१५ चैत्र २०८० बिहीबार
अर्थ

भेडेटार आउने भारतीय पर्यटक बढ्दा व्यवसायी उत्साहित

कोभिड महामारीपछि थला परेको पूर्वको पर्यटन उद्योगलाई उत्साह दिलाउने गरी अंग्रेजी नयाँ वर्षमा भारतीय पर्यटकहरुको आगमन भएको छ।

अंग्रेजी नयाँ वर्ष २०२२ मनाउन भेडेटारमा आएका पर्यटकहरुमध्ये आधा भारतीय पर्यटकहरु भएको व्यवसायीहरुले बताएका छन्। बाह्य पर्यटकहरुको आगमन बढेपछि पर्यटन व्यवसायीहरु थप उत्साहित भएका छन्। होटल एशोसिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली भन्छन्, ‘यसपाली भारतीय पर्यटकहरु पनि धेरै आए, अंग्रेजी नयाँ वर्ष उत्साहजनक रह्यो। कोभिडले थला परेको पर्यटनको लागि यो सुखद् हो।’

भेडेटारमा नयाँ वर्षको अवसरमा ३ दिने नवौं भेडेटार फुड फेस्टिवल आयोजना भएको थियो। आइतबार सकिएको फेस्टिवलमा १५ हजारभन्दा बढी पर्यटकहरु आएको आयोजक एशोसिएशनको भनाइ छ । ती मध्ये ५० प्रतिशत भारतीय पर्यटकहरु भएको अध्यक्ष रुम्दालीले बताए।

आइतबार साँझ पनि भारतीय पर्यटकहरु भेडेटार आउने क्रम जारी रहेको थियो। कोभिड महामारीको त्रास कम हुँदै गएकोले मानिसहरुलाई घुम्ने वातावरण बन्दै गएको व्यवसायीहरुको भनाइ छ। यसपाली नयाँ वर्ष नजिकिँदै गर्दा मौसमले पनि साथ दिएकोले पर्यटकहरुको आगमन बढेको हो। ‘हिले, चित्रे तिर हिउँ पर्यो, हिउँमा रमाउन पनि धेरै पर्यटकहरु आएका रहेछन्, हिउँमा रमाएर फर्कदा भेडेटारमा बास बसेको देखियो,’ अध्यक्ष रुम्दालीले भने, ‘भेडेटारमा जिपलाइन, हेलि टुर, प्याराग्लाइडिङ जस्ता नयाँ प्रोडक्ट थपिएकोले पनि पर्यटकहरु आकर्षित भए।’

तीन दिनमा ५० लाख बढी कारोबार भएको एशोसिएशनले जनाएको छ। भेडेटार घुम्न आउने पर्यटकहरुको लागि पाथीभारा देवी मन्दिर, शंखेश्वर महादेव र भेडेटार पार्क, थुम्किस्थित आत्माघर, नाम्जेको होम स्टे, सुर्योदय पार्क थुम्की, नमस्ते झरना, साँगुरीगढी, ओख्रे भ्यु टाँवर, राजारानीस्थित ध्वजे डाँडा, अजंगको वरको रुखलगायत पर्यटकीय गन्तव्यहरु छन्।

पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघका प्रदेश १ सचिव वासुदेव वराल अंग्रेजी नयाँ वर्षमा पर्यटकहरुको आगमनले उत्साहित बनाएको प्रतिक्रिया दिँदै ग्राहकहरुको कमी नभएको तर प्रोडक्ट तथा पर्यटकीय आकर्षणहरुको कमी देखिएको बताउँछन्। नयाँ बर्ष मनाउन २ हजार बढी भारतीय गाडी आएको खुलाउदै उनले भने, ‘धरान भेडेटार र इटहरीसम्मको होटल पूरै प्याक भयो। यसले हामीसँग बजारको अभाव रहेनछ, पर्यटकहरुलाई तान्न नसकेको रहेछौ भन्ने देखायो।’

प्रकाशित: १८ पुस २०७८ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App