७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटन प्रवर्धन: अब भारतसँगै बंगलादेश र श्रीलंकाको पालो

बंगलादेशको ढाकामा भएको पर्यटन सेल्स मिसनमा सहभागि नेपाल पर्यटन बोर्डका पदाधिकारी र बंगलादेशका व्यवसायी। तस्बिरः नागरिक

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्न अब छिमेकी सहित क्षेत्रीय मुलुकमा प्रवद्र्धन आवश्यक रहेको सरोकारवालाले बताएका छन्। अहिलेसम्म पर्यटन प्रवर्धनमा कम प्राथमिकतामा परेका मुलुकमा अब पर्यटनको सम्भावना बढेको भन्दै ती मुलुकलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनीहरुले बताए।  

अहिलेसम्म छिमेकी भारतमा मात्र प्रवर्धनका अधिकांश कार्यक्रम गरिरहेकोमा अब बंगलादेश र श्रीलंकालाई पनि प्रवद्र्धनमा समेट्नुपर्ने उनीहरुको भनाई छ। भारतसँगै बंगलादेश र श्रीलंकाबाट समेत पर्याप्त पाहुना नेपाल भित्रिने भएकोले ती मुलुकको प्रवद्र्धनमा जोड दिनुपर्ने उनीहरुले बताए। बंगलादेशको पर्यटन प्रवद्र्धनमासहभागि हुन गएका पर्यटन बोर्ड पोखराका निर्देशक काशीराज भण्डारी भन्छन, ‘अहिलेसम्म भारतमा मात्र प्रवद्र्धनका अधिक कार्यक्रम भएका थिए । तर, अब बंगलादेश र श्रीलंकालाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने हामीले प्रवद्र्धनको क्रममा बुझेका छौ।’

केहीदिन अघि पोखरामा बंगलादेशको टुर अपरेटरको समुह आएको थियो। त्यो समुहले यहाँका पर्यटन व्यवसायीसँग भेटघाट र छलफल गरेको थियो। पोखरा पछि काठमाडौंमा पनि बंगलादेशी टुर अपरेटर्सले पर्यटन व्यवसायीसँग भेटघाट गरेका थिए। त्यसपछि नेपाली टिम अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बंगलादेश पुगेको थियो । बंगलादेशको ढाकामा मंगलबार पर्यटन सेल्स मिसन संचालन भएको थियो।  

‘कोभिड–१९ को महामारी पछि केही खुकुलो हुदैं गएको अवस्थामा नजिकका र छिमेकी मुलुकमा अन्तर्राष्टिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बंगलादेशको ढाकामा पर्यटन सेल्स मिसन संचालन गरिएको हो,’ भण्डारीले भने, ‘बंगलादेशको सेल्स मिसनले हामीलाई उत्साही बनाएको छ।’ यसअघि बोर्डले श्रीलंकामा पनि प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो। बंगलादेश र श्रीलंका प्रवद्र्धनले पर्यटनमा आशावादी हुने ठाउँ देखिएको उनले बताए।  

‘बंगलादेश प्रवद्र्धनले हामीलाई नेपालमा बंगलादेशी पाहुना आगमन बढाउनेमा ढुक्क छौ,’ भण्डारीले भने, ‘किनकी बंगलादेशको पर्यटन क्षेत्रले आफैमा आकार लिएको छ। बंगलादेशी पाहुना नेपाल घुम्न जान उत्साही छन्।’ उनका अनुसार अहिले बंगलादेशी पाहुनालाई नेपाल भिœयाउने गरि विभिन्न दुईवटा विमान कम्पनिले उडान गरिरहेका छन्। अहिले सातामा चारवटा उडान भईरहेकोमा त्यो संख्या बढाउन पहल भईरहेको उनले बताए। ‘कोरोनाको संक्रमणले गर्दा केही मार परेको हो। नत्र बंगलादेशसँग नजिक भएकोले आउजाउ पनि सहज छ। त्यसबाहेक नेपालका गन्तव्य बंगलादेशी पाहुनाले निकै नै रुचाएका पनि छन,’ उनले भने।  

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार २०१७ मा नेपालमा २९ हजार ६० जना बंगलादेशका पर्यटक आएका थिए। त्यो संख्या २०१८ मा २६ हजार ३ सय ५ र २०१९ मा २५ हजार ८ सय ४९ थियो। कोरोना संक्रमण सुरु भएपछि २०२० मा बंगलादेशबाट ४ हजार ९ सय १७ जना पर्यटक नेपाल भित्रिएका थिए। गत अक्टोबरमा पनि झन्डै १५ सय बंगलादेशी पर्यटक नेपाल भित्रिएका छन्।  

