८ वैशाख २०८१ शनिबार
अर्थ

डाइभर्सन बनाएपछि स्थानीयवासीलाई आवागमनमा सहज

बकैया नदीमा डाइभर्सन निर्माण भएपछि दैनिक हजारौँ यात्री आवागमन गर्न सहज भएको छ। जिल्लाको सदरमुकाम गौर नगरपालिका र ईशनाथ नगरपालिकाको बीचमा बहने बकैया नदीको पानीमा ह्युम पाइप राखेर दुवैतिरबाट बाटो निर्माण गरेपछि सदरमुकाम भन्दा पश्चिमका दर्जनौँ गाउँको मानिसलाई आवागमन गर्न सहज भएको छ।

बाँसको लचका बनाएर मोटरसाइकलसम्म यात्रा गर्न पाउने बाटो रहेको बकैया नदीमा चार चक्के पार गर्न खोलाको पानी भएर जोखिमपूर्वक निस्कनु पर्दथ्यो भने सडकको बाटो जाँदा कम्तीमा बिस किलोमिटर घुमाउरो बाटो तय गर्नुपर्ने बाध्यता रहेको अवस्थामा ईशनाथ नगरपालिकाले बकैया नदीमा डाइभर्सन बनाएको हो। गौर नगरपालिकाको टिकुलिया घाटमा डाइभर्सन निर्माण भएपछि दर्जनौँ गाउँका लाखाँै स्थानीयवासी खुसी भएका छन्।

पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पक्की पुल वर्षौँदेखि अलपत्र रहेको र निर्माणाधीन पक्की पुललाई हेर्दै जोखिमपूर्ण यात्रा गरिरहेको स्थानीयवासीलाई आवागमन गर्न केही सहज भएको छ। धुलो उडाउँदै भए पनि हिउँद भरि सर्वसाधारणले सहजतापूर्वक यात्रा गर्न पाउने भएपछि स्थानीय वासी खुसी हुनु स्वाभाविक भएको टिकुलियाका गौरका विक्रान्त विक्रम नेपालले बताएका छन्।

डाइभर्सन भएपछि पश्चिम रोतहटका स्थानीयवासीसितको सम्बन्ध सहज भएको र अबेर सबेर पनि आवागमन गर्न सकिने वातावरण निर्माण भएको नेपालको भनाइ छ। निर्माणाधीन पुल नबन्दासम्म नदी वारि र पारिका मानिसलाई बाढी नआउँदासम्मको स्थितीमा आवागमन गर्न धेरै सहज भएकोले ईशनाथ नगरपालिकाले गरेको काम प्रशंसनीय रहेको नेपालको भनाइ छ।

चार वर्ष पहिले नै निर्माण हुनुपर्ने पक्की पुल कहिले बन्ने भन्ने निश्चित नरहेको अवस्थामा सर्वसाधारणको समस्यालाई विचार गर्दै नगरपालिकाले डाइभर्सन निर्माण गरेको ईशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताएका छन्। हरेक वर्ष नगरपालिकाले लाखौँ रुपैया लगानी गरेर डाइभर्सन बनाउने गरेको तर बाढीले बगाएर लैजाने गरेको मेयर मेहताको भनाइ छ।  

ईशनाथ नगरपालिकाले डाइभर्सनमा लगानी गरेको भए पनि गौर, राजपुर र ईशनाथ नगरपालिकासहित भारतीय नागरिकलाई पनि आवागमन गर्न सहज भएको मेयर मेहताको दाबी रहेको छ।

अधुरो रहेको पक्की पुललाई सरकारले निर्माण पूरा गराउनु नै समस्याको स्थायी समाधान भएको स्थानीयको भनाइ छ। स्थानीयले पुल निर्माण गर्न समय समयमा विभिन्न निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि समस्या जहाँको तहीँ रहेको स्थानीयको भनाइ छ।

प्रकाशित: १४ मंसिर २०७८ १५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App