९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

ह्वात्तै बढे आर्थिक अपराध

गायक योगेश्वर अमात्यको बारामा रहेको जग्गा तेस्रो पक्षले कुमारी बैंकमा राखेर १९ करोड रूपैयाँ हिनामिना गरेको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा बुझाएको छ। आफ्नो जग्गा नक्कली कागजात बनाएर अपरिचित व्यक्तिले बैंकमा धितो राखेर १९ करोड रूपैयाँ कर्जा लिएको भन्दै गायक अमात्यले ब्युरोमा उजुरी दिएका थिए।  

सो घटनामा प्रहरीले शेषकुमार महर्जन, कुसन प्रधान, मुक्तिलाल गौतम र बैंक कर्मचारी सोनु ठाकुर तथा राजेश चौरासियालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। ब्युरोका अनुसार बाराको विश्रामपुरमा गायक अमात्यको १२ बिघा जग्गा छ। शेषकुमार महर्जन र मुक्तिलाल गौतमले नक्कली लालपुर्जा बनाएर कुमारी बैंकबाट १९ करोड ऋण निकालेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको थियो। नक्कली धितो राखेर प्रवाह भएको ऋण बैंकले असुलसमेत गरिसकेको अनुसन्धानमा देखिएको थियो।  

पछिल्लोपटक व्यरोले सिभिल सहकारीको ठगी मुद्धालाई पनि अनुसन्धान गर्यो। सो मुद्धा अनुसन्धानको क्रममा अर्बभन्दा बढी ठगी भएको खुल्यो। सिभिल सहकारीका सञ्चालकहरूको मुद्दा अहिले काठमाडौ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ। सिभिल सहकारीले विगत पाँच वर्ष यताकै सबैभन्दा बढी रकम ठगी गरेको खुलेको छ। नेपाल प्रहरीमा चेक अनदारका ठगी मुद्दा पनि आउने गरेका छन्। त्यसलाई भने सिधै अदालतमा पठाउने गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दिएको पछिल्लो तथ्यांकअनुसार यस्ता धेरै मुद्दाहरूबाट रकम असुल्न बाँकी रहेका छन्।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दिएको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७८/७९ मा अनुसन्धान गरेको आर्थिक अपराधसम्बन्धीका विभिन्न मुद्दाहरू ६ अर्ब रूपैयाँभन्दा बढी रकम असुल्न गर्न बाँकी रहेको छ। आर्थिक अपराधअन्तर्गत चोरी (विद्युत् पोल), सहकारी ठगी र बैकिङ कसुरमा ६ अर्ब , तीन करोड, चार लाख, ५८ हजार रूपैयाँ बिगो रकम असुल्न हुन बाँकी रहेको तथ्यांकले देखाएको छ। जसमध्ये सहकारी ठगीबाट पाँच अर्ब, ८० करोड, ९८ लाख, दुई हजार सात सय रूपैयाँ, बैकिङ कसूरबाट २१ करोड, ९० लाख, ८८ हजार रूपैयाँ र चोरी (विद्युत पोल)बाट १५ लाख, ६७ हजार रूपैयाँ बिगो रकम असुल गर्न बाँकी रहेको छ। चालु आर्थिक वर्ष ०७८/७९ मा बैकिङ कसूरअन्तर्गतका दुई मुद्दामा ९ जना, सहकारी ठगीको एक मुद्दामा १२ जना र चोरी (विद्युत पोल)को एक मुद्दामा ९ गरी ३० जना अभियुक्त पक्राउ परिसकेका छन्। चालु आर्थिक वर्ष ०७८/७९ मा बैकिङ कसूरका विभिन्न मुद्दाहरूमा पक्राउ परेका ३३ जनाबाट ६ करोड, ४४ लाख, १२ हजार रूपैयाँ असुल भएको थियो।  

गत आर्थिक वर्ष ०७७/७८ मा ब्युरोले अनुसन्धान गरेको आर्थिक अपराधका विभिन्न १८ मुद्दाबाट ९२ करोड , १८ लाख, ७५ हजार , नौ सय ७६ रूपैयाँ असुल हुन बाँकी रहेको थियो। जसमध्ये बैकिङ कसूरका ११ मुद्दाहरूमा पक्राउ परेका ९ जनाबाट सात करोड, ७३ लाख, ४३ हजार ६६४ रूपैयाँ, अबैध कल बाइपास (भिओआइपी)का दुई मुद्दाहरूमा पक्राउ परेका ३ जनाबाट १ करोड १७ लाख, ५१ हजार ८८६ रूपैयाँ, ठगीको पाँच मुद्दामा पक्राउ परेका १० जनाबाट ८३ करोड, २७ लाख, ७० हजार रूपैयाँ बिगो रकम असुल हुन बाँकी रहेको थियो। आर्थिक वर्ष ०७७/७८ मा बैकिङ कसूरका विभिन्न मुद्दाहरूमा पक्राउ परेका ३६ जनाबाट १३ करोड, ४० लाख, ४१ हजार रूपैयाँ जरिवाना असुल भएको थियो।  

