७ वैशाख २०८१ शुक्रबार
अर्थ

व्यवसायमा महिला हिंसाः चियाको होइन, रुपको तारिफ

व्यवसायमा महिला हिंसाबारे पोखरामा आयोजित छलफल कार्यक्रम। तस्बिरः नागरिक

शोभा गौतम, पोखराकी कहलिएकी महिला उद्यमी हुन्। तर, उनीसँग व्यवसाय थाल्दाको तितो अनुभव छ। जसले गौतमलाई बेलाबेला झस्काउँछ। १६ वर्षमै उनले विवाह गरिन्। गौतमले विवाहपछि व्यवसायमा हात त हालिन्, तर, त्यो व्यावसायमा टिकिरहन उनलाई ठुलै चूनौती आइपर्‍यो।  

सुरुमा उनले चिया पसलबाट व्यवसायिक यात्रा थालेकी थिइन्। चिया पसलबाट व्यवसायिक यात्रा थाल्नुको कारण थियो–थोरै लगानीमा व्यवसाय गर्न सकिने, घाटाको जोखिम कम हुने, तर, आम्दानी भने हुने। तर, त्यो व्यवसायमा उनको मन बसेन। किनभने उनलाई चिया पिउन आएका ग्राहकको दृष्टिकोण मन परेन।

पर्यटन व्यवसायी महिला संघ (टेवान)ले आयोजना गरेको ‘व्यवसायमा महिला हिंसा’ सचेतना कार्यक्रममा गौतमले अनुभव सुनाइन–चिया पिउन आएका ग्राहकको हेराइ मलाई पटक्कै मन परेन। चियाको स्वादको बखान गर्नुको साटो ग्राहकले ‘कति राम्री साहुनी’ भन्न पो थाले, पसलमा चियाको होइन, रुपको तारिफ हुन थाल्यो। त्यसपछि मेरो मन बदलियो।’ 

चिया पसलको व्यवसाय छाडेर ब्यूटिपार्लर संचालन गर्न खोज्दा पनि उनले त्यस्तै नराम्रो सुन्नुपर्‍यो। ‘ब्यूटिपार्लर खोल्दा त ‘नक्कलीको व्यवसाय’ भनियो, उनले भनिन्।

गौतम अहिले पोखरामा इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन गर्छिन। इभेन्ट म्यानेजमेन्टको आँट गर्न खोज्दा पनि महिला भएकै आधारमा आफुलाई कमजोर ठान्ने गरिएको उनले सुनाइन्। ‘महिलाको भरमा मात्र इभेन्ट म्यानेजमेन्ट हुन सक्दैन की भनेर औंला ठड्याउने चलन छ,’ उनले भनिन्। आफुमाथि अविश्वास हुने ठानेर व्यवसायमा संलग्न हुँदाहुँदै पनि धेरै महिला बाहिर आउन नचाहेको उनले सुनाईन्।  

गौतम जस्तै अर्कि व्यवसायी बिन्दु कोइराला सुवेदीले पनि व्यवसायमा महिला हिंसा हुने गरेको दुखेसो पोखिन्। महिला भएकै आधारमा आफुले पनि अप्ठेरो महसुस गर्नुपरेको उनले सुनाईन्। सुवेदीले भनिन्, ‘मसँग सवारीचालक अनुमति पत्र सहितका सबै कागजात थिए। मैले पिकअप भ्यान चलाएर हिड्दा ममाथि फरक नजरले हेरियो। महिला भएर पनि पिकअप गाडी चलाउने समेत भनियो।’ उनले पनि महिला भएकै कारण व्यवसायमा हेर्ने दृष्टिकोण फरक रहेको बताईन्। ‘पसलमा सामान किन्न आउने ग्राहकले पुरुष खोज्छन,’ उनले भनिन्, ‘म आँफै पसलको संचालक हुँ भन्दा पनि मेरो श्रीमानको खोजी हुन्छ।’

