकता हुँदैन। बिदामा राखेर भएपनि व्यवस्थापन गर्ने हो।’ पर्यटनमा अन्योल थपिँदा मजदुर पलायनको चिन्ता थपिएको अध्यक्ष भट्टराई बताउँछन्।

प्रकाशित: ६ माघ २०७८ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App