७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्वार्काे फ्लाइओभरको ठेकेदार छानियो

चक्रपथको ललितपुर ग्वार्काे खण्डको फ्लाइओभर निर्माण गर्ने ठेक्का आशिष–समानान्तर–रेलिगेयर जेभीले पाएको छ।

सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले बुधबार सार्वजनिक सूचना जारी गरेर ठेक्कामा छानिएको ठेकेदार कम्पनीलाई सम्झौता गर्न आशयपत्र जारी गरेको छ। आशिष–समानान्तर–रेलिगेयर जेभीले १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रूपैयाँमा ठेक्का पाएको हो।

अर्थ मन्त्रालयले यो फ्लाइओभर निर्माणको लागि २४ करोड रूपैयाँको स्रोत सुनिश्चितता गरेको थियो। गुणस्तर तथा अनुसन्धान विकास केन्द्रका निर्देशक प्रभात झाले सबैभन्दा कम लागतमा निर्माण गर्ने आर्थिक प्रस्ताव पेस गरेको आशिष–समानान्तर–रेलिगेयर जेभीलाई छनोट गरिएको बताए। ‘जेभीले न्यूनतम तोकेभन्दा ३८ प्रतिशत कममा निर्माण गर्ने आर्थिक प्रस्ताव पेस गरेकाले छनोट भएको छ,’ उनले भने, ‘कार्यालयले सार्वजनिक सूचना जारी गरेर सबैभन्दा कम लागतमा निर्माण गर्ने कम्पनीलाई सम्झौता गर्न आशयपत्रसमेत जारी भइसकेको छ।’

केन्द्रले यो फ्लाइओभर दुई वर्षभित्रै निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा तोकेको छ। ठेकेदार कम्पनीले यो परियोजना इपिसी मोडलमा निर्माण गर्नुपर्ने हुन्छ।आफैंले फ्लाइओभरको डिजाइन गरेर निर्माण गर्नुपर्ने हुन्छ। निर्देशक झाले ठेकेदार कम्पनीले कम्तीमा ४–५ महिनाभित्रै डिजाइन गरेर फ्लाइओभर निर्माण गर्नेछ।

गत असारमा फ्लाइओभर निर्माण गर्ने भन्दै ९ वटा कम्पनीले केन्द्रमा प्राविधिक प्रस्ताव पेस गरेका थिए। प्राविधिक प्रस्ताव पेस गरेकामध्ये ८ वटा कम्पनी प्राविधिक रूपमा योग्य देखिएका थिए। केन्द्रका निर्देशक झाले इपिसी मोडलमा फ्लाइओभर निर्माण गर्नुपर्ने भएकाले आर्थिक प्रस्ताव छनोट गर्न केही समय लागेको बताए।

केन्द्रका अनुसार फ्लाइओभर निर्माणको कामले अब छिट्टै गति लिनेछ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा कंलकी–कोटेश्वर सडक खण्डको विभिन्न तीन ठाउँमा फ्लाइओभर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेका थिए।

उनले तीन ठाउँमा बनाउने भने पनि हाललाई ग्वार्र्काेमा मात्रै फ्लाइओभर निर्माण हुने भएको छ। ग्वार्काे चोकमा बन्ने फ्लाइओभर चक्रपथको चारैतर्फ फैलिनेछ। फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटरमा हुनेछ। बालकुमारीतर्फबाट २८० मिटरको रहनेछ।

त्यसैगरी, बीचमा हुने पुल करिब ३५ मिटर अग्लो हुनेछ। त्यसैगरी, सातदोबाटोतर्फ १७५ मिटरको संरचना निर्माण गरिनेछ। सरकारले एकान्तकुना र सातदोबाटो सडक खण्डमा पनि दुईवटा फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको छ तर अर्थ मन्त्रालयले एकान्तकुना र सातदोबाटोमा बन्ने भनिएको फ्लाइओभरको आर्थिक स्रोत सुनिश्चितता नगर्दा निर्माण गर्नेतर्फको कामले गति लिन सकेको छैन। केन्द्रका निर्देशक झाले चार महिनादेखि सातदोबाटो र एकान्तकुनामा बन्ने भनेको फ्लाइओभरको फाइल अर्थ मन्त्रालयमै थन्किएको जानकारी दिए। ‘अर्थले स्रोत सुनिश्चितता गर्नेबित्तिकै फ्लाइओभरको टेन्डर प्रकाशन गर्नेछौं,’ उनले भने।

तत्कालीन अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७७÷७८ को बजेटमा काठमाडौंको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाइओभर र सुरुङमार्ग निर्माण सुरु गर्ने घोषणा गरेका थिए। तर कोभिड–१९ का कारण दातृ निकायका टोली नआउँदा फ्लाइओभरको पूर्वसम्भाव्यता अध्ययन कार्यले गति लिन सकेको छैन।

‘विदेशी मुलुकमा फ्लाइओभर अत्यावश्यक पूर्वाधार भए पनि हाम्रो जस्तो मुुलुकको लागि फ्लाइओभर एउटा सपना जस्तै थियो,’ केन्द्रका निर्देशक झाले भने, ‘फ्लाइओभर बनेसँगै ग्वार्काे चोकमा जाम हट्नेछ र राजधानी सहरको आकर्षण बढ्नेछ ।’ निर्देशक झाले अब नेपालमा पनि फ्लाइओभर निर्माणले गति लिने अपेक्षा गरे।

आर्थिक वर्ष ०७६/७७ को बजेटमा पनि नयाँ बानेश्वरमा अन्डर पास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण सुरु गरिने भनिएको थियो। तर त्यसो भनेको दुई वर्ष बित्दासमेत कामको सुरसार छैन।

उपत्यकामा सवारी साधनको अत्यधिक चाप भएसँगै धेरै स्थानमा फ्लाइओभर आवश्यक भइसकेको छ। त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगन्ज, सहिदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोंगबु, ग्वार्कोे, सातदोबाटो, एकान्तकुना, जडीबुटी लगायत स्थानमा फ्लाइओभर आवश्यक देखिएको छ। 

प्रकाशित: ६ माघ २०७८ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App