४ वैशाख २०८१ मंगलबार
अर्थ

लाभकर छली प्रकरण: बोटलर्स नेपालविरुद्ध साढे दुई अर्ब रुपैयाँको मुद्दा दायर गर्ने तयारी

बोटलर्स नेपाल लिमिटेडको सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले करिब साढे दुई अर्ब रूपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गर्ने तयारी गरेको छ।

विभागले बोटलर्स नेपालका सेयरधनीलाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचनामार्फत आह्वान गर्दा पनि सम्पर्कमा नआएपछि मुद्दा दायर गर्न लागेको हो।

विभागले मुद्दा दर्ता गर्ने प्रक्रिया अनुसार थप परामर्शका लागि आइतबार सरकारी वकिलको कार्यालयलाई पत्राचार गरेको छ। ‘विभागले अनुसन्धान सकेको छ,’ विभागका एकजना उच्च अधिकारीले भने, ‘सरकारी वकिल कार्यालयको थप राय आएपछि मुद्दा दायर गर्छौं।’

बोटलर्स नेपालको स्वामित्व खरिदबिक्रीमा २५ प्रतिशत पुँजीगत लाभकर छलिएको सूचनाका आधारमा विभागले २०७७ मंसिरदेखि अनुसन्धान सुरु गरेको थियो। गत पुस २ गते बोटलर्स नेपाल लिमिटेडका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई एक साताभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो। बोटलर्सका सेयरधनी सम्पर्कमा नआएपछि विभाग मुद्दा दायरको अन्तिम तयारीमा छ।

सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आउन आह्वान गरेपछि बाटेलर्सले कर तिनुपर्ने भए तिर्छौं भन्ने आशयको पत्र विभागमा पठाएको छ। तर विभागले मुद्दाको प्रक्रिया अघि बढाएको जनाएको छ। ‘कानुनले ५० लाखभन्दा माथिको बिगोमा मुद्दा दायर गर्ने व्यवस्था गरेको छ,’ विभागका अधिकारीले भने, ‘कानुन बमोजिम मुद्दा लैजाने तयारीमा छौं।’ विभागले करिब एक वर्ष बढी समय लगाएर अनुसन्धान गरेको हो।

बोटलर्स नेपालको सेयर स्वामित्व विदेशमा बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको महालेखापरीक्षकको कार्यालयले तयार गरेको ५८औं प्रतिवेदनमा समेत उल्लेख छ। विभागले अनुसन्धानमा यसलाई पनि प्रमुख आधार बनाएको छ।

महालेखाको प्रतिवेनमा लेखिएको छ, ‘ठूला करदाता कार्यालय अन्तर्गतको एक बहुराष्ट्रिय कम्पनीको कुल सेयर संख्या १९ लाख ४८ हजारमध्ये १४ लाख ८४ हजार ३०१ कित्ता सेयर अर्को बहुराष्ट्रिय कम्पनीले खरिद गरेको छ।’ यो कम्पनी बोटलर्स नेपाल हो। बोटलर्सले २०७१ मंसिरमा ७६.१६ प्रतिशत स्वामित्व परिवर्तन गरेको प्रतिवेदनमा उल्लेख छ।

नेपालमा सञ्चालित क्रियाकलापसँग सम्बन्धित भुक्तानी भएकाले सिर्जना भएको पुँजीगत लाभमा प्राथमिक रूपमा नेपालमा कर लाग्ने महालेखाले औंल्याएको छ। ‘कम्पनीको नाम परिवर्तन गरिएको र सेयर खरिदबिक्री गर्दा भएको स्वामित्व परिवर्तनको जानकारी नेपालका कुनै पनि नियामक निकायलाई नदिनुका साथै निसर्गमा प्राप्त भएको लाभमा कर गणना गरी दाखिला गरेको देखिँदैन,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ।

