८ वैशाख २०८१ शनिबार
अर्थ

त्रियुगाले १५ करोडमा प्रशासनिक भवन बनाउने

हालको नगरपालिका भवन। तस्बिरः महेश्वर

सदरमुकामस्थित त्रियुगा नगरपालिकाले अत्याधु्निक र सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ। त्रियुगा १० बाँसबारीस्थित डेढ बिगाहा क्षेत्रफल जमिनमा बहुतले, बहुकोठे आधुनिक भवन बनाउने सम्पूर्ण प्राविधिक तयारी भएको नगरपालिकाले जनाएको छ।  

बहुवर्षे भवन निर्माण गर्न संघीय सरकारले चालुवर्षदेखि नै बजेट विनियोजन गर्ने सुनिश्चित गरेको छ। १४ करोडभन्दा बढीको लागतको भवन नगरपालिकाले चालु वर्षदेखि नै सुरु गर्नेगरी काम अघि बढाएको नगरप्रमुख बलदेव चौधरीले बताए। मेयर चौधरीका अनुसार ठूलो लागतको योजना भएकाले नगरपालिकाले मात्र स्रोत जुटाउन नसक्ने भएकाले संघीय सरकारसँग थप बजेट मागेको छ। जसका लागि गत साता मेयर चौधरी नेतृत्वमा नगरपालिकको सर्वपक्षीय सर्वदलीय प्रतिनिधिमण्डल बिभिन्न मन्त्रालय पुगेको थियो।  

बिभिन्न पार्टीनिकट जनप्रतिनिधिसहितको सर्वदलीय प्रतिनिधिमण्डलको माग अनुुसार भवनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक बजेट सुनिश्चित गरिदिएको छ। बजेट सुनिश्चित भएपछि काम अघि बढाउने तयारी भईरहेकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए। उनका अनुसार ठूलो लागतको योजनाका लागि संघीय सरकारसँग थप बजेट माग्दा ६ करोडसम्म सहयोग गर्ने सुनिश्चित भएको छ।  

उनले गतवर्ष नै प्राविधिक इस्टीमेट गरेर आवश्यक बजेट माग गरि पठाइएको फाईल प्रतिनिधिमण्डल पुगेपछि स्वीकृत भएको छ। जस अनुसार भवन बनाउन मन्त्रालयले बढीमा ६ करोडसम्म दिने सुनिश्चित गर्दै बाँकी रकम नगरपालिका स्वयंले बेहोर्नुपर्ने जनाएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए। उनका अनुसार टेण्डर आव्हान गर्दा घटीबढी हुनसक्ने भएकाले १२ करोडभन्दा बढीमा ठेक्का लागे ६ करोड दिने सहमति भएको छ भने सोभन्दा कम भए ५० प्रतिशत बजेट संघीय मामिला मन्त्रालयले बेहोर्ने र ५० प्रतिशत हिस्सा भने नगरपालिकाले बेहोर्नुपर्ने छ।  

नगरपालिकाका सहरी विकास शाखा प्रमुख इन्जिनियर निर्मल चौधरीले आधुनिक र सुविधासम्पन्न भवन बनाउने गरी गतवर्ष नै प्राविधिक इस्टीमेट गरिएको थियो। भवन ४ तले आधुनिक डिजाईनको बनाउनेगरी इस्टीमेट बनाइएको छ। ३० कोठे भवन बनाउन १४ करोड ६१ लाख रुपैयाँको लागत इस्टीमेट बनेको पनि चौधरीले बताएका छन्। भवनको इस्टीमेट गतवर्ष नै गरिएको हुनाले चालुवर्ष सबै निर्माण सामग्रीको मूल्य वृद्धि भईसकेको तथा जनशक्तिको ज्याला बढेको हुँदा लागत बढ्ने इन्जिनियर चौधरीले बताएका छन्।  

एक वर्षअघि नै इस्टीमेट भएकाले कम्तीमा १५÷२० प्रतिशत लागत मूल्य बढ्न सक्ने संभावना रहेको उनले बताए। त्यसैले पुनः इस्टीमेट गरेर टेण्डर आव्हान गर्ने तर, भवन निर्माण कार्य भने यसैवर्ष सुरु हुनेछ। पुनरईस्टीमेट गर्दा भवनको लागत १६ करोड हाराहारी पुग्ने अनुमान गरिएको चौधरीको भनाई छ।  

नगरपालिकाका सूचना अधिकारी विश्वजीत राईले भवन अभावमा नगर कर्मचारीलाई काम गर्न निकै सकस परेको बताए। उनका अनुसार स्थानीयतह पुनर्संरचना हुनुअघिको त्रियुगा नगरपालिकाको दुईतले भवनमा एकतला थपेर काम चलाउनु पर्दा आधा कर्मचारी नआँटेपछि केही शाखाहरु अन्यत्र भवनमा राक्नुपरेको छ। साँघुरो भवनको कोठा अभावमा नगरका शिक्षा, कृषि र स्वास्थ्य शाखालाई बोक्सेस्थित साविक बालबालिका कार्यालयमा राखिएको छ।  

सूचना अधिकारी राईका अनुसार त्रियुगा नगरपालिकामा २ सय ५० भन्दा बढी कर्मचारी छन्। जिल्लाकै सबभन्दा ठूलो भूगोल र जनसंख्या भएको नगरपालिकालाई भवनको टडकारो खाँचो भएकाले तत्काल निर्माण थाल्नुपर्ने आवश्यक्ता रहेको राईले बताए।

प्रकाशित: २ माघ २०७८ १४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App