नेपालमा आर्थिक अपराधअन्तर्गत नेपाल प्रहरीले विसं.२०६७ सालदेखि २०७६ सालको अवधिमा मात्र ३७ अर्व १३ करोड ७९ लाखभन्दा बढी रकम हिनामिना गरेको भन्दै मागदाबी गरेको थियो। तीमध्ये सबैभन्दा बढी बैकिङ कसूरअन्तर्गत देखिएको थियो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार बैंकिङ कसूरसँगै अबैध कल बाइपास (भिओआइपी), ठगी, सम्पत्ति शुद्धीकरण र बिमा ठगी लगायत आर्थिक अपराधका घटनाहरूमा प्रहरीले पाँच सय ७१ जनालाई पक्राउ गरेको थियो।

त्यस अवधिमा बैकिङ कसूरमा पक्राउ परेका २ सय पाँच जनासँग १२ अर्व ९७ करोड ७६ लाख, ३० हजार रूपैयाँ माग दाबी गरिएको थियो। भिओआइपीमा पक्राउ परेका एक सय ६६ जनाबाट १२ अर्व १२ करोड ५० लाख ९ हजार रूपैयाँ, युनिटीमा पक्राउ परेका ५१ जना, नेटवर्किङ हर्बोमा पक्राउ परेका दुई जनाबाट एक अर्ब ४३ करोड ३५ लाख ७५ हजार रूपैयाँ माग दाबी गरिएको थियो। त्यस्तै ठगीमा पक्राउ परेका ३५जनाबाट सात करोड २५ लाख, ४२ हजार दुई सय ४० रूपैयाँ, विमा ठगीमा पक्राउ परेका ६ जनाबाट दुई करोड ५० लाख ८९ हजार रूपैयाँ, ढुकुटीमा पक्राउ परेका २१ जनाबाट २१ लाख ३४ हजार रूपैयाँ, सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका ३६ जनाबाट १ अर्व १८ करोड ६८ लाख ८५ हजार रूपैयाँ र विटक्वाइनमा पक्राउ परेका ९ जनाबाट पाँच करोड ३९ लाख ७० हजार रूपैयाँ माग दाबी गरिएको थियो।  

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार आर्थिक अपराधमा उच्च, बौद्धिकदेखि बैंकका कर्मचारी र सर्वसाधारणको संलग्नता देखिएको छ। त्यसबाहेक विदेशीहरूको संलग्नता उत्तीकै रहेको छ। ‘नेपालमा भइरहेका आर्थिक अपराधका विभिन्न मुद्दाहरूमा प्रविधिको दुरूपयोग भएको पाइएको छ,’ उनले भने, ‘छिटो पैसा कमाउने लोभले प्रविधि र कानुनको दुरूपयोग भएका छन्। राज्यको प्रचलित ऐन कानुनविरुद्ध कुनै व्यक्ति, समूह वा संघ संस्थाद्वारा गरिने आर्थिक अपराध बढ्दै गएका छन्।’ विसं.२०६७ सालदेखि २०७६ सालको अवधिमा ब्युरोले मात्र बैंकिङ कसुरअन्तर्गत मात्र २१ अर्ब ९७ करोड ७६ लाख ३० हजार ७४१ रूपैयाँ माग दाबी गरेको थियो भने दुई सय ५ जना पक्राउ परेका थिए।  

पछिल्ला वर्षहरू शंकास्पद आर्थिक अपराधका उजुरी ५० प्रतिशतले बढेको प्रहरीले जनाएको छ। ‘शंकास्पद आर्थिक अपराधका गतिविधि ह्वात्तै बढेका छन्,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले भने, ‘हुन्डीदेखि अनलाइनमार्फत् हुने ठगी, बैंकिङ प्रणाली ह्याक गरी हुने चोरीलगायतका कसूर र संगठित अपराध पछिल्ला वर्षहरूमा बढेका छन्। बैंकिङ क्षेत्र बढी प्रविधियुक्त र अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रसँग एकीकृत हुँदै जाँदा बैंकिङ अपराधको जोखिम पनि बढ्दै गएको छ। आर्थिक अपराध रोक्न सर्वसाधारणमा जनचेतना फैलाउन जरुरी छ।’

प्रकाशित: ६ पुस २०७८ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App