६ वैशाख २०८१ बिहीबार
अर्थ

कुहिरोले चार घण्टासम्म हवाई उडान ‘डिले’

विमानस्थल खुल्न ६ घण्टासम्म ढिला

पोखरा विमानस्थलमा विहीबार दिउँसो अवतरण गरेका जहाज। तस्बिरः उमेश पुन÷नागरिक

पोखरा विमानस्थल सामान्य अवस्थामा यतिबेला बिहान ६ बजेर २० मिनेटमा खुल्नुपर्ने हो। विमानस्थल खुल्नासाथ पोखरा–जोमसोम रुटमा उडान सुरु भईहाल्थे। त्यसपछि सवा ८ बजेतिर काठमाडौंका लागि उडान सुरु हुन्थ्यो। तर, पछिल्लो केहीदिनदेखि विमानस्थल खुल्ने समय झन्डै ६ घण्टासम्म ढिला हुने गरेको छ।  

हुस्सु र कुहिरोले गर्दा ढिलागरि विमानस्थल खुल्दा उडानमा ढिला हुने र त्यसको मार यात्रुले खेप्नुपरेको छ। यात्रुले त समयमा उड्न पाएका छैनन नै विमानस्थलले पनि व्यवस्थापनमा सकस खेप्नुपरेको छ। त्यत्तिमात्र नभई हवाई कम्पनिले पनि खप्की खेप्नुपरेको छ। तोकिएको बेलामा उडान नहुँदा विमानस्थलमा यात्रु चाप बढ्दै जाँदा सास्ती हुने गरेको विमानस्थलले बताएको छ।  

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदी भन्छन, ‘हुस्सु र कुहिरोले गर्दा केहीदिनदेखि हवाई उडानमा चूनौती थपिएको छ। बेलामा उडान नहुुँदा यात्रुले त दुख पाएका छन् नै व्यवस्थापन गर्न हवाई कम्पनि र विमानस्थललाई नै अप्ठेरो परेको छ।’ उनका अनुसार कुहिरोले गर्दा तीनदिनदेखि पोखरा–जोमसोम उडान अवरुद्ध भएका छन्। मंगलबार पोखरा–जोमसोमका तीनवटा उडान हुन सकेनन्। त्यस्तै काठमाडौंका उडान पनि रोकिएका थिए। बुधबार र विहीबार त पोखरा–जोमसोम कुनैपनि उडान भएनन्। फाट्टफुट्ट पोखरा–काठमाडौंका उडान पनि अवरुद्ध हुने गरेका छन्।  

‘केहीदिनदेखि पोखराको आकाशमा बाक्लो कुहिरो लागेको छ। कुहिरोले गर्दा सबैभन्दा बढी मार हवाई उडानमा भएको छ,’ उनले भने, ‘तोकिएको समयमा कुनैपनि उडान हुन सकेका छैनन।’ सुवेदीका अनुसार विमानस्थल खुल्ने समय बिहान ६ बजेर २० मिनेट हो। अन्तिम समय बेलुकी ५ बजेर १८ मिनेट हो। तोकिएको समय भन्दा अघि वा पछि उडान हुँदैन। तर, अहिले ढिलागरि विमानस्थल खुल्दा अधिक उडान चारघण्टासम्म ढिला हुने गरेका छन्। ‘दिनदिनै हवाई उडानमा बाधा उत्पन्न भएको छ। विमानस्थल १२ बजेपछि मात्र खुल्न थालेको छ। यसले गर्दा बिहानीपखका उडानका यात्रुले लामो समय पर्खनुपरेको छ,’ उनले भने, ‘जोमसोमका त उडान नै रद्द भएका छन्।’  

पोखराबाट हवाई उडान संचालन हुन कम्तिमा ५ हजार मिटर भिजिविलिटी आवश्यक पर्छ। तर, कुहिरोले गर्दा भिजिविलिटी एकहजार मिटरसम्म झर्ने गरेको छ। बुधबार बिहानको भिजिविलिटी त एकसय मिटरसम्म ओर्लेको थियो। ‘पछिल्लो समय कुनैपनि दिन कुनै उडान पनि तोकिएको समयमा भएका छैनन्। त्यसले गर्दा व्यवथापन चुनौति छ,’ उनले भने, ‘सबैजसो उडान कम्तिमा चारघण्टासम्म ढिला भएका छन्।’  

उनका अनुसार ढिलागरि उडान हुँदा विमानस्थलमा चुनौती थपिन्छ। तोकिएको उडानमा यात्रु उड्न नपाउँदा एकातिर विमानस्थलमा यात्रुको चाप बढ्दै जान्छ भने अर्काेतिर एकैपटक जहाजको आउजाउ बढ्दा विमानस्थलको पार्किङमा समेत अभाव हुुन्छ। पोखराको यो विमानस्थलसँग ठुला र सानागरि सातवटा जहाज पार्किङ गर्न मिल्छ।  

‘विमानस्थल खुलेपछि बिहानैदेखि रोकिएका उडान एकैपटक सुरु हुन्छन। एकैपटक जहाज आउँदा छोटो समयमा चाप पर्छ। यात्रु व्यस्थापन र जहाज व्यवस्थापनमा हम्मेहम्मे हुने गरेको छ,’ उनले भने, ‘विमानस्थल खुल्नु भन्दा अघिका सबै उडान एकैपटक हुँदा यहाँ अप्ठेरो पर्छ।’ ढिलागरि उडान सुरु हुँदा कुन उडान भन्ने नै अन्योल हुने गरेको समेत सुवेदीले बताए।  

