१५ चैत्र २०८० बिहीबार
अर्थ

सुठौली भन्सारको राजस्व संकलनमा कमी

वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा टायल्स र मार्बलका आयातमा रोक लगाईएपछि राजस्व संंकलनमा कमी आएको छ। गत असोज अन्तिमबाट धर्मकाटा नभएको भन्दै टायल्स र मार्बलको आयातमा भन्सार विभागको निर्देशनमा रोक लगाईएपछि त्यसको असर भन्सार राजस्व संकलनमा परेको देखिएको हो।

असोज अन्तिम सम्म यो नाकाबाट टायल्स र मार्बलको भन्सार हुने गरेको थियो। भन्सारको आफ्नै धर्मकाटा नभएको भन्दै भन्सार विभागले टायल्स र मार्बलको भन्सार नगर्न निर्देशन दिएपछि गत असोज अन्तिम साताबाट त्यसको आयात यो नाकाबाट रोकिएको सुठौली भन्सारका प्रमुख अभिषेक कन्ठले बताए। टायल्स र मार्बलको आयात रोकिँदा त्यसको सिधा असर भन्सार राजस्व संकलनमा परेको उनले बताए। टायल्स र मार्बलको बढी भन्सार र अन्त शुल्क लाग्ने गरेको उनले बताए। यो नाकाको कृषि उपजपछि टायल्स र मार्बल नै प्रमुख राजस्व संकलनको श्रोत भएको कन्ठले बताए।

टायल्स र मार्बलको निकास रोकिँदा कार्तिक, मंसिर र पुस महिनामा भन्सारमा लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन। यस्तै अर्ध वार्षिक लक्ष्य पनि पूरा हुन सकेन। भन्सार प्रमुख कन्ठले टायल्स र मार्बलको उच्च भन्सार शुल्क लाग्ने र भन्सारको आफ्नै धर्मकाटा नहुँदा अन्दाजीको भरमा सामानको मूल्यांकन गर्न गाह्रो भएको सुनाए। ‘बढी अन्त भन्सार शुल्क लाग्ने भएकाले जोखिम विश्लेषण गर्न गाह्रो हुन्छ, धर्मकाटा पनि छैन,’ उनले भने।

विभागलाई यसबारेमा अवगत गराएपछि धर्मकाटा संचालनका लागि बजेट समेत आएको तर जग्गा अभावले धर्मकाटा संचालनमा ढिलाई भएको उनले बताए।

मर्यादपुर नाका नजिकै व्यापारी हबीबुल्लाहको मात्र आफ्नो धर्मकाटा छ। व्यापारी हबीबुल्लाहसँग संझौता गरी धर्मकाटा चलाउने योजना रहेको कन्ठले बताए। उता तौलिहवाका व्यापारीहरुले यो नाकाबाट टायल्स तथा मार्बल आयात हुन थालेपछि भैरहवाका व्यापारीहरुको व्यापार घट्न थालेकाले यो खेल खेलिएको आरोप लगाए। तौलिहवाका टायल्स व्यापारी संतोष कसौधनले रुपन्देही र कृष्णनगर नाकाको बीचमा पर्ने सुठौली भन्सारबाट सामान ल्याउन सजिलो र समयको समेत बचत हुने गर्दछ। त्यसैले व्यापारीहरु यो नाकाबाट माल ल्याउन चाहान्छन्। यो नाकाबाट टायल्स र मार्बलको आयात बढेपछि भैरहवाका व्यापारीहरुको व्यापार केही घटेपछि भन्सार विभागसंग मिलेमतो गरी धर्मकाटाको नाम दिएर रोकाइएको व्यापारी कसौधनको आरोप छ।

भन्सार प्रमुख कन्ठले कसैसँग कुनै मिलेमतो नभएको भन्दै बढी अन्त शुल्क लाग्ने भएकाले नै मार्बल र टायल्सका लागि भन्सारको आफ्नै धर्मकाटा आवश्यक पनै भएकाले नै विभागले यस्तो कदम चालेको बताए।

भन्सारको चालु आर्थिक वर्षका लागि १ अर्ब ९५ करोड लक्ष्य रहेको छ। ६ महिनाका लागि ९६ लाखको लक्ष्य रहे पनि चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ८६ लाख ८३ हजार (लक्ष्यको ८९ दशमलव ६३ प्रतिशत) संकलन भएको छ। पुसमा १८ करोडको लक्ष्य दिइएकोमा १० करोड ७५ लाख मात्र संकलन भएको छ। यस्तै मंसिरमा १७ करोड ९८ लाख लक्ष्य रहेकोमा १५ करोड ५९ लाख तथा कार्तिकमा १६ करोड ६६ लाख लक्ष्य रहेकोमा १२ करोड २२ लााख मात्र संकलन भएको थियो। साउन, भदौ र असोजसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको थियो।

टायल्सको ३० प्रतिशत भन्सार ५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर र मार्बलको २० प्रतिशत भन्सार १५ प्रतिशत अन्त शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ। कृषि उपजमा भने न्यून भन्सार लाग्ने गरेको कन्ठले बताए।

प्रकाशित: २ माघ २०७८ १०:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App