coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रियुगा शान्तिधामलाई पोखरेल परिवारद्वारा भवन

पोखरेल परिवारले शान्तिधामलाई निर्माण गरिदिएको दुईतले पक्की भवन। तस्बिर: महेश्वर/ नागरिक

यहाँका एक समाजसेवीले स्वर्गीय आमाबाउको स्मरणमा गाईघाटस्थित ‘त्रियुगा वहुधार्मिक शान्तिधाम’लाई दुईतले पक्की भवन बनाई दिएका छन्। त्रियुगा नगरपालिका १२ बसपार्क पूर्वमा अवस्थित शान्तिधामलाई गाईघाटका दिव्यराज पोखरेल परिवारले भवन निर्माण गरिदिएको हो।  

प्रातःस्मरणीय बाबु मायानाथ र आमा यशोदादेवीको स्मृतिमा ‘मायानाथ–यशोदादेवी सत्सङ भवन’ निर्माण गरिदिएको पोखरेलले बताए। शान्तिधाम परिसरको पूर्वतर्फको खाली जमिनमा निर्मित ६ कोठे भवन निर्माणमा झण्डै ३० लाख रुपैंया खर्च भएको छोरा राजेश पोखरेलले बताए। नवनिर्मित भवन अघिल्लो दिन एक कार्यक्रमका बीच पोखरेलले शान्तिधामलाई हस्तान्तरण गरे।  

शान्तिधाम समितिका अध्यक्ष पण्डित गिरीराज खतिवडालाई हस्तान्तरण गर्दै पोखरेल परिवारले भवनलाई धार्मिक गतिबिधिमा उपयोग गर्न आग्रह गरेको छ। बाउआमाको आत्म शान्तिका लागि पितृ तर्पणस्वरुप भवन बनाईदिएको बताउने उनले यसलाई धार्मिक गतिबिधि र गुरुकुल सञ्चालन गर्न सहयोग पुगोस् भन्ने अपेक्षा गरेको बताए। दुईतले भवनको भुईतला र पहिलोतलामा ३/३ वटा कोठा छन्।  

त्रियुगा नदी उकासको उक्त ठाउँ ६ वर्षअघिसम्म निर्जन बगर र चिहानघारीे थियो। पण्डित खतिवडा र डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहको अगुवाईमा बहुधार्मिक शान्तिधाम निर्माण भएपछि सो ठाउँ सुन्दर र हराभरा हुँदै गएको छ। शान्तिधाम परिसरमा बिभिन्न जातका रुख विरुवा रोपन, पोखरी निर्माण, बुद्ध मुर्ति र शिवलिङ प्रतिस्थापन गरिएपछि सो क्षेत्र हराभरा र आकर्षक धार्मिक गन्तव्य बन्दै गएको छ।  

सहायक वन अधिकृत साहको दैनिकी धेरैजसो त्यही बित्ने गरेको छ। विहान ५ बजेदेखि ९ः३० सम्म साह धामकै रेखदेख र स्याहार सुसारमा हुन्छन्। १० कार्यालय गएर ४ बजे फर्केपछिको बाँकी समय राति ९ बजेसम्म पनि उनी त्यही घोटिइरहेका हुन्छन्। आयस्रोत अभावमा रहेको शान्तिधामलाई जिल्लाका बिभिन्न सामुदायिक वन समूहह्ररु, डिभिजन वन, स्थानीयतहहरु र अन्य इच्छुक चन्दादाताहरुबाट सहयोग जुटाउँदै धामको विकासमा योगदान गर्नुमा साहको अमूल्य योगदान रहमेको खतिवडा बताउँछन्।  

‘सुरुमा हामीले खाली हात धाम निर्माण गर्न सुरु गरेका थियौँ, उजाड जमिनबाहेक केही थिएन’ सुरु्रवाती कठिनाई सम्झदै खतिवडा भन्छन् ‘अहिले यत्तिको हराभरा र सुन्दर बनाउन हामीले जति संघर्ष गर्‍यौँ, त्यसमा साहको योगदान सबभन्दा बढी छ।’ अहिलेको हराभरा शान्तिधाम बनाउन साहले धेरै किसिमको सहयोग जुटाएको खतिवडाको भनाई छ।

साहले आत्म शान्तिका लागि शान्तिधाममा खट्दै आएको बताए। गाईघाटको एउटा नमूना र हेर्न र घुम्नलायक धार्मिक गन्तव्य बनाउने उदेश्यले सुरुवातदेखि आफु धामको विकासमा लागी पर्दै आएको साहले बताए। जागीरको उत्तराद्र्धसम्म शान्तिधामलाई योगदान गर्ने उनको प्रतिबद्धता छ। डिभिजन वन कार्यालयमा कार्यरत रहेसम्म कार्यालयभन्दा बाँकी समयलाई धामकै श्रीबृद्धिमा लगाउने योजना बनाएका उनी दुईवर्षअघि सरुवा भए पनि पुनः थमौति गरेर धामको सेवा गर्दै आएका छन्।

प्रकाशित: ५ कार्तिक २०७८ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App