८ वैशाख २०८१ शनिबार
अर्थ

गुद्री बजार: अवैध रुपमा घरधनी पैसा उठाउँदै, महागर मुकदर्शक

विराटनगर–९ स्थित गुद्री बजारको ‘डि’ प्लट नजिक निजी घर अगाडि तरकारी बेच्दै। तस्बिरः चुमन/नागरिक

विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको गुद्री बजारका घरधनीले अवैध रुपमा व्यवसायीसँग पैसा लिने गरेका छन्।

विराटनगर–९ स्थित गुद्री बजारको घरधनीले तरकारी व्यवसायीसँग दैनिक रुपमा भाडा वापत रकम लिने गरेका छन्। नगरपालिकाले गुद्री बजारको ‘डि’ प्लटमा रहेको तरकारी बजार नगरपालिकाले हटाउन थालेको छ। त्यहाँबाट हटेको केही तरकारी व्यापारीले छेउकै निजी घर अगाडि सडकपेटीमा राखेर तरकारीलगायतका वस्तु बिक्री वितरण गर्दै आएका छन्।

‘डि’ प्लट नजिकको सडकपेटीमा राखेर व्यापार व्यवसाय गर्दा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ। सडकपेटीमा व्यापार गर्ने भएपछि पैदल यात्रु मुख्य सडकमा हिँड्न बाध्य हुन्छन् र सडक जाम हुनुका साथै दुर्घटनाको जोखिम पनि उस्तै रहेको छ। विराटनगरका सडकपेटी मिचेर व्यवसाय गर्ने गरेका छन्। विराटनगरको मुख्य बजार क्षेत्र र कोसी लोकमार्गअन्तर्गतका सडकका पेटीमा व्यवसाय हुने गरेको छ।

‘डि’ प्लट आसपासका घरधनीले उनीहरुका घर अगाडिको सडकपेटीमा व्यवसाय गर्नेसँग मासिक २० हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनीहरुले व्यवसायअनुसार दैनिक ३ सयदेखि माथि लिने गरेको स्वयं सडकपेटीमा व्यवसाय गर्नेहरु बताउँछन्। ‘मेरो थोरै तरकारीको कारोबार गर्छु,’ एक तरकारी व्यापारीले भने, ‘मसँग घरधनीले दैनिक ३ सय रुपैयाँ लिन्छन्। उनीहरुलाई दैनिक रुपैयाँ दिएन भने भोलिपल्टदेखि बस्न दिँदैनन्।’ उनले त्यहाँ मासिक २० हजार रुपैयाँसम्म तिर्ने व्यवसायी रहेको बताए।

‘डि’ प्लट आसपासका सडकपेटीमा तरकारी र फलफूल बेच्न बस्ने गरेका छन्। यहाँ तरकारी बेच्न भारतको सीमावर्ती गाउँ, सुनसरीको दक्षिण क्षेत्र र मोरङका ग्रामिण क्षेत्रका तरकारी किसान आफैं तरकारी बेच्नका लागि आउने गर्दछन्। ‘महानगरले चाँडै सडकपेटीमा व्यापार व्यवसाय गर्नेलाई हटाउन लागेका छौं,’ महानगरपालिकाका वित्तीय महाशाखा प्रमुख सरोज गौतमले भने, ‘गुद्री बजारको ‘डि’ प्लटलगायत बजार क्षेत्रका घरधनीले घर अगाडि रहेको सडकपेटीमाथि व्यापार गर्न दिइने र भाडा लिइने गरेको पाइएको छ। यसरी सरकारी जमिनमा वहाल लिनु ग्रैह्र कानुनी हो। यस विषयमा महानगर गम्भीर भएर लागेको छ।’

घरधनीहरुले जमिन प्रयोग गरे वापत वहाल लिन्छन्, तर उनीहरुले कहिले पनि महानगरमा कर बुझाउँदैनन्। महानगर क्षेत्रभित्रका घरधनीहरुले व्यापार, व्यवसाय गर्नका लागि वहालमा पुरै घर, फ्ल्याट र कोठा महँगोमा दिन्छन्। व्यवसायीहरुले पनि घरधनीकै दरमा महँगोमा लिन्छन्। तर, दुवै पक्ष वहाल लिने र दिनेबीच गरिएको सम्झौतामा भने अति नै कम मूल्य देखाएर कर छली गर्ने गरेको, गौतमले बताए। यसले गर्दा महानगरको आयस्रोत मार्ने काम भएको छ। ‘सडकपेटीमा गरिएको व्यापारका कारण बजार क्षेत्र कुरुप देखिनुका साथै पैदल यात्रुलाई समस्या हुने गरेको छ,’ गौतमले भने, ‘अब चाँडै नै माइकिङ गरेर सूचना जारी गरेर सडकपेटी खाली गराउने छौं। गुद्री बजार छेउछाउका घरले तरकारी बेच्नेसँग सडकपेटी प्रयोग गरे वापत रकम लिने गरेको भेटिएको छ।’

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सडकपेटीमा सामान राखेर व्यापार व्यवसाय गर्दा ट्राफिक व्यवस्थापनमा धेरै समस्या आएको बताए। ‘सडकपेटी भनेको पैदल यात्रुका लागि हो। व्यापार व्यवासय गर्नका लागि होइन,’ ट्राफिक प्रमुख खड्काले भने, ‘सडकपेटीमा भएको व्यवसायलाई हटाउने काम महानगरपालिकाको हो। महानगरको काम भए पनि हामी दुवै संस्थाको समन्वयमा सडकपेटी खाली गराउँदै आएका छौं।’ व्यापार गर्नेहरुले बुझ्नु पर्ने कुरा सडकपेटी पैदल यात्रुले प्रयोग गर्नका लागि हो।

प्रकाशित: २० मंसिर २०७८ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App