८ वैशाख २०८१ शनिबार
अर्थ

८३८ अर्बको आयात

चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई आठ खर्ब ३८ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल लगायत वस्तुको आयात बढेको छ। समीक्षा अवधिमा दाल, सिमेन्ट, कीटनाशक औषधी, सुर्ती लगायत वस्तुको आयात भने घटेको छ।

चालु आवको पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई सात अर्ब ३५ अर्ब ४९ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत थियो।

रेमिटेन्स ६.८ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको सुरुदेखि नै आएको रेमिटेन्स आप्रवाहको गिरावट पाँचौं महिनामा समेत कायमै रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको तथ्यांक अनुसार चालु आवको पाँच महिना (साउन–मंसिर) सम्म रेमिटेन्स आप्रवाहमा ६.८ प्रतिशतले कमी आएको छ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ११ प्रतिशतले बढेको थियो। कात्तिक महिनाको तुलनामा मंसिरमा भने केही सुधार भएको छ। कात्तिकसम्म रेमिटेन्स साढे ७ प्रतिशतले कमी आएको थियो। कात्तिकमा ७३ अर्ब १० करोड रूपैयाँ भित्रिएको थियो। मंसिरमा ७६ अर्ब १६ करोड रूपैयाँ रेमिटेन्स थपिएपछि पाँच महिनामा कुल तीन खर्ब ८८ अर्ब ५८ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत साउनदेखि मंसिरसम्ममा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह ७.३ प्रतिशतले कमी आई तीन अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या उक्त अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो।

कोरोना महामारीको तेस्रो लहर फैलनुअघिसम्म वैदेशिक रोजगारीमा जानेको संख्या बढ्न थालेको थियो। जसले गर्दा रेमिटेन्स वृद्धि हुँदै जाने अनुमान थियो। तर कोरोना महामारीको तेस्रो लहर तीव्रताका साथ फैलिरहेकाले आगामी दिनमा वैदेशिक रोजगारीबारे पुनः अन्योल देखिएको छ। समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो। रेमिटेन्समा वृद्धि हुन नसक्दा शोधनान्तर घाटा बढेको बढ्यै छ।

एक महिनाको शोधनान्तर घाटा ४५ अर्ब

मंसिरमा शोधनान्तर घाटा ४५ अर्ब रूपैयाँले थपिएपछि कुल एक खर्ब ९५ अर्ब एक करोड रूपैयाँ पुगेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ६ अर्ब ४८ करोड रूपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ६४ करोडले घाटामा छ। चालु आर्थिक वर्षको पाँच महिनामा चालु खाता तीन खर्ब ६९ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २३ अर्ब रूपैयाँले घाटामा थियो।

एक खर्ब ८५ अर्बले घट्यो विदेशी मुद्रा सञ्चिति

पाँच महिनामा एक खर्ब ८५ अर्ब रूपैयाँले विदेशी मुद्रा सञ्चिति घटेको छ। राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा कुल १३ खर्ब ९९ अर्ब तीन करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तसम्म १३.२ प्रतिशतले कमी आई १२ खर्ब १४ अर्ब तीन करोड रूपैयाँ कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति १४.७ प्रतिशतले कमी आई १० अर्ब तीन करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब ८४ अर्ब ६४ करोड रूपैयाँ छ भने बैंक तथा वित्तीय संस्थासँग एक खर्ब २९ अर्ब ४० करोड रूपैयाँ छ। उच्च व्यापार घाटा र रेमिटेन्समा कमी आउँदा विदेशी मुद्राको सञ्चिति घटेको हो।

निर्यातमा उच्च वृद्धि

पछिल्लो समयमा नेपाली वस्तुको निर्यातमा पनि केही बृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार पाँच महिनामा निर्यात १०५.६ प्रतिशतले वृद्धि भई एक खर्ब दुई अर्ब ९२ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो। ताजा विवरण अनुसार भारतमा १ सय ३८ तथा अन्य मुलुकतर्फ हुने निर्यात २८.५ प्रतिशतले वृद्धि भएको छ।

अन्य गन्तव्यको निर्यातमा वृद्धि हुँदा चीनतर्फको निर्यातमा १.४ प्रतिशतले कमी आएको छ। समीक्षा अवधमिा वस्तुगत आधारमा पाम, सोयाबिन तेल, पिना, धागो, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ। उता अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायत वस्तुको निर्यात भने घटेको छ।

प्रकाशित: ३० पुस २०७८ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App