८ वैशाख २०८१ शनिबार
अर्थ

ओमिक्रोन त्रासः पर्यटन क्षेत्र एकाएक सुनसान

अघिल्लो सातासम्म खचाखच रहेको पर्यटन क्षेत्र एकाएक सुस्तायो

पोखरा फेवातालमा सोमबार दिउँसोको सुनसान अवस्था। तस्बिरः उमेश पुन/नागरिक

दुईसाता अघिसम्म पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा आन्तरिक पाहुनाको निकै नै चहलपहल थियो। भारतीय पाहुना समेत भित्रिँदा यहाँको पर्यटन क्षेत्रले राम्रै व्यवसाय गर्न सकेको थियो। हवाई मार्गबाट मात्र गत डिसेम्बरमा पोखरामा अहिलेसम्मकै बढी ७४ हजार भन्दा धेरै आन्तरिक यात्रु भित्रिएका थिए। पर्याप्त पाहुना आउँदा व्यवसायी उत्साही थिए।

तर, पोखरा सहित आसपासका पर्यटकीय क्षेत्र एकाएक सुनसान बनेका छन्। पछिल्लो तीन महिनादेखि पाहुनामय बनेका पर्यटकीय क्षेत्र एकाएक सुनसान बन्न थालेका हुन। हुन त यो बेला पर्यटनको ‘अफसिजन’ हो, तरपनि आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रले अफसिजनको खासै महसुस गर्नुपरेको थिएन। पाहुना आगमन रहिरहँदा व्यवसायीले यो समयलाई अफसिजनको सट्टा ‘लो– सिजन’ भन्ने गरेका थिए। तर, पछिल्लो एकसातादेखि पर्यटन क्षेत्र एकाएक सुस्ताउन थालेको पर्यटन व्यवसायीले बताएका छन्।  

पर्यटन व्यवसायीका अनुसार दुईसाता अवधिमै पर्यटन क्षेत्रमा सुस्तता आउनुमा कोरोनाका भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन त्रास मुख्य कारण हो। ओमिक्रोन त्रासका कारण पाहुना घुमफिरमा निस्कन नसकेको व्यवसायीले बताएका छन। ‘केहीदिन अघिसम्म एकैदिन ६ सय हाराहारीमा पाहुनाले प्याराग्लाइडिङ गर्दथे। तर, अहिले त्यो संख्या १ सय ५० को हाराहारीमा ओर्लेको छ,’ नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले भने, ‘ओमिक्रोनले पाहुनाको हिडडुलमा एकाएक ब्रेक लगायो। आउने तयारीमा रहेका पाहुना पनि रोकिए, आएका पनि निर्धक्क घुमफिर गर्न सकेनन।’

दसैं–तिहारदेखि पोखरामा आन्तरिक पाहुना आउन थालेका थिए। त्यसपछि यहाँको आकाशमा प्याराग्लाइडिङमा निकै नै भीडभाड बढेको भण्डारीले बताए। ‘दसैं–तिहारको मौका पारेर आन्तरिक पाहुना भित्रिन थालेका थिए। त्यो आगमन केहीदिन अघिसम्म पनि कायम थियो,’ भण्डारीले भने, ‘तर, ओमिक्रोनको त्रासले गर्दा पाहुना घुमफिरमा हच्किए। त्यसपछि एकाएक आगमन घट्यो।’ भारतमा संक्रमण बढेलगत्तै भारतीय पाहुना पनि भित्रिन छाडेको उनले बताए। पाहुना आगमन उच्च हुँदा पालो कुरेरै प्याराग्लाइडिङ गर्नुपर्ने अवस्था समेत आइपरेको उनले बताए।

पश्चिमाञ्चल होटल संघका निवर्तमान अध्यक्ष विकल तुलाचन पनि पाहु्ना आगमन एकाएक ओरालो लागेको बताउँछन। संक्रमणको त्रास बढेको भन्दै मिटिङ, सभा, सम्मेलन, घुमघाम र भीडभाड नगर्न सरकारले भनेपछि पाहुना घरबाहिर निस्कन डराएको तुलाचनले बताए। ‘पछिल्लो एकसातादेखि पाहुना आगमन एकाएक ओरालो लाग्न थालेको हो । अहिले त निकै नै तल झरिसकेको छ,’ उनले भने।  

