१५ चैत्र २०८० बिहीबार
अर्थ

चिलिमे–त्रिशूली ३बी हब प्रसारण लाइनको ६०% काम सकियो

रसुवा तथा नुवाकोटमा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको समग्र निर्माण ६० प्रतिशत सकिएको छ। प्रसारण लाइनको निर्माण आगामी साउनभित्र सक्ने गरी काम धमाधम भइरहेको छ।

आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशूली ३बी हब सबस्टेसन निर्माण भइरहेको छ। साथै, चिलिमे –त्रिसूली थ्री बी हब २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छन्।

दुवै सबस्टेसनको सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर,जिआइएसलगायतका महत्वपूर्ण उपकरणहरूको आपूर्ति ६५ प्रतिशत भइसकेको छ। प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। 

आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।  भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगा गिट्टी, बालुवा, टावरका सामान, पानी मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने,बाढीपहिरो,ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ। आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनिज र परामर्शदाता पावर ग्रिड, भारत हुन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीले निर्माणाधीन सबस्टेसन र प्रसारण लाइनको स्थलगत अनुगमन गरी साउनभित्र काम सक्न निर्देशन दिएको छ।

टोलीले आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी कुनै पनि बहानामा निर्माण कार्यमा ढिलाइ नगर्न र कामदार थपेर कामलाई तव्रता दिन आग्रह गरेको छ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील र उच्च प्राथमिकतामा रहेकाले पटक–पटक जनाएको प्रतिबद्धता अनुसार निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरे। ‘यसै प्रसारण लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्, यो वा त्यो बहाना बनाएर निर्माणमा ढिलाइ गर्ने छुट कसैलाई छैन,त्यसैले निर्माणलाई तीव्रता दिनुहोस् होइन भने हामी नसक्ने भयौं भन्दै हात उठाएर हिँड्नुहोस्,’ उनले भने, ‘नगद प्रवाहको समस्या समाधान गर्न, साइटमा हुने अवरोध हटाउन हाम्रोतर्फबाट सक्दो सहयोग गर्नेछौं, निर्माण ढिलाइ भएर उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्नेछ।’

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी,४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् चिलिमे हबमा जोडिने छ। प्रसारण लाइन अभावमा आयोजनाहरूको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्रसारण लाइन निर्माणको स्थलगत अनुगमनमा गएको थियो।

टोलीले प्रसारण लाइन निर्माणमा आमाछोदिङमो गाउँपालिका–१ हाकुका बासिन्दाले बाहिरबाट कामदार ल्याएर काम लगाउन नहुने भन्दै गर्दै आएको अवरोधलाई हटाउन छलफल गरेको थियो । गाउँपालिका अध्यक्ष बुचुङ तामाङ, वडाध्यक्ष निमादिण्डु तामाङ र स्थानीयबासीसँग हाकुमा छलफल गरिएको थियो।

प्रसारण लाइनको अभावमा रसुवाबासीको पनि लगानी रहेको आयोजनाको बिजुली खेर जाँदा यसबाट कसैले प्रतिफल नपाउने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले काममा अवरोध नगरी निर्माण कार्यमा सहभागी भई जतिसक्दो छिटो काम सक्न दिन आग्रह गरे। हाकु क्षेत्रमा १२ वटा टावर निर्माण गर्नुपर्ने छ। अहिले दुइटा टावरको निर्माण सुरु भएको छ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङ्गाओसँग २०७४को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैंकको सहुलितपूर्ण ऋण रहेको छ।

प्रकाशित: १३ मंसिर २०७८ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App