पोखराबाट काठमाडौं मात्र नभई भरतपुर, भैरहवा, नेपालगञ्ज र सिमराका उडान पनि तोकिएको समयमा हुन सकेका छैनन। अहिले पोखराको यो विमानस्थलले दिनमा एकहजार यात्रुलाई एकतर्फि सेवा दिईरहेको छ। विमानस्थलसँग एकपटकमा सजिलोगरि २५० जना यात्रु अट्ने हल भएपनि उडान रोकिँदा यात्रु चाँपले गर्दा ठाउँ अभाव हुने गरेको छ। ‘सजिलो हिसाबले २ सय ५० जनाको चाप धान्ने हो। तर, तोकिएको समयमा उडान नभएर रोकिँदा चारगुणा बढी यात्रु चाप खेप्नुपरेको छ,’ उनले भने।  

अहिले पोखराबाट जोमसोम, काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्ज र सिमरासम्म नियमित उडान हुन्छन। दिनमा अहिले झन्डै ३० वटाको दरले उडान भईरहेको छ। सहज अवस्थामा ११ घण्टामा व्यवस्थापन हुने ती यी सबै उडान अहिले पाँचघण्टा भित्र गर्नुपर्दा चुनौती थपिएको उनले बताए। कुनैदिन त पोखरा खुलेपनि काठमाडौं विमानस्थल नखुल्दा झनै अप्ठेरो पर्ने उनले सुनाए।  

हवाई कम्पनिका पदाधिकारी पनि कुहिरोको अवरोधले यात्रु र उडान व्यवस्थापमा हैरानी भएको बताउँछन्। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन्, ‘बिहान सबा ८ बजे हुने उडान दिउँसो एकबजेतिर हुने गरेको छ। पाँचघण्टासम्म ढिला हुँदा यात्रुलाई हैरानी छ, हामीलाई पनि अप्ठेरो छ।’ उडान समय सुनिश्चित नहुँदा कतिपय यात्रुलाई समस्या हुने गरेको उनले बताए। ‘पाँचघण्टामा त गाडीमै पनि काठमाडौं पुगिन्छ। तर यात्रुले टिकट रद्द गर्न मान्दैनन । यात्रुले कुरेरै बसेका हुन्छन,’ उनले भने, ‘स्थलमार्गको समस्याले पनि यात्रुले जहाज कुर्छन।’  

उनका अनुसार अहिलेका हवाई यात्रु अधिकांश नेपाली, केही भारतीय र आक्कलझुक्कल विदेशी छन्। ‘अन्तिमतिरका उडान मर्ज हुने र कतिपय त रद्द हुने गरेका छन। यात्रुलाई मात्र नभई विमान कम्पनिलाई पनि तनाव हुने गरेको छ। कतिबेला विमानस्थल खुल्छ भनेर यात्रुलाई भन्न सकिन्न। यात्रु अत्तालिएका हुन्छन,’ उनले भने। यस्तो अवस्था माघ र फागुनतिरै आउने गरेकोमा अहिले मंसिर सुरुमै अप्ठेरो पारेको उनले बताए। ‘एकाएक भिजिविलिटी घटेको छ,’ उनले भने, ‘उडान गर्न समस्या छैन। रात्री उडान नहुँदा अप्ठेरो छ।’

जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसमविद मीनकुमार अर्याल पोखरामा पछिल्लो समय कुहिरोले अप्ठेरो पार्न थालेको बताउँछन्। ‘केहीवर्ष अघिसम्म पोखरामा कुहिरोको मार यत्तिसारो हुँदैनथ्यो। तर, पछिल्लो समय कुहिरो र हुस्सुले दुख दिन थालेको छ,’ उनले भने। उनका अनुसार पश्चिमी वायुको प्रभाव फितलो हुँदा अहिलेको अवस्था आएको हो। ‘पश्चिमी वायुको प्रभाव बलियो भएको भए पानी पर्दथ्यो र प्रदुषण घट्थ्यो । तर, पश्चिमी वायु कमजोर छ । हावाको गति कमजोर हुँदा बादल स्थीर रहेको।’  

मौसममा स्थानीय प्रणालि विकास नहुँदा पनि समस्या भएको उनले बताए। उनका अनुसार अहिले पोखराको समस्या बाहिरबाट आएको वायुमण्डलको हो। हावाको गति कम हुँदा बादल स्थीर रहन सकेको उनले बताए। ‘एकातिरबाट अर्काेतिर बादल सर्न सकेको छैन। त्यसले गर्दा भिजिविलिटी घट्न सकेको छैन,’ अर्यालले भने, ‘कुहिरो हट्न पश्चिमी वायुको प्रभाव बलियो हुनुपर्छ। पानी परेको खण्डमा यो घट्न सक्छ।’ हल्का वर्षा पनि हुनसक्ने सम्भावना रहिरहे पनि हावा लागेमा छिटो गरि बादल फाट्ने उनले बताए।

प्रकाशित: ९ मंसिर २०७८ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App