१५ चैत्र २०८० बिहीबार
अर्थ

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयाे: आयल निगम

तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको नेपाल आयल निगमले जनाएको छ। निगमले एक विज्ञप्ति निकालेर आफ्नो सञ्चित मुनाफा रित्तिएको र तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था आएको जनाएको हो।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको छ। भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नुपर्ने झण्डै २ अर्ब रुपैयाँ अपुग भएको विज्ञप्तिमा उल्लेख छ।

यो आउँदो जनवरी २३ अर्थात् माघ ८ गते गर्नुपर्ने भुक्तानीका लागि अपुग रकम हो। यसको व्यवस्थापनका लागि ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषमा बाँकी भएको रकम प्रयोग गर्नुपर्ने स्थिती देखिएको निगमले जनाएको छ।

निगमका अनुसार पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको र माघ एकमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने मूल्य समायोजन गरिए पनि महिनाको झण्डै चार अर्ब रुपैयाँ घाटा रहेको छ।

आउँदो तीन महिनासम्म देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाई राख्न झण्डै १२ अर्ब रुपैयाँ थप रकम आवश्यक पर्ने निगमले जनाएको छ। अहिले पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास प्रति सिलिण्डर ६ सय ४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमको दाबी छ। निगमका अनुसार मट्टितेलमा प्रतिलिटर २० रुपैयाँ ५० पैसा र हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ ७३ पैसा नाफा छ।

प्रकाशित: ४ माघ २०७८ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App