गौतम र सुवेदीजस्तै महिला भएकै कारण व्यवसायमा लाग्दा पनि विश्वास नगर्ने गरेको गुनासो महिला व्यवसायीको छ। महिला भएकै कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत समस्या रहेको उनीहरुले सुनाए। आर्थिक क्षेत्रमा पुरुषको मात्र पहुँच बढेको उनीहरुको भनाई छ। ‘महिला भएकै कारण ठुला व्यवसाय गर्ने आँट कतैबाट आएको छैन। आर्थिक क्षेत्रमा पुरुषको मात्र पहुँच देखिन्छ। महिला कमजोर देखिएका छन,’ अग्रज पर्यटन व्यवसायी लक्की कार्की क्षत्रीले भनिन, ‘अब महिलाको मुद्धा सुनिनुपर्छ।’

लामो समयदेखि पदयात्रामा संलग्न कार्कीले पनि व्यवसायमा महिलालाई समस्या रहेको बताईन। उनका अनुसार महिला गाइडलाई पदयात्रामा जाँदा उस्तै समस्या हुने गरेको छ। ‘महिला पर्यटक घुम्न जान हुने, तर, महिला गाइड लैजान नहुने अवस्था छ। अब त्यो हट्नुपर्छ,’ क्षत्रीले भनिन, ‘हामीले त्यही विभेद हटाउनका लागि महिला गाइड तयार पारेका हौ। अब महिला पनि सक्षम गाइड छन् भनेर हामीले विश्वास दिलाउनुपर्छ।’  

महिला पदयात्रीलाई सहज होस भनेर महिला गाइड तयार पारेर पठाउन थालेको उनले बताईन। ‘महिलाको समस्या बाहिर आउन कि त ठुलै घटना हुनुपर्छ, कि त मारिनुपर्छ, कि ठुलै चोटपटक लाग्नुपर्छ। नत्र सकेसम्म महिलाका हिंसाका घटना बाहिर आउँदैनन,’ उनले भनिन्। उनले अब व्यवसायमा आएका महिलाको पेशा र रोजगार पनि सुरक्षित हुनुपर्ने बताईन्।  

गण्डकी प्रदेशकी सदस्य समेत रहेका महिला उद्यमी मिना गुरुङले थाहै नहुने गरि महिलाले हिंसा खेप्नुपरेको बताईन। आर्थिक रुपमा महिला कमजोर हुँदा बढी हिंसाका घटना हुने गरेको उनले सुनाइन। ‘आर्थिक रुपमा महिला मजबुत हुन सकेनन। सधै पुरुषको भर पर्नुपरेको छ,’ उनले भनिन, ‘महिलाले गरेको व्यवसायलाई देखाएर नाक खुम्च्याउने चलन हावि छ। अब त्यो हटाउनुपर्छ।’ प्रदेशका कानुनमन्त्री बिन्दुकुमार थापाले महिला हिंसालाई सभ्य समाजले पचाउन नसक्ने बताए। उनले महिलालाई आत्मनिर्भर हुने बाटोमा अवरोध रहेकोमा अब त्यो कमजोर हुँदै गएको बताए।  

टेवानकी अध्यक्ष रेणु थापाले महिलालाई व्यावसायमा टिकाइरहन चुनौती रहेको बताईन्। चुनौतीका कारण नै महिलाहरु व्यवसायमा लागि पर्न नसकेको उनले बताईन्। ‘महिला व्यवसायी धेरै छन्। तर, ती सबै व्यवसायी बाहिर खुल्न सकेका छैनन्,’ उनले भनिन्, ‘अनेक बोझका बाबजुत केही महिला बाहिर खुल्छन्, धेरै महिला त भित्रभित्रै हराएका हुन्छन्। व्यवसायमा संलग्न महिलालाई अब बाहिर ल्याउनुपर्छ।’ 

प्रकाशित: २१ मंसिर २०७८ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App