coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुध्रिँदै विदेशी पर्यटक आगमन

२०२१ मा डेढ लाख विदेशी भित्रिए

कास्कीको मर्दी हिमाल पदयात्रामा रहेका पर्यटक। फाइल तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा केही सुधार देखिएको छ। सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ। नेपाल भित्रिएका ती विदेशी पाहुना हवाई र स्थालमार्गबाट भित्रिएका हुन्। ती मध्ये अधिक पाहुना हवाईमार्गबाट भित्रिएका थिए।  

संख्यात्मक रुपमा २०२१ को तुलनामा २०२० मा नेपाल भित्रिने विदेशीको संख्या ठुलो देखिएपनि कोरोना संक्रमणको असरले सुरुका केही महिना उत्तिसारो अप्ठेरो नपार्दासम्म आगमन निरन्तर रहिरहँदा अघिल्लो वर्षको संख्या बढी देखिएको बोर्डले बताएको छ। बोर्डका निर्देशक तथा प्रवक्ता मणिराज लामिछानेका अनुसार सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटक भित्रिएका थिए।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२० को जनवरीमा नेपालमा ७९ हजार ७ सय २, फेब्रुअरीमा ९८ हजार १ सय ९० र मार्चमा ४२ हजार ७ सय ७६ जना विदेशी भित्रिएका थिए। २०२० को सुरुको तीनमहिनाको मात्र विदेशी पाहुना आगमनको संख्या २ लाख २० हजार ६ सय ६८ थियो। सन् २०१९ को अन्तिममा चीनबाट कोरोना भाइरस संक्रमण सुरु भएपनि त्यसको मार नेपालको पर्यटन क्षेत्रमा करिब तीनमहिना पछि मात्र पर्न थालेको थियो। २०२० को मार्च मध्यपछि बल्ल नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असर पर्न थाल्दा आगमन प्रभावित भएको थियो। त्यसपछि लकडाउन हुँदा आगमन झन्डै शुन्यको आकारमा झरेको थियो।

‘चीनमा कोरोना संक्रमण सुरु भएपनि २०२० को सुरुको अढाईमहिना नेपालमा विदेशी पाहुना आगमनमा खासै असर परेको थिएन। सुरुको अढाईमहिना त पुरा आकारमा पाहुना आए, त्यसपछि बल्ल आगमनमा अप्ठेरो पर्न थालेको हो,’ लामिछानेले भने, ‘सुरुको अढाई महिनाको आगमनको आकार नै ठुलो छ। त्यसले गर्दा अघिल्लो वर्षको संख्या २०२१ को भन्दा बढी देखिएको हो।’ उनका अनुसार कोरोना संक्रमणले गर्दा लकडाउन सुरु भएपछिका साढे नौमहिना अवधिको आगमन भने न्यून थियो।  

२०२० को मार्च मध्यदेखि डिसेम्बरसम्मको अवधिमा नेपालमा झन्डै नौहजार ५ सय मात्र विदेशी भित्रिएका थिए। ‘कोरोनाकालमा २०२० मा झन्डै ९ हजार ५ सय मात्र विदेशी पाहुना नेपाल भित्रिए, तर, ती साच्चैका पर्यटक थिए वा थिएनन् भन्ने पनि छ। त्यसको तुलनामा २०२१ को आगमनको आकार निकै नै बढेको छ,’ लामिछानेले भने, ‘२०२१ त पुरै वर्षभरि कोरोनाको असर परेको हो। कुनै समय बढी र कम असर भन्ने मात्र हो, तर, आगमन भने निरन्तर रहिरहँदा सुधार भन्न सकिन्छ।’  

सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना भित्रिएका थिए। संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लुटिओ)ले कोरोना संक्रमण सुरु भएपछि २०२० मा विश्वको पर्यटन ७० देखि ७५ प्रतिशत घट्ने अनुमान गरेको थियो। पर्यटनको त्यो असर २०२१ मा पनि उत्तिकै पर्ने आँकलन थियो। विश्वको पर्यटन तीनदशक अघिको अवस्थामा फर्किने यूएनडब्लुटओले बताएको थियो। तर, नेपालमा भने त्यो भन्दा पनि अझै बढी असर पारेको तथ्यांकले देखाएको छ। २०१९ को तुलनामा २०२१ मा नेपालमा जम्मा १२.५ प्रतिशत मात्र आगमन भएको लामिछानेले बताए।

‘पर्यटक आगमन बल्ल सुधारको बाटोमा छ। पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएपनि त्यसले अस्थायी प्रभाव पार्ने भनिएकोले आगमन उत्तिसारो प्रभावित नहुन पनि सक्छ,’ लामिछानेले भने, ‘ओमिक्रोनको थप प्रभाव नपर्ने हो भने २०२२ को आगमन अझै बढ्ने अपेक्षा गर्न सकिन्छ।’  

बोर्डका तथ्यांक अनुसार नेपालमा २०२० को जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५० जना विदेशी भित्रिएका थिए। त्यस्तै मे महिनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१ जना भित्रिएका थिए। अगष्टको आगमन संख्या ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८, अक्टोवरमा २३ हजार २ सय ८४, नोभेम्बरमा २६ हजार १ सय ३५ र डिसेम्बरमा २४ हजार ६ सय ७९ जना भित्रिएका छन। ‘अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सिजन अनुसार सुधारोन्मुख देखिएको छ। अबको समयमा आगमनमा अझ सुधार हुने देखिन्छ,’ लामिछानेले भने।  

पर्यटन व्यवसायी पनि पर्यटनमा सुधार देख्न थालेका छन्। पछिल्लो समय फाट्टफुट्ट विदेशी पर्यटकको आगमन हुन थालेपछि पर्यटन क्षेत्र केही आशावादी पनि बनेको छ। पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष गोपिबहादुर भट्टराई विदेशी पर्यटकको आगमनमा सुधार देखिन थालेको बताउँछन्। ‘कोरोनाले सबैन्दा बढी मार पर्यटनमा परेको हो। अब केही सुधार हुने देखिएको छ। पछिल्लो समय महत्वपूर्ण पर्यटकीय गन्तव्यमा फाट्टफुट्ट विदेशी भित्रिएको देखिएका छन,’ भट्टराइले भने, ‘त्यही नै सुधारको संकेत हो।’  

पदयात्रा, पर्वतारोहण जस्ता साहसिक गतिविधिमा विदेशी भित्रिन थालेकोले पनि सुधारोन्मुख मान्न सकिने उनले बताए। आन्तरिक पाहुनाको भरमा थेगिएको पर्यटन क्षेत्रले सोचेभन्दा छिटो विदेशी पाहुना भिœयाउन सक्ने अवस्था देखिएको भन्दै ‘रिभाइभ’ को बाटोमा लागेको उनले बताए। ‘हामीले सोचेभन्दा छिटो पर्यटनमा रिभाइभ हुने देखेका छौ। अब कुनै अप्ठेरो नपर्ने हो भने विदेशी पर्यटक अवश्य आउनेछन्,’ उनले भने।  

प्रकाशित: १८ पुस २०७८ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App