८ वैशाख २०८१ शनिबार
अर्थ

पोखराको हवाई उडानको आकार बढेको बढ्यै

दिनमा ६० बढि एकतर्फी उडान

पोखरा विमानस्थलमा जहाज। फाइल तस्बिरः नागरिक

पोखरा विमानस्थलबाट विहीबार सबैगरि ६६ वटा हवाई उडान (एकतर्फी) भए। तीमध्ये ठुला आकारका जहाजको उडान संख्या ३० थियो। बाँकी उडान हेलिकप्टर र अल्ट्रालाइट जहाजको थियो। ती उडानबाट एकैदिन झन्डै २५ सय यात्रु ओहोरदोहोर गरेका छन्।  

पोखराको यो विमानस्थल मौसमी अवस्था सामान्य हुँदा यतिबेला बिहान ७ देखि बेलुकी ५ बजेसम्म (दशघण्टा) संचालनमा छ। यो अवधिमा हुने हवाई उडानमा अहिले पोखरा आउजाउ गर्ने यात्रुको संख्या खचाखच छ। कोरोना भाइरस संक्रमणले पर्यटन क्षेत्र थलिँदा विदेशी पाहुना आउन नपाएपछि स्वदेशी यात्रुको माग बढ्दा पोखरासम्मको हवाई उडानको आकार दिनहुँ बढेको छ।  

‘कोरोना संक्रमण सुरु हुन भन्दा अघिकै आकारमा अहिले हवाई उडान भएका छन। विदेशी यात्रु मात्र नभएका हुन्,’ पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी भन्छन्, ‘स्वदेशी यात्रुको संख्या दिनहुँ बढिरहँदा त्यसको लाभ हवाइ कम्पनिलाई पुगेको छ।’ पोखराको यो विमानस्थलबाट विभिन्न सहरसम्म हुने नियमित हवाई सेवा बाहेक पोखराकै आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाईट जहाज पनि उडान हुन्छन्। त्यसले गर्दा पनि विमानस्थललाई व्यस्त बनाएको छ। बुधबार मात्र ‘ल्याण्डिङ र टेकअफ’ गरेर १३२ पटक ग्राउण्ड ह्याण्डल गर्नुपरेको सुवेदीले बताए।  

सुवेदीका अनुसार अहिले पोखराबाट काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, सिमरासम्म नियमित उडान हुन्छन। सबैभन्दा बढी उडान बुद्ध एयरका छन्। बुद्धले दिनमा कम्तिमा १५ उडान गरिरहेको छ। त्यस्तै यतीको ६ वटा उडान छ। गुण एयरलाइन्सले पनि दिनमा ६ वटा उडान गरिरहेको छ। गुणले काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्जसम्म नियमित उडान गरिरहेको छ। मुस्ताङको जोमसोमसम्म तारा एयरलाइन्सको ३ वटा उडान छन्। हेलिकप्टर र अल्ट्रालाइट उडानले गर्दा पनि पोखरा विमानस्थल बढी व्यस्त बनाएको सुवेदीले बताए।

‘त्रिभुवन अन्तर्राष्ट्रिय पछि मुलुककै सबैभन्दा बढी व्यस्तमा पोखराको यो विमानस्थल पर्छ। उडान संख्या र यात्रुको आउजाउले गर्दा यहाँको व्यस्तता बढाएको छ,’ उनले भने। उनका अनुसार पोखरा विमानस्थलाई आधार मानेर काठमाडौं बाहेकका गन्तव्यमा उडान गर्दा पनि व्यस्तता बढाएको छ। अहिले पोखराबाट भरतपुर, भैरहवा, नेपालगञ्ज र सिमरासम्म पनि नियमित उडान भईरहेको छ। सुरुवाती दिनमा सातामा ३ वटा उडान हुने कतिपय रुटमा अहिले दिनमै तीनवटासम्म उडान थपिएका छन्।

