८ वैशाख २०८१ शनिबार
अर्थ

तरकारीको भाउ छोइनसक्नु

दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि उपत्यकामा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ।

कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ६५ रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय ३० रूपैयाँ पुगेको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य दुई सय रूपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ।

कालीमाटीमा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर ८० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७१ रूपैयाँ किलोमा बिक्री भएको छ।

कालीमाटीको तुलनामा उपभोक्ताले खरिद गर्ने खुला बजारमा अझै महँगो छ। तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ। त्यसैगरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ।

तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्।

होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता छ। तरकारीको खरिदनै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको ढुंगेधारका तरकारी व्यापारी राम सिलवालले बताए। ‘कालीमाटीमा नै तरकारी महँगो छ,’उनले भने,‘थोरै मार्जिन राखेर बिक्री गर्दा पनि भाउ धेरै हुन्छ।’ उपभोक्ताले किन महँगो भनेर बारम्बार गर्ने प्रश्नको आँफूसँग जवाफ नभएको उनले बताए। ‘सबैले किन यतिधेरै महँगो भनेर सोध्नुहुन्छ,’सिलवालले भने,‘हामीले उत्पादन गर्ने होइन खरिदका आधारमा बिक्री गर्ने हो, के जवाफ दिनु!’

कालीमाटी फलफूल तथा तरकारी बजारका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनी अफ सिजन भएकाले तरकारीको भाउ महँगो भएको बताउँछन्।‘असोज, कात्तिकमा तरकारी कम उत्पादन भएकाले अफ सिजन हो,’ पुडासैनीले भने,‘उत्पादन कम भएपछि स्वतः मूल्य बढ्छ।’खुला बजारमा माग र आपूर्तिले मूल्य निर्धारण गर्ने भएकाले भाउ नियन्त्रण गर्न नसकिने सरकारी अधिकारी बताउँछन्। ‘उत्पादन वृद्धि हुँदासाथ स्वतः मूल्य घट्छ,’कार्यकारी निर्देशक पुडासैनीले भने,‘हामीले तरकारीको भाउ नियन्त्रण गर्न सक्दैनौं।’

बेमौसमी तरकारीको मूल्य बढेको व्यापारी बताउँछन्। उपत्यकामा स्वदेशी उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट पनि तरकारी आयात हुन्छ। भारतमा समेत तरकारी महँगो भएको व्यापारीको भनाइ छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भारतमा समेत तरकारीको भाउ बढेको बताउँछन्।‘स्वदेशी उत्पादन कम छ,’ घिमिरेले भने,‘भारतबाट आउने तरकारीको मूल्य पनि बढेको छ।’

उत्पादन कम भएको कारण महँगो भएको बताए पनि बजारमा धेरै तह भएकाले उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। किसानले उचित मूल्य नपाएको र उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यता रहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्। सरकारी अनुगमन फितलो भएको कारण पनि व्यवसायीले मनपरी मूल्य लिएको आरोप छ।

सर्वसाधारण ठगिँदा पनि नियमनकारी निकाय मौन रहेको उनको आरोप छ। ‘तरकारीको भाउ डेढ, दुई सय रूपैयाँ किलो पुग्दा पनि कुनै निकायले नियमन गरेको छैन,’ उनले भने, ‘सरकारी हेलचेक्रयाइँको फाइदा व्यापारीले लिएका छन्।’

बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग लामो समयदेखि नेतृत्वविहीन छ।विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएपछि उक्त पद रिक्त छ। विभागले दसैंमा बजार अनुगमनलाई तीव्रता दिए पनि अहिले सेलाएको छ।

उपत्यकामा काठमाडौं,ललितपुर,भक्तपुर,काभ्रे,धादिङ,मकवानपुरको दामनलगायत क्षेत्रबाट ताजा तरकारी आउँछ। स्थानीय उत्पादनले नपुग्ने तरकारी भारतबाट पनि आयात हुन्छ। उपत्यकामा कालिमाटी तरकारी बजार, टुकुचा,बल्खु, कुलेश्वर, बानेश्वर,बालाजु, लगनखेल लगायत  तरकारी बजार हुँदै खुद्रा बिक्रेतामार्फत उपभोक्तासम्म पुग्छ।

प्रकाशित: २४ कार्तिक २०७८ ०१:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App