कोरोना संक्रमण अब नबढ्ने हो भने अबको १–२ वर्षमा नेपाल पुग्ने बंगलादेशी पाहुनाको संख्या करिब एकलाख पुग्ने अपेक्षा रहेको उनले सुनाए। ‘बंगलादेशका नागरिकको आम्दानीको श्रोत बढ्नु, जनसंख्याको आकार ठुलो हुनु र घुम्न निस्कने पाहुनाको बाहुल्यता हुँदा नेपालले फाइदा लिन सक्ने देखिएको छ,’ उनले भने, ‘अवसरलाई उपयोग गर्न सकेमा नेपालको पर्यटनले बंगलादेशबाट लाभ लिन्छ।’

पर्यटन मन्त्रालयको तथ्यांक अनुसार हवाईमार्ग हूँदै नेपालमा सन् २०१८ मा १ लाख ९४ हजार ३२३ भारतीय पाहुना भित्रिएका थिए। त्यो संख्या २०१९ मा २ लाख ५४ हजार १५० र २०२० मा ४० हजार ३ सय ३६ थियो । त्यस्तै श्रीलंकाबाट पनि २०१८ मा ६९ हजार ६४० जना पाहुना आएका थिए। त्यो संख्या २०१९ मा ५५ हजार ८ सय ६९ र २०२० मा १३ हजार ३ सय २८ मा झरेको थियो।  

अहिलेसम्म नेपालले छिमेकी मुलुक भारतलाई मात्र पर्यटनमा बढी प्राथमिकता दिएको थियो। सहज आउजाउ र छिमेकी मुलुक भएकोले पनि भारतीय पाहुनाको नेपाल आउजाउ उत्तिकै बढी छ। तर, अब बंगलादेश र श्रीलंका जस्ता मुलुकलाई पनि प्रवद्र्धनमा उत्तिकै जोड्नुपर्ने जरुरी रहेको उनले बताए। ‘यसअघि बंगलादेशलाई हामीले उत्तिसारो सोच्न सकेका रहेनछौ। बंगलादेशमा यसअघि बजारीकरण कम भएको हुनसक्छ,’ उनले भने, ‘यसअघि कम प्राथमिकता राखेको हुनाले पनि पाहुना कम भएको हुनसक्छन्। तर बंगलादेशको पर्यटन बजारले ठुलो आकार लिएकोले अबको नजर बंगलादेशमा पनि हुनुपर्छ र दिइनेछ।’

उनका अनुसार बोर्डले यसअघि ढाका ट्राभल मार्टमा भाग लिँदै आएपनि भारतीय बजारमा जत्तिको आकारमा बंगलादेशमा प्रवद्र्धन हुन सकेको थिएन। ‘पर्यटनका लागि बंगलादेशमा गर्नुपर्ने काम अझै धेरै रहेछ भन्ने बुझियो। श्रीलंकाले पनि त्यही सिकाएको छ,’ उनले भने, ‘नेपालले अब क्षेत्रीय बजारलाई फोकस गर्ने बेला भएको छ। भारतसँगै बंगलादेश र श्रीलंकालाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्छ।’  

उनले बंगलादेशबाट पर्यटक भिœयाउन सक्ने हो भने नेपालको पूर्वी क्षेत्रले बढी लाभ पाउन सक्ने पनि बताए। त्यसबाहेक पोखरालाई रुचाइएको गन्तव्यको रुपमा बंगलादेशी पर्यटकको रहेको उनले सुनाए। छोटो समयको सिधा हवाई सेवा र निकट भविष्यमै ढाकादेखि भारतको जलपाईगुडी रेलवे स्टेशनसम्म सिधा रेल सेवाको सुरुवात हुने भएकाले स्थलमार्ग भएर नेपाल आउने बंगालदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको उनले सुनाए।  

पोखराका पर्यटन व्यवसायी पनि क्षेत्रीय मुलुकमा प्रवद्र्धन सुुरुवात गर्नुपर्ने बताउँछन्। प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका सदस्य रहेका व्यवसायी टिकाराम सापकोटा भन्छन्, ‘अहिलेसम्म जुन आकारमा यूरोपका मुलुकले प्राथमिकता पाए, त्यो अनुसार बंगलादेश र श्रीलंकाले महत्व नपाएकै हुन।’ भारत र चीनले यसअघि नै प्राथमिकता पाएकोमा अब क्षेत्रीय मुलुकलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए।  

‘यूरोपियन मुलुक, चीन, भारतमा जत्तिको प्राथमिकता हामीले बंगलादेश र श्रीलंकालाई नदिएकै हो,’ सापकोटाले भने, ‘अब बंगलादेश र श्रीलंकालाई पनि उत्तिकै महत्व दिनुपर्ने हुन्छ।’ उनका अनुसार श्रीलंका अधिक बुद्धिष्ट पर्यटक भएकोले धार्मिक पर्यटनको सम्भावना रहेको छ। त्यस्तै सम्भावना बंगलादेशबाट पनि रहेको उनले बताए।  

प्रकाशित: ८ मंसिर २०७८ ०९:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App