त्यस्तै राजधानीसम्मका उडान पनि बढिरहेका छन्। पोखराबाट बिराटनगर, जनकपुर सहितका गन्तव्यमा पनि उडानको योजना हवाई कम्पनिले बनाएका छन। ‘पोखराको यो विमानस्थलबाट दिनको समयमा मात्र उडान हुन्छ। रात्रीकालिन उडान नहुने भएकोले पनि दिनमा व्यस्तता बढाएको छ,’ उनले भने।  

सुवेदीका अनुसार पछिल्लो समय हवाई यात्रु थपिएका छन् । त्यसबाहेक विभिन्न गतिविधिका कारण हवाई यात्रु बढेका छन। चितवन र काठमाडौंमा भएका राजनीतिक गतिविधि सहित विभिन्न समुहको पोखरामा कार्यक्रम हुँदा पनि यात्रुको आउजाउ ह्वात्तै बढाएको उनले बताए। त्यत्तिमात्र नभई स्थलमार्गको यात्रा पछिल्लो समय झन्झटिलो बनेको छ। पोखरा–मुग्लिन राजमार्ग पनि बिस्तार सुरु भएसँगै स्थलमार्ग झन्झटिलो बनिसकेको छ। पोखरालाई जोड्ने सिद्धार्थ र पृथ्वी राजमार्गको यात्रा सहज नभएकोले पनि यात्रुले हवाई यात्रालाई रोजेको उनले बताए।  

सुवेदीका अनुसार हवाई यात्रु यति धेरै थपिएका छन की चाहेको बेला हवाई टिकट पाउन पनि मुस्किल छ । ‘पोखरा घुम्न पनि आन्तरिक पाहुना आएका छन्। त्यस्तै विभिन्न गतिविधिले पनि यात्रुको आउजाउ बढाएको छ,’ उनले भने। ‘हवाई उडानमा कोरोना अघिको आकार देखिएको छ। विदेशी यात्रु छैनन। तर, नेपालीको मुभमेन्टका कारण हवाई उडानले पुरै आकार लिएको छ,’ उनले भने।  

हवाई कम्पनिले पछिल्लो समय नेपालमा उडान गर्ने सबैभन्दा बढी क्षमताका जहाज नै पोखरासम्म उडान गरिरहेका छन्। अहिले अधिकांश उडान ७२ सिट क्षमताका एटिआर ७२–५०० सिरिजका जहाजबाट भईरहेका छन्। ‘सबै उडानमा सिट ९० प्रतिशत माथि सिट बुकिङ छ,’ उनले भने।  

बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालका अनुसार पछिल्लो समय उडान थपिने क्रम बढिरहेको छ। विभिन्न गन्तव्यम अहिले उडान संख्या बढिरहेको उनले बताए। हवाई कम्पनिबीच प्रतिश्पर्धा पनि बढिरहेको छ। उनका अनुसार अरुबेलाको तुलनामा अहिले हवाई भाडा पनि आधा सस्तो छ। हरेक उडानमा यात्रु पु¥याउनका लागि पनि केही सस्तोमा उडान भईरहेका छन्। त्यसले गर्दा यात्रु हवाइजहाज यात्रा गर्न थालेका छन्। ‘आन्तरिक यात्रुले नै हवाई क्षेत्र धानेका हुन,’ बरालले भने, ‘पोखरासम्म यात्रा गर्ने आन्तरिक पर्यटक पनि उत्तिकै छन्। त्यसबाहेक विभिन्न गतिविधिले पनि हवाई यात्रा बढाएको छ।’

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ पनि अबको पर्यटन आन्तरिकमा निर्भर रहने बताउँछन्। उनी पोखरा अल्ट्रालाइट जहाजका संचालक पनि हुन्। ‘आन्तरिक यात्रुकै कारण पनि हवाई क्षेत्रले सास फेर्न पाएको हो। विदेशीको त अझै केही समय आगमन हुने देखिएको छैन,’ श्रेष्ठ भन्छन, ‘पर्यटन क्षेत्र चलायमान हुनुमा आन्तरिक यात्रु हुन्। अहिले हवाई यात्रा गर्ने आन्तरिक यात्रुको कारण पोखरा र आसपासको क्षेत्रको पर्यटन क्षेत्र चलायमान बनिरहेको छ।’  

प्रकाशित: १ पुस २०७८ ०८:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App