६ वैशाख २०८१ बिहीबार
अर्थ

लक्ष्यभन्दा ४६ प्रतिशत बढी राजस्व

बाराको सिमरास्थित आन्तरिक राजस्व कार्यालय। तस्बिरः नागरिक

कोरोना महामारीबीच सरकारले राजस्व उठाउन दिएको लक्ष्य कतिपय आन्तरिक राजस्व र भन्सार कार्यालयहरूले भेट्टाउन नसकेका बेला आन्तरिक राजस्व कार्यालय सिमराले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ।

चालु आर्थिक वर्षको साउन र भदौका लागि दिएको लक्ष्यभन्दा ४६ प्रतिशत बढी राजस्व संकलन गरिएको उक्त कार्यालयले जनाएको छ।

साउन र भदौ दुई महिनामा एक अर्ब १३ करोड ८७ लाख कर संकलन गर्ने लक्ष्य पाएकोमा एक अर्ब ६७ करोड नौ लाख संकलन गरेको उक्त कार्यालयका प्रमुख कर अधिकृत नारायणप्रसाद भण्डारीले बताएका छन्।

संकलित कर लक्ष्यभन्दा ४६ प्रतिशतले बढी भएको उनको भनाइ छ। ३० हजारको संख्यामा रहेका करदाताबाट दुई महिनामा आयकर २४ करोड ६२ लाख, घर बहाल कर एक करोड ५२ लाख, ब्याजदर ८१ लाख, मूल्य अभिवृद्धिकर ३२ करोड ७० लाख र अन्तःशुल्क ८३ करोड २४ लाख गरी एक अर्ब ६७ करोड राजस्व संकलन गरिएको भण्डारीले बताए।

कार्यालयले संकलन गरेको राजस्वमा सबैभन्दा बढी सूर्य नेपाल ८३ प्रतिशत योगदान गरेको प्रमुख कर अधिकृत भण्डारीले बताए।

३१ करोडभन्दा बढी आयकर, मूल्य अभिवृद्धिकर नतिर्ने फर्म सञ्चालकबाट बक्यौता उठाउन ताकेता गरिएको उनले बताए। ११ सय ३४ फर्मका सञ्चालकलाई १५ करोड ८३ लाख आयकर बुझाउन ताकेता गरिएको छ भने २८ सय २ फर्मका सञ्चालकबाट १५ करोड ८३ लाख मूल्य अभिवृद्धिकर उठाउन सुरु गरिएको भण्डारीले बताए।

देशकै ठूलो औद्योगिक क्षेत्रमध्ये एक रहेको वीरगन्ज–पथलैया औद्योगिक क्षेत्रका सूर्य नेपाल, डाबर नेपाल, जगदम्बा स्टिल, लगायत उद्योगले आन्तरिक राजस्व कार्यालय सिमरामै अन्तःशुल्क, आयकर, मूल्य अभिवृद्धिकर र घर बहार कर तिर्ने गरेका छन्। 

प्रकाशित: ४ कार्तिक २०७८ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App