coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन क्षेत्रमा कोभिड महामारीको सन्नाटा

कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदै गरेको अवस्थामा कोभिडको पछिल्लो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रासले पुनः यो क्षेत्रमा सन्नाटा छाएको छ।

पर्यटन क्षेत्रले विस्तारै लय लिँदै गर्दा ओमिक्रोन भेरियन्टको त्रासले पुनः यो क्षेत्रलाई त्रसित बनाएको हो। पछिल्ला दिनमा निरन्तर बढिरहेको महामारीको आँकडाले व्यवसायी मात्रै हैन, आम सर्वसाधरणलाई चिन्तित तुल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको बढ्दो ग्राफले मुलुकको आर्थिक र सामाजिक क्षेत्रलाई फेरि पनि त्रसित बनाउने आँकलन गर्न थालिएको छ।

महामारीको प्रतिकूल परिस्थितिकाबीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसायलाई सञ्चालनमा राख्न व्यवसायीले माग गरेका छन्। कूल जनसङ्ख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट डेल्टाजस्तो खतरा नभएको विज्ञले बताइरहेका छन्। तथापि, नयाँ भेरियन्टले चाँडो सङ्क्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ।

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ। यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका छन्। साथै उनीहरुले कोरोना सङ्क्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन्। सङ्क्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ। होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए।

महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन्। विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्नु र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालकसमेत रहेका उपाध्यक्ष शाहले बताए। 

विगतमा कोरोना भाइरस सङ्क्रमण र सीमित स्रोत र साधनका बीचमा पनि सरोकारवाला निकायको समन्वयले महामारी नियन्त्रणमा सहजता भएको थियो। अहिलेका सन्दर्भमा सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुको विकल्प देखिँदैन।  

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए।  

कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्र बढेर, स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासविच कूलबहादुर गुरुङले बताए।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औँल्याए। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर का प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए।

प्रकाशित: १ माघ २०७८ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App