coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेमौसमी बाढीले आयोजनामा साढे १४ करोड क्षति

बेमौसमी बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनामा साढे १४ करोड बराबरको क्षति पुर्‍याएको छ। बाढीले आयोजनाका ७५ वटा प्यानल फुटाउनुका साथै करिव २ किलोमिटर सर्भिस रोड र केही ठाउँमा तटबन्ध भत्काएको छ।  

आयोजनाका सिनियर डिभिजन इन्जिनियर विदूर श्रेष्ठका अनुसार मेन इन्टेक नजिकै करिव १ सय मिटर अस्थायी तटबन्ध भत्काएर बाढी मुल नहरमा पसेपछि धेरै क्षति भएको हो। मूल नहर हुँदै पसेको बाढीले सबैभन्दा धेरै आयोजना अन्र्तगतका रानी, जमरा र कुलरीया शाखा नहरमा निर्माण भएका संरचनामा क्षति पुर्‍याएको छ। जमरा र रानी शाखा नहरको इन्टेक आसपासको सर्भिस रोड भत्केको छ। त्यहाँ बाढी इन्टेक भन्दा माथिबाट बगेको थियो।  

त्यसैगरी बाढीले लम्की विस्तार नहरमामा समेत क्षति पुर्‍याएको छ। आयोजनाका अनुसार लम्की विस्तार नहरमा बाढी पसेपछि बर्गदा साइफल नजिक दुई ठाउँमा करिव २५ मिटर लाइनिङ प्यानल फुटाएर लम्की चुहा नगरपालिकाको कौवापुरमा बस्ती डुबानमा पारेको थियो।

बाढीले भत्काएको संरचना। तस्बिर: योगेश/ नागरिक

जमरा शाखा नहरमा आएको बाढी ज्ञानी कुलो फुटेर बस्तीमा पसेको थियो भने रानी शाखा नहरको बाढीले धतुवा कुलो, नुक्लिपुर, मनिकापुर, बेलुवा, बौनिया, सातगाउँलेमा क्षति पुर्‍याएको आयोजनाले जनाएको छ। उता कुलरीया शाखा नहरमा आएको बाढीले बड्का कुलो, बोकुलहवा, सुविक जरही, धोबिनिया, भोक्सीमा क्षति पुर्‍याएको छ।

टीकापुर नगरपालिका–५ शाहीपुर नजिकै निर्माणाधिन तटबन्ध बाढीले भत्काएपछि नदी गाउँ पसेको थियो। शाहीपुरबाट गाउँ पसेको बाढीले हुलाकी राजमार्गको सत्ती नजिकै ३०० मिटर कालोपत्रे सडक भत्काएको छ। साविक धनसिँहपुर गाविसका अधिकांश गाउँमा बालीनाली नष्ट पारेको छ। बाढीले मोहना नदीको तटबन्धसँगै निर्माणाधिन बक्स कल्भर्ट भत्काईदिएको छ।  

आयोजनाले क्षति भएको संरचना पुर्ननिर्माण र थप नदी नियन्त्रणका लागि ७० करोड रुपैयाँ माग गरेको सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले जानकारी दिए। उनले भुराखानी क्षेत्रमा कर्णाली नदीले अत्याधिक कटान गरेकाले तत्काल तटबन्ध गर्नुपर्ने बताए।

आयोजनाले कर्णाली नदीमा चिसापानीदेखी दक्षिणतर्फ ४२ किलोमिटर तटबन्ध गर्ने लक्ष्य लिएको छ। उसले हालसम्म ३५ किलोमिटरमा तटबन्ध गरिसकेको सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले जानकारी दिए। उनले थप तटबन्ध निर्माणको काम तीब्र गतीमा अघि बढाईने बताए। ‘नदी नियन्त्रण पहिलो आवश्यकता भएको छ’ उनले भने–‘समयमा नदी नियन्त्रण नभए धेरै बस्ती जोखिममा पर्ने देखिन्छ।’

आयोजनाले बाढीले पुर्‍याएको क्षति र बाढी आउनुको कारण सहितको प्रतिवेदन माथिल्लो निकायमा बुझाएको छ। उसले कर्णाली नदीको पश्चिमतर्फको भँगालोबाट नदीजन्य पदार्थको अत्याधिक दोहनले नदीको बहाव त्यसतर्फ मोडिएको उल्लेख गरेको छ। त्यस्तै नदीको बीचमा स–साना टापु निर्माण भई नदीको पानी बग्ने क्षेत्र साँघुरो भएकाले समेत कर्णाली नदीको बहाव बस्तीमा पसेको आयोजनाले प्रतिवेदनमा लेखेको छ। कर्णाली नदीमा यसवर्षको बाढीमा १७ हजार क्यूसेक पानी मापन गरिएको छ। यसअघि २०४० सालमा २१ हजार ७०० क्यूसेक पानी मापन गरिएको थियो। 

प्रकाशित: ९ कार्तिक २०७८ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App