coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालगन्जमा ‘एभियसन म्युजियम’ स्थापना

नेपालगन्ज १२ बेलासपुरमा स्थापना गरिएको ‘एभियसन म्युजियम’। तस्बिरः अर्जुन/नागरिक

नेपालगन्जमा पहिलो पटक ‘एभियसन म्युजियम’ स्थापना गरिएको छ। विद्यार्थीलाई हवाई सम्बन्धी विविध जानकारी दिन र आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले म्युजियम स्थापना गरिएको हो। कस्मिक एयरको पुरानो जहाजलाई म्युजियममा परिणत गरिएको छ। उक्त जहाजभित्र २ सय ५० भन्दा बढी मोडेलका साना जहाजहरु पनि प्रदर्शनीका लागि राखिएको छ। म्युजियम शनिबारबाट औपचारिक रुपमा सञ्चालनमा आउँदैछ।  

म्युजियमका परिकल्पनाकार एवम् सञ्चालक क्याप्टेन बेद उप्रेतीले एक करोड ८० लाख रुपैयाँ लागतमा स्थापना गरिएको जानकारी दिए। ‘यो एकदमै नयाँ अवधारणा हो, विद्यार्थीलाई मोटिभेशन गर्नु हो, यो देखेपछि विद्यार्थीलाई भित्रैबाट पढ्ने जाँगर चल्ने, एउटा सपना बोकेर विद्यार्थी यहाँबाट फर्किन्छन् र अरु व्यक्तिका लागि यो पर्यटकीय स्थल हो, यहाँ आएर धेरै कुरा थाहा पाउन सक्नु हुन्छ,’ उप्रेतीले शुक्रबार पत्रकारसँग भने। यसअघि उक्त म्युजियम सुदूरपश्चिमको धनगढीमा सञ्चालनमा रहेको थियो।

नेपालगन्ज उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएर म्युजियम स्थापना गर्न पहल थालेपछि यहाँ ल्याइएको उनले जानकारी दिए। म्युजियमभित्र पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० वटा उत्कृष्ट तस्बिर पनि राखिएको बताए। उप्रेतीले भने, ‘यो एजुकेशनल सेन्टर हो, विद्यार्थीले जहाजको विषयमा हरेक जानकारी लिन पाउँछन्, पाइलटको पोशाक लगाएर ककपिटमा र एयर होस्टेजको पोशाक लगाएर फोटो पनि खिच्न सक्छन्।’ म्युजियम परिसरलाई पनि सजावट गर्ने काम पनि चलिरहेको छ।  

‘बेद उप्रेती ट्रस्ट’ ले ४ सय ४० जना अट्ने क्षमताको काठमाडौंस्थित सिनामंगल र सुदूरपश्चिमको महेन्द्रनगरमा पनि एभियसन म्युजियम सञ्चालन गरिरहेको जनाएको छ । धनगढीमै फरक खालको म्युजियम निकट भविष्यमा स्थापना गर्ने योजना रहेको पनि उनले सुनाए।  

एभियसन म्युजियम सञ्चालन गर्नका लागि नेपालगन्ज उपमहानगरपालिका र ट्रस्टबीच हाल १० वर्षको सम्झौता भएको छ। नेपालगन्ज १२ बेलासपुरस्थित उपमहानगरपालिकाको करिव ६ कठ्ठा जमिनमा उक्त म्युजियम स्थापना गरिएको हो। ट्रस्टले म्युजियम सञ्चालन गरे वापत उपमहानगरपालिकालाई केही रकम समेत दिने सम्झौता भएको उप्रेतीले सुनाए।  

वडा नम्बर १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले नेपालगन्ज उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको विकासमा जोड दिइरहेका बेला र बालमैत्री वडा बनाउन लागिरहेका बेला यो म्युजियम सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धनका साथै बालबालिकामा थप टेवा पुग्ने विश्वास गरे। ‘पढ्ने उमेरका बच्चालाई जहाजको विषयमा धेरै नै कौतुहलता जागेको हुन्छ, त्यसकारण बच्चाले प्रत्यक्ष हेरेर बुझ्न पाउँछन्,’ सुवेदीले भने।

प्रकाशित: ३० पुस २०७८ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App