८ वैशाख २०८१ शनिबार
अर्थ

संघसंस्थाहरु मेला र महोत्सवको तयारीमा

कास्कीका विभिन्न संघसंस्थाहरु मेला र महोत्सव गर्ने आन्तरिक तयारीमा जुटेका छन्। केही संघसंस्थाले मिति सार्वजनिक गरिसकेका छन्। कोही पर्ख र हेरको अवस्थामा छन्।  

अंग्रेजी नयाँवर्षका अवसरमा रेष्टुरेण्ड एण्ड बार एशोसिएसनको ‘सडक महोत्सव’, पोखरा युनाईटेड क्लबले ‘पोखरा महोत्सव’, लेखनाथ उद्योग वाणिज्य संघले आयोजनामा ‘लेखनाथ महोत्सव’ र पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ तयारीमा छन्। सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म लेकसाईड क्षेत्रमा हुन्छ।

क्लबले आयोजना गर्ने पोखरा महोत्सव अमरसिह चौरमा पुस २३ माघ ९, लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने लेखनाथ महोत्सव माघ १३ देखि २४ गतेसम्म हुने मिति तय गरिएको छ। पोखरा उद्योग वाणिज्य संघले आगामी फागुन अथवा बैशाखमा आयोजना गर्ने जनाए पनि पर्ख र हेरको स्थितिमा रहेको जनाएको छ।

पर्यटकीय क्षेत्र लेकसाईडको सडक क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन(रेबान) पोखराले २३ औं संस्करणको सडक महोत्सवको तयारीमा छ। गतवर्ष अन्य मेला र महोत्सव स्थगित भएपनि सडक महोत्सव भने आयोजना गरिएको थियो। रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले महोतसव आयोजना गर्न आन्तरिक तयारीमा जुटेको बताए। ‘सडक महोत्सव गर्ने आन्तरिक तयारीमा छौं। अघिल्लो वर्ष पनि गर्यौं।’ उनले भने, ‘दुई वर्ष भईसक्यो, कोरोना अब नयाँ रहेन्। पार्टीगत महाधिवेशन भईसकेको छ। भीडभाडमै सम्पन्न भएको अवस्थाले पनि हामी महोत्सव गर्ने आन्तरिक तयारी गरेका हौं।’

उनका अनुसार राजनैतिक पार्टीहरुको जिल्ला, प्रदेश र महाधिवेशन समेत भईसकेको अवस्था छ। कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन देखिईसकेको छ। नयाँ भेरियन्टको त्रास बढ्दो छ। ‘सरकारले ओमिक्रोनले विकराल रुप लियो भनेर रोक्यो भने मात्रै रोकिन्छ। अन्यथा सडक महोत्सव हुन्छ।’ उनको भनाई थियो। स्वास्थ्यप्रति सबै सचेत र सजग हुनुपर्छ।  

कोरोनाले थलिएको आर्थिक क्षेत्रलाई टेवा दिन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ। स्थानीय तहसँग स्वीकृतिको लागि पोखरा युनाईटेड क्लबले महानगरपालिकालाई पत्रचार गरिसकेको छ। ‘स्वीकृतिको लागि चिठीपत्र पठाईसकिएको छ। महोत्सवको आन्तरिक तयारीमा जुटिरहेका छौं,’ क्लबका कोषाध्यक्ष सुर्य बानियाँले भने, ‘कोभिड–१९ को नयाँ भेरियन्ट बढ्दै गएको अवस्थामा राज्यले रोक लगाउन आदेश दियो भने रोक्नुको विकल्प हुदैन।’

क्लबले आयोजना गर्दै आएको महोत्सवबाट संकलित रकमबाटै लेखनाथ क्षेत्र वन्यजन्तु उद्दार केन्द्र(जुलोजिकल पार्क)को लागि आर्थिक सहयोग जुटाउँदै आएको छ। क्लबले ५५ लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ। पोखराको पर्यटन प्रवद्र्धनमा पार्क नयाँ गन्तव्य बन्ने विश्वास छ। क्लबले त्योसँगै शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा पनि हातेमालो गर्दै आएको छ। विभिन्न सरकारी विद्यालयमा अक्षयकोष स्थापना र शैक्षिक सामाग्री समेत वितरण गर्दै आएको छ।  

लेखनाथ उद्योग वाणिज्य संघले पनि कोरोनाकै कारण अघिल्लो वर्ष स्थगित गरिएको महोत्सवलाई यो वर्ष अगाडि बढाउने गृहकार्यमा छ। माघ १३ गतेदेखि २४ गतेसम्म आयोजना गर्ने गरी तयारीसहित मिति सार्वजनिक गरिएको संघका अध्यक्ष छत्रधर आत्रेयले सुनाए। ‘१७ औं संस्करणको तयारीमा छौं। तयारी धिमे गतिमा छ। ओमिक्रोनको प्रभाव कस्तो रहन्छ त्यसले भरपर्छ।’ उनले भने, ‘सामान्य अवस्था रह्यो भने महोत्सव हुन्छ। विकराल रुप भयो भने महोत्सव रोकिन्छ।’  

पोखरा उद्योग वाणिज्य संघले पनि राष्ट्रिय औद्योगिक व्यापारिक मेलालाई फरक ढंगले आयोजना गर्ने सोंचमा रहेको जनाएको छ। फरक ढंगबाट आयोजना गर्ने छलफल भएपनि कोरोनाकै कारण पर्ख र हेरको अवस्थामा रहेको संघका अध्यक्ष नारायण कोईरालाले बताए। ‘कोरोनाको नयाँ भेरियन्टले कारण पर्ख र हेरको स्थितिमा छौं,’ उनले भने, ‘फागुन या बैशाखमा मेला आयोजना गर्ने सोंच हो।’ उनका अनुसार घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु,साना पुँजीमा उद्योगी बन्न सक्छौं भन्ने ध्येयसहित मेला आयोजना गरिनेछ।  

जिल्ला प्रशासन कार्यालय कास्कीले मेला र महोत्सवको लागि भने स्वीकृति प्रदान गर्दैन्। स्वीकृति स्थानीय तहले दिने गरेको छ। यद्यपी कोरोनाको नयाँ भेरियन्टको त्रास छ। संकट व्यवस्थापन समितिले कोरोनाको असर बढ्दै गएको अवस्थामा अन्तिम समयमा प्रशासनले रोक्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए। ‘छलफल हुदैंछ, मापदण्ड बन्ला। त्यसपछि मात्रै प्रशासनले अवस्था अनुसार निर्णय गर्छ,’ उनको भनाई थियो। कोरोनाको नयाँ भेरियन्ट अथाव कोरोना संक्रमण दर बढ्दै गयो भने प्रशासनले भीडभाड हुने काम रोक्ने स्पष्ट पारे।  

प्रकाशित: २१ मंसिर २०७८ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App