भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको एक सय करोड छिट्टै उपलब्ध हुने बताएका छन्।
धार्मिक भ्रमणका क्रममा जनकपुरधाम पुगेका उनले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाएका हुन्।
प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गरे। पूजाअर्चनाका लागि जानकी मन्दिर पुगेका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिएका थिए।
प्रकाशित: २ मंसिर २०७८ १३:४४ बिहीबार