८ वैशाख २०८१ शनिबार
अर्थ

पुँजी बजारबाट अघिल्लो वर्षभन्दा १३ गुणा बढी कर

पुँजी बजारमा सर्वसाधारणको आकर्षण बढ्दै जाँदा सरकार पनि ठूलो रकम बराबरको कर असुल गर्न सफल भएको छ।  

आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा सेयर कारोबारबाट लगानीकर्ताले करिब १९ अर्ब ६० करोड रूपैयाँ नाफा आर्जन गरेका थिए।  

तीन दशकको पुँजी बजारको यात्रामा सरकारले यति धेरै कर विगतमा कहिल्यै संकलन गरेको थिएन। सेयर लगानीकर्ता छोटेलाल रौनियार सेयरप्रति सर्वसाधारणको आकर्षण बढेको र जसबाट राम्रो कर संकलन भइरहेको बेला नियामक निकायको व्यवहार भने पुँजी बजार विस्तारका लागि सहयोगी नभएको बताउँछन्।  

‘नेपालमा पुँजी बजारको विस्तार हुने सम्भावना राम्रो छ,’ उनले भने, ‘छिमेकी भारत लगायत देशमा भइरहेको पुँजी बजारको विकासले पनि त्यो सम्भावना देखाउँछ।’

गत आर्थिक वर्षमा लगानीकर्ताले पुँजी बजारबाट करिब तीन खर्ब रूपैयाँ नाफा आर्जन गरेको पाइएको छ। सोही वर्ष सेयर कारोबारको नाफामा व्यक्तिगत लगानीकर्ताले नाफाको पाँच प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो।  

गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताले औसत पाँच प्रतिशत रकम पुँजीगत लाभकरका रूपमा सरकारलाई तिरेका छन्। यसअन्तर्गत लगानीकर्ताले करिब १४ अर्ब १० करोड रूपैयाँ पुँजीगत लाभकर तिरेका हुन्। 

सोही वर्ष अग्रिम कर कट्टीबापत एक अर्ब ४० करोड रूपैयाँ कर संकलन भएको छ। पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापत गरी गत आर्थिक वर्षमा १५ अर्ब ५४ करोड रूपैयाँ हाराहारी कर संकलन भएको पाइन्छ।  

यस्तै, सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य पनि एक वर्षमा दोब्बरभन्दा धेरैले वृद्धि भएको छ। २०७७ साउनमा कुल बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब रूपैयाँ भएकोमा केही दिनअघिसम्म बजार पुँजीकरण ४० खर्ब रूपैयाँभन्दा माथि थियो।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गर्ने नीति ल्याउनुअघि पुँजी बजारको पुँजीकरण ४४ खर्ब रूपैयाँसम्म पुगेको थियो।  

तर मौद्रिक नीतिका असरका कारण केही दिनयता सेयर बजार घट्दो क्रममा छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा होस् भन्ने मनसायले प्रतिव्यक्ति÷परिवार एक वित्तीय संस्थाबाट चार करोड रूपैयाँ र सबै वित्तीय संस्थाबाट १२ करोड रूपैयाँ भन्दा बढी सेयर कर्जा नपाइने व्यवस्था गरेको छ।  

कसैले तोकिएको भन्दा बढी कर्जा लिएको भए एक वर्षमा तोकिएको सीमाभित्र आउने गरी मिलान गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ। हाल बैंक तथा वित्तीय संस्थाले करिब एक खर्ब रूपैयाँ सेयर कर्जामा लगानी गरेका छन्। सेयर कर्जा लिनेहरू अधिकांश ठूला लगानीकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ।  

गएको आर्थिक वर्षमा मात्र थप ६ लाख ३१ हजार बढी लगानीकर्ता दोस्रो बजारमा थपिएका छन्। २०७७ असारमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे दुई लाख थियो। यससँगै हाल दोस्रो बजारमा कुल लगानीकर्ताको संख्या नौ लाख पुगिसकेको छ।  

