२० असार २०७९ सोमबार
अर्थ

‘चिहान’माथि ‘चिलगाडी’ कहिले बस्ला?

कोटवाडा विमानस्थल।

नरहरिनाथ गाउँपालिकाका भीमबहादुर विष्ट कोटवाडामा निर्माण भइरहेको विमानस्थलमा मजदुरका रूपमा काम गर्थे। तत्कालीन विद्रोही नेकपा माओवादीले अछाम सदरमुकाममा आक्रमण गरेपछि शाही नेपाली सेना उनीहरूलाई खोज्दै कोटबाडा आइपुग्यो। 

निर्माणाधीन विमानस्थलमा धादिङको जोगीमारासहित स्थानीय कामदारहरू पहाड काटिरहेका थिए। सेनाले विमानस्थल निर्माणमा खटिएका जोगीमाराका १७ सहित ३५ जनाको २०५८ फागुन १२ गते एउटै चिहान बनायो। अहिले बनेको धावनमार्गमै स्थानीयलाई चिहान खन्न लगाएर सेनाले ३५ जनाको लास गाड्यो।  

विमानस्थल निर्माणमा खटिएका मजदुर मारिएको २० वर्ष पुग्यो। विमानस्थल कहिले सञ्चालनमा आउने हो टुंगो छैन। ‘चिहानमाथि चिलगाडी (हवाइजहाज) बस्ला र मृतकको आत्माले शान्ति पाउला भन्ने आशामा छौं,’ भीमबहादुरका भाइ रच कठायतले भने, ‘विमानस्थल कहिले बनेर कहिले चिलगाडी आउने हो थाहा छैन्।’ द्वन्द्वका बेला मारिएका भीमबहादुर फर्केर आउँदैनन् भन्ने परिवारलाई थाहा छ। कम्तीमा आफन्तले बगाएको रगत र परिनाको राज्यले चाँडै सम्मान गरिदेओस् भन्ने कामना उनीहरूको छ।  

‘छिमेकका मात्रै होइन्, धादिङका मजदुरले पनि विमानस्थलमा रगत र पसिना बगाउनु भएको छ,’ उनले भने, ‘राज्यले विमनस्थल निर्माण सकेर चिलगाडी बस्ने बनाइदिएको भए त्यो रगत र पसिनाको सम्मान हुने थियो।’ सेनाले काम गर्दै गरेका मजदुर मात्रै होइन्, कोक्रोमा सुतिरहेका ६ महिने बालक नविन विष्टको पनि हत्या गर्‍यो। सेनाले नमारेको भए नविन अहिले २० वर्षका हुन्थे। 

नविनका बुबा मानबहादुर द्वन्द्वकालमा माओवादी आन्दोलनमा संलग्न थिए। बुवा माओवादी भएको रिस सेनाले ६ महिने बालकको हत्या गरेर फेर्‍यो। ‘द्वन्द्वमा सेनाले मारेको छोरो फिर्ता आउँदैन, विमानस्थल बनिदिएको भए छोराको रगतको सम्मान हुने थियो,’ मानबहादुरले भने, ‘राज्यले हाम्रो भावना र पीडा कहिले बुझ्ने हो थाहा छैन।’

मृतकका आफन्तहरू विमानस्थल सञ्चालनसँगै मृतकको सम्झनामा शालिक वा धर्मशाला निर्माण गर्नुपर्ने बताउँछन्। ‘हामी धर्मशाला निर्माण गर्न, शालिक राख्नका लागि जमिन दिन पनि तयार छौं,’ स्थानीय संगीन भण्डाराले भने, ‘यहाँ आफन्तको रगत र पसिना मात्रै छैन, धावनमार्गमा चिहान पनि छ।’ १० लाख राहत पाउनुबाहेक मृतकलाई सम्झने अरू माध्यम आफन्तसँग छैन।  

‘माओवादी द्वन्द्वमा सहभागी भएर मारिएको भए फरक हुन्थ्यो, विमानस्थलमा मजदुरको रूपमा काम गरिरहेकालाई सेनालाई लाइन लगाएर मारेको हो,’ उनले भने, ‘हामीले १० लाख रूपैयाँ राहत पाउनुबाहेक आफन्तको सम्झना गर्ने अरू कुनै माध्यम हामीसँग छैन।’ उनले चिहानमाथि चिलगाडी उडे पनि सान्त्वना प्राप्त गर्ने एउटा माध्यम हुने बताए। ‘शालिक, धर्मशाला लगायत विमानस्थल सञ्चालनमा आएपछि पनि गर्न सकिन्छ,’ उनले भने, ‘अहिले विमानस्थलमा नियमित हवाइजहाज आइदिए हाम्रा लागि ठूलो सन्तुष्टि हुन्थ्यो, मृत्यु भएकाहरूको आत्माले पनि शान्ति पाउँथ्यो।’

फेरि आएन चिलगाडी

२०७३ माघ २९ गते सरकारले ३५ जनाको एउटै चिहान भएको विमानस्थलमा परीक्षण उडान गर्‍यो। चिहानमाथि चिलगाडी अवतरण गर्दा स्थानीय गोविन्द गिरीको खुसीको सीमा थिएन। द्वन्द्वकालमा उनी विमानस्थलनजिकै मेडिकल चलाउँथे। विरामी जाँचिरहेको बेला सेनाले गिरीलाई ‘माओवादीलाई उपचार गर्ने’ भन्दै गोली हान्यो। गर्धन नजिकै गोली लागेका उनी ढले।  

सेनाले पनि मर्‍यो भनेर फालिएका उनी जिउँदै थिए। ‘परीक्षण उडान सफल हुँदा पनि नियमित विमान नचल्दा निरास हुनुपरेको छ,’ गिरीले भने, ‘उतिबेला पर्यटनमन्त्रीका हैसियतले विमान ल्याएर आउने जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्नुभएको छ, विमानस्थल सञ्चालनमा आउनेमा  आशावादी छौं।’

वडाध्यक्ष प्रति विष्टले परीक्षण उडान भएको ६ वर्ष हुँदा पनि विमान फेरि नआएको बताए। ‘आँगनमै चिलगाडी आउँदा गाउँका सबै जना हेर्न गयौं, परीक्षण उडान सफल भएको ६ वर्ष पुग्यो, फेरि चिलगाडी फर्केर आएन,’उनले भने।

विमानस्थल सदरमुकाम मान्मदेखि स्थलमार्गबाट चार घन्टा दूरीमा छ। सुनथराली विमानस्थलसम्म अहिले सडकको पहुँच पुगेको छ। विमानस्थल निर्माणमा हालसम्म ३९ करोड रकम खर्च भइसकेको छ। ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्ग निर्माणको काम अन्तिम चरणमा छ। विमानस्थल निर्माणमा खटिएका इन्जिनियर रत्नबहादुर श्रेष्ठले असार मसान्तसम्ममा विमानस्थल निर्माणको सबै काम सकिने बताए।

प्रकाशित: ५ माघ २०७८ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App