१५ चैत्र २०८० बिहीबार
अर्थ

काम नभए ठेक्का तोड्ने चेतावनी

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा ठेकेदारले लापरवाही गरेपछि नेपाल विद्युत् प्राधिकरणले म्याद नथप्ने चेतावनी दिएको छ। पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।

सबस्टेसन निर्माणको ठेक्का चिनियाँ कम्पनी ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्सट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले पाएको थियो। काम सन्तोषजक नदेखिएपछि प्राधिकरणले कार्यसम्पादन सुधार्न चार महिनाको अल्टिमेटम दिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपाने लगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षणपछि चार महिनाभित्र काममा सुधार नभए ठेक्का तोड्ने चेतावनी दिएको हो। ‘करिब दुई वर्षअघिको तुलनामा निर्माणस्थलमा कामको प्रगति खासै देखिएको छैन, यस्तै अवस्था रहे ठेक्का तोड्नुको विकल्प छैन,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘अब चार महिना हेर्छाैं त्यसपछि पनि सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ।’ आयोजना निरीक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार भएकाले आगामी दिनमा कामको प्रगति हेर्न अनुरोध गरेका थिए।

ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टोली आएकाले अहिले काममा केही प्रगति देखिएको छ। खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौं उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरू गरिएको हो।

प्रकाशित: १६ कार्तिक २०७८ ०३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App