coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

८० बिगाहा जमिनमा नयाँ व्यवस्थित सहर बसाउँदै मौलापुर

रौतहटको मौलापुर नगरपालिकाले ८० बिगाहा जमिनमा व्यवस्थित सहर बसाउन थालेको छ। देशभरका स्थानीय सरकारमध्ये कसैले गर्न नसकेको व्यवस्थित नयाँ सहरको निर्माण मौलापुर नगरपालिकाले गर्न थालेको हो।

मौलापुर नगरपालिकाको मौलापुर बजारसँगै उत्तरमा रहेको मौलापुर गाउँभन्दा पूर्वको जमिनमा व्यवस्थित संरचनाको निर्माण गर्न थालेको हो। असी बिगाहा जमिनलाई प्लटिङ गरी मौलापुर नगरपालिकाले देशको नमुना पूर्ण व्यवस्थित सहर बसाउन थालेको हो।

असी बिगाहा जमिनलाई एउटै बनाई ल्यान्ड पुलिङ गरेर नगरपालिकाले सबै जग्गा धनीमा बाँड्न सुरु गरेको छ। ल्यान्ड पुलिङ गरेर गरेर मौलापुर नगरपालिकाले घटीमा सात मिटरदेखि बार मिटरसम्मको चौडाइ बाटो निकालेको हो। साथै असी बिगाहा जमिनको ल्यान्ड पुलिङबाट नगरपालिकाले करिब दश बिगाहा जमिन सरकारी प्रयोजनको लागि पनि निकाल्न सफल भएको नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ।  

पूरै खेत रहेको जमिनलाई व्यवस्थित गरी हरेक खेतलाई घडेरीमा परिणत गरिएको र सबै घडेरीसम्म फराकिलो तथा सीधा सडकको निर्माण गरिएको बताउँदै नगर प्रमुख साहले सडकसँगै व्यवस्थित नालाको निर्माण पनि गरिने बताएकी छन्।

एउटा सहरमा हुने सम्पूर्ण आधुनिक सुविधा मौलापुर व्यवस्थित र आधुनिक सहरमा हुने नगर प्रमुख साहको भनाइ छ। पहिले बसेका सहरहरु आफैँ विस्तार हुँदै गएको र पूरै भद्रगोल तथा अव्यवस्थित रहेकोले सहरी क्षेत्रमा अनेक समस्या आउने गरेको बताउँदै सहरी क्षेत्रमा हुने गरेको समस्याबाट पाठ सिकेर मौलापुर नगरपालिकाले देशमा पहिलोचोटि सुविधा सम्पन्न आधुनिक व्यवस्थित सहरको कल्पना गरेको नगर प्रमुख साहले बताएकी छन्।  

रौतहटको अत्यन्त दुर्गम गाउँको रुपमा पहिले परिचित मौलापुर भएर अहिले वीरगंज र काठमाडाैं र गौरको लागि विभिन्न रुटबाट सार्वजनिक यातायात चल्न थालेको छ। करिब एक दर्जन सरकारी कार्यालय आइसकेको मौलापुर बजार पहिलेदेखि झण्डै असी बिगाहा जमिनमा बसेको छ। पहिले पनि व्यवस्थित बसाइँको अभ्यास गरिएको मौलापुरमा अझ राम्रो प्रबन्धको सहर बसाउन थालिएको हो।  

मौलापुरबाट वीरगंज सिधा पश्चिम पर्ने र उत्तरमा महेन्द्र राजमार्गसित पनि सोझो सम्बन्ध जोडिएपछि धेरैको लागि आकर्षण बढेको छ। पूर्वमा मुख्य राजमार्गसित सोझै जोडिसकिएको मौलापुरभन्दा भारतको सिमानासम्म जाने सोझो बाटो रहेको छ। सबैतिरबाट केन्द्रविन्दूमा पर्दै गएको मौलापुर बजारमा घडेरीको अभाव हुन थालेको समयमा व्यवस्थित बसोबासको लागि असी बिगाहा जमिनलाई ल्यान्ड पुलिङ गरी स्थानीय सरकारले अभूतपूर्व कार्य गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन्।  

केही वर्षमा मौलापुर सबै दृष्टिकोणले व्यवस्थित सहरको रुपमा विकास गरिसक्ने विश्वास आफूहरुले लिएको मौलापुरका स्थानीयबासी मदनप्रसाद साहको भनाइ छ। मौलापुरको ल्यान्ड पुलिङले मौलापुरको गरिमा बढाएको साहको भनाइ छ। दश वर्ष पहिले केही पनि नरहेको मौलापुरबाट अहिले मौलापुरमा नै सबै सुविधा उपलब्ध हुन थालेको र आगामी दश वर्षमा यस बजारको कायापलट हुने विश्वास स्थानीयवासीको रहेको साहको दाबी छ।

नयाँ र अत्यन्त व्यवस्थित सहरप्रति सबैको चासो रहेकोले शान्त तथा व्यवस्थित बसाइँ खोज्नेको लागि मौलापुर अब सुन्दर गन्तव्य हुने नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री प्रभु साहको भनाइ छ। नेता साहकै भिजनमा मौलापुर व्यवस्थित सहर बन्न थालेको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहको दाबी छ।

प्रकाशित: २ माघ २०७८ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App