६ वैशाख २०८१ बिहीबार
अर्थ

बतासकाे पक्षमा उभियाे उद्योग संगठन, उद्यमीलाई फसाउन खोजेको आरोप

उद्योग संगठन मोरङले नारायणहिटी दरबार संग्रहालय क्याफेटेरिया भाडा प्रकरणकाे बतास अर्गनाइजेशनलाई फसाउन खोजिएको आरोप लगाएको छ। उद्योग संगठन मोरङले शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयको टेन्डर प्रकृयाबाट छनोट भई बतास अर्गनाइजेशनले व्यवसाय अघि बढाउँदा एक पक्षीय रुपमा बतासलाई मात्रै दोष देखाएर अनर्गल प्रचार गरी फसाउन खोजिएको आरोप लगाएको हो।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र सञ्चालन समितिले स्मारक परिसरमा क्याफेटेरिया सञ्चालनका लागि भाडामा दिने गरि टेन्डर आव्हान गरेको र नियम अनुसार नै टेन्डर परेर काम अघि बढाएको उल्लेख छ। ‘टेन्डर प्रकृयाबाट बतास अर्गनाइजेशन अन्तरगतको बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट छनौट भएको थियो।

२०७७ पुष १७ गते बि.पि.एस लिजिङ एण्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच क्याफेटेरिया सञ्चालन सम्बन्धमा द्वीपक्षीय सम्झौता भएपछि बतास अर्गनाइजेशनले आफ्नो व्यवसाय अघि बढाएको थियो। हाल आएर उद्योगीलाई एकपक्षीय ढंगबाट नियतबस हतोत्साही पार्ने, फसाउने गरी अनर्गल प्रचारप्रसार भइरहेको प्रति उद्योग संगठन घोर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल सरकारको स्थापित कानून तथा अधिकार प्राप्त जिम्मेवार निकायबाट भएको निर्णयका सन्दर्भमा निर्णय गर्ने प्रक्रियामा संलग्नलाई चोखो देखाउने र सबै दोष उद्यम व्यवसाय गर्ने एक उद्यमीमाथि थोपर्ने दुष्प्रयास भएको उद्योग संगठन मोरङको ठहर छ।

नारायणहिटी दरबार परिसरमा क्याफेटेरिया भाडामा सञ्चालन गर्ने तत्कालीक निर्णय गलत भए उक्त निर्णय फिर्ता लिने राज्य व्यवस्थाको आफ्नै विधि विधान हुँदाहुँदै एक उद्यमीमाथि नियोजित ढंगबाट प्रहार हुनु समग्र निजी क्षेत्रको मनोबल गिराउने प्रयास भएको उद्योग संगठन मोरङले जनाएको छ। यस्ता घटनाले नेपालमा उद्योगधन्दा गर्ने वातावरण छैन भन्ने गलत मान्यतालाई स्थापित गराउन चाहने तत्वलाई नै बल पुग्ने उद्योग संगठनको विज्ञप्तिमा उल्लेख छ।

बतास अर्गनाइजेशनप्रति भएको ज्यादतिपूर्ण व्यवहार भएको र भाडा प्रकरणको सत्य तथ्य छानबिन गरी निर्णय प्रक्रियामा संलग्न निकायहरुलाई कानूनको दायरामा ल्याउन नेपाल सरकारसँग उद्योग संगठन मोरङले माग गरेको छ।

प्रकाशित: ३० पुस २०७८ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App