उनका अनुसार जनवरी पहिरो सातासम्म राम्रो रहेको आगमन पछिल्लो एकसातादेखि निकै नै ओर्लिने क्रममा थियो। ‘एकसाताअघिसम्म समुहमा पाहुना घुम्न आएका थिए। तर, अहिले आउन रोकिए,’ उनले भने, ‘संक्रमण अझै बढ्दो क्रममा रहेकोले तत्काल पाहुना आउने अवस्था रहन्न।’ उनका अनुसार अहिले त भारतीय पाहुनाको आगमन पनि रोकिएको छ। भारतमा पनि संक्रमण तिब्र हुँदा भारतीयको हिडडुल रोकिएको उनले बताए।  

‘लेकसाइड अहिले बेलुकी नौ बजेतिरै सुनसान बन्न थालेको छ। अघिल्लो सातासम्म मध्यरातसम्म चमक थियो,’ उनले भने, ‘मध्यरातसम्म जागा रहेको लेकसाइड एकाएक सुस्तायो।’ पोखराका होटलमा अहिले बढिमा १० प्रतिशत अकुपेन्सी रहेको उनको अनुमान छ। पोखरा क्षेत्रमा पछिल्लो समयमा अधिक भारतीय भित्रिएको र उनीहरु बेप्रवाह घुमघाम गर्दा पनि भाइरसले गति लिन पाएको उनले बताए।  

पोखरा मात्र नभई आसपासका क्षेत्रमा पनि पाहुना घटेका छन। अन्नपूर्ण क्षेत्रको पर्यटकीय गाउँ घान्द्रुक पनि सुनसान बनेको छ। पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरुङका अनुसार अघिल्लो सातासम्म दिनमा एकसय भन्दा बढी आन्तरिक पाहुना घान्द्रुक उक्लेकोमा अहिले त्यो संख्या करिब आधामा झरेको छ। ‘घान्द्रुकमा अहिले पाहुना नै छैनन। हुन त यो बेला अफसिजन हो,’ गुरुङले भने, ‘पछिल्लो सातादेखि सुनसान बनेको छ । कोरोना संक्रमणले गर्दा पाहुना त्रसित बनेकोले हिडडुल रोकिएको छ।’

अफसिजन भएपनि केहीदिनअघिसम्म आन्तरिक पाहुना पोखरा भित्रिएका थिए। लामो समय घुमफिरमा निस्कन नपाएका पाहुना कोरोना संक्रमण कमजोर भएको मौका पारेर अफसिजनमा पनि घुम्न निस्केका थिए। तर, अहिले नयाँ भेरियन्टले गर्दा पाहुना रोकिएको उनले बताए। ‘यति आक्रमक रुपमा संक्रमण बढेको छ पाहुनाको हिडडुल एकाएक रोकिएको छ,’ उनले भने।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष पोमनारायण श्रेष्ठ लेकसाइड एकाएक सुनसान बनेको बताउँछन। एकसाता अघिसम्म पाहुना आगमन राम्रो रहेकोमा अहिले कोरोना त्रासले गर्दा पाहुना घुमघाममा निस्कन नसकेको उनले बताए। ‘छोटो समयमा पाहुनाको आगमन एक्कासी ओरालो लाग्यो। अघिल्लो सातासम्म पाहुनाको आगमनले गर्दा व्यवसायी हौसिएका थिए। तर, अहिले कोरोनाको नयाँ भेरियन्टले एकाएक आगमन घटाइदियो,’ उनले भने, ‘यो संक्रमण कम नभएसम्म पाहुना आउँदैनन।’ भारतीय पाहुना पनि भित्रिन छाडेको उनले बताए।

प्रकाशित: ३ माघ २०७८ १०:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App