पुँजीगत लाभकर गणना गर्ने प्रयोजनार्थ नेपाल स्टक एक्सचेन्ज लिमिटेडको स्वामित्व परिवर्तन हुँदाको २०७१ मंसिरमा प्रकाशित गरेको औसत मूल्य १६६० को आधारमा उपर्युक्त सेयरको बिक्री मूल्य २ अर्ब ४६ करोड ३९ लाख ४० हजार र सो मूल्यमा कम्पनीलाई २०६१ मा खरिदकर्ता बहुराष्ट्रिय कम्पनीले तिरेको लागत खर्च प्रतिसेयर २२४.७५ रूपैयाँका दरले ३३ करोड ३५ लाख ९७ हजार घटाउँदा २ अर्ब १३ करोड ३ लाख पुँजीगत लाभ हुने देखिन्छ।

सो लाभमा नेपालमा रहेको स्थायी संस्थापनबाट कट्टा गर्नुपर्ने १५ प्रतिशत अग्रिम कर ३१ करोड ९५ लाख ५१ हजार रूपैयाँ र ऐनको दफा ९६ बमोजिम आय विवरण पेस गरी लाग्ने २५ प्रतिशत समेत लाग्ने कर ५३ करोड २५ लाख ८६ हजार रूपैयाँमा लाग्ने शुल्क र ब्याजसमेत छानबिन गरी कर निर्धारण एवं असुल गर्नुपर्ने महालेखाले भनेको छ।

बोटलर्स जस्तै पुँजीगत लाभकर छलीमा एनसेलले कर तिर्नुपर्ने सर्वोच्च अदालतबाट यसअघि नै फैसला भएकाले राजस्व अनुसन्धान विभागले त्यसलाई पनि आधार बनाएको छ।

बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायत हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। यो अमेरिकी कम्पनी हो। बोटलर्स नेपालमा तीन पक्षीय लगानी छ।

कुल सेयरमा ७६.१६ प्रतिशत सेयर दुबईमा दर्ता भएको कोकाकोला सब्को एसिया कम्पनीको नाममा थियो। सब्कोले सेयर कोकाकोला साउथ वेस्टलाई बिक्री गरेको हो। यसमध्ये ७६.१६ प्रतिशत विदेशी लगानीको सेयर किनबेच हुँदा लाभकर छली भएको हो।

विभागका अनुसार सब्को एसियाले आफ्नो सेयर कोकाकोला साउथ वेस्टलाई बिक्री गर्दा पुँजीगत लाभकर छली भएको हो। कम्पनीमा २२ प्रतिशत सेयर गोर्खा ब्रुअरीको छ भने १.८४ प्रतिशत सेयर सर्वसाधारणको छ।

नेपालमा दर्ता भएको कुनै पनि स्वदेशी वा विदेशी कम्पनीको सेयर बिक्री हुँदा लाभ प्राप्त भए त्यसमा लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ। कम्पनीले स्वामित्व परिवर्तन गर्दा कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि त्यसो नगरी कारोबार गरेको थियो।

दुबईमा दर्ता भएको कम्पनीमार्फत लगानी भएकाले विदेशमा नै सेयर बिक्री गर्दा नेपालको सरकारी निकायलाई जानकारी दिएन। विदेशमा दर्ता भएको कम्पनी भए पनि नेपालको कम्पनीमा गरिएको लगानीको स्वामित्व परिवर्तन गर्दा नाफाको पुँजीगत लाभकर तिनुपर्ने कानुनी व्यवस्था अनुसार रकम नतिरेपछि मुद्दा दायर गर्न लागिएको हो।

बोटलर्स नेपालको सेयर कारोबार सब्को एसियाको दुबईमा भए पनि नेपालको कानुनअनुसार नेपालमा दर्ता भएको कम्पनीमा लगानी गरेर बिक्री गरेकाले पुँजीगत लाभकर तिर्नुपर्ने विभागले जनाएको छ।

प्रकाशित: १२ पुस २०७८ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App