गएको एक वर्षमा बजारमा थपिएकामध्ये सबै जसोले अनलाइन सेयर कारोबारका लागि ‘लगइन’ र ‘युजरनेम’ लिएको देखिन्छ। यस अनुसार गत असारसम्म अनलाइन कारोबारका लागि ‘लगइन’ लिने लगानीकर्ताको संख्या करिब आठ लाख छ। २०७७ असारमा यस्तो संख्या ३५ हजार मात्रै थियो।  

सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म डिम्याट (सेयर अभौतिकिकीकरण खाता) खाता खोल्नेको संख्या ४५ लाख ३० हजार दुई सय चार पुगेको छ। २०७७ असारमा डिम्याट खाताको संख्या १७ लाख २४ हजार थियो। त्यस्तै हाल ३४ लाखले मेरो सेयर प्रयोग गर्छन्।  

आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारमा १४ खर्ब ६० अर्ब रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षमा दोस्रो बजारमा कुल एक खर्ब ५५ अर्ब ७६ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

दुई महिनामा साढे ६ अर्ब कर

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सेयर बजारबाट करिब साढे ६ अर्ब रूपैयाँ कर उठेको छ। यो रकम साउन र भदौमा पुँजीगत लाभकर र अग्रिम कर कट्टीमार्फत सरकारलाई प्राप्त भएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साउनमा तीन अर्ब ४७ करोड ६७ लाख र भदौमा दुई अर्ब ६३ करोड ६२ लाख रूपैयाँ कर संकलन भएको हो।  

गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो आँकडा पाँच अर्ब ६० करोड रूपैयाँले बढी हो। गत आवको यही अवधिमा सेयर लगानीकर्ताले करिब ७१ करोड ४९ लाख रूपैयाँ कर बुझाएका थिए। सरकारले चालु आवको बजेटमार्फत सरकारले एक वर्षभन्दा कम र बढी अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताका लागि फरकफरक करको दर तोकेको छ ।

एक वर्षभन्दा बढी अवधिमा सेयर बिक्री गर्ने लगानीकर्ताले नाफाको पाँच प्रतिशत र कम अवधिमा बिक्री गर्नेले नाफाको साढे सात प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ। गत आवसम्म सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको पाँच प्रतिशत मात्रै रकम पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो।  

संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपथ्र्यो। त्यस्तै, सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले विगतदेखि नै कर तिर्नु पर्दैन। यो नियम जस्ताको तस्तै छ। गत आवमा लगानीकर्ताबाट करिब १४ अर्ब १४ करोड ७७ लाख पुँजीगत लाभकर र अग्रिम कर कट्टीबापत एक अर्ब ३९ करोड ५६ लाख रूपैयाँ कर संकलन भएको थियो। यो हालसम्मकै सर्वाधिक हो।  

तीन महिनामा तीन खर्बले घट्यो सम्पत्ति

चालु आवको तीन महिनामा सेयर लगानीकर्ताको सम्पत्तिको मूल्य करिब दुई खर्ब ८३ अर्ब रूपैयाँले घटेको छ। अधिकांश दिन नेप्से घटेकाले लगानीकर्ताको सम्पत्ति घटेको हो। सूचीकृत सेयर संख्यालाई तिनको पछिल्लो बजार मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण निकाल्ने गरिन्छ।  

बजार पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि वृद्धि हुन्छ। हाल नेप्से २५७१.६६ (बुधबार) हुँदा लगानीकर्ताको सम्पत्ति करिब ३८ खर्ब रूपैयाँ बराबर पुगेको छ। गत असारको तुलनामा बजार पुँजीकरण करिब साढे दुई खर्ब रूपैयाँले कमी हो।  

गत असार मसान्तमा बजार पुँजीकरण ४० खर्ब १० अर्ब रूपैयाँ पुगेको थियो। त्यस्तै भदौ पहिलो साता बजार पुँजीकरण सर्वाधिक ४४ खर्ब ६८ अर्ब रूपैयाँ पुगेको थियो। त्योसँग तुलना गर्ने हो भने लगानीकर्ताको सम्पत्तिको मूल्य साढे सात खर्ब रूपैयाँभन्दा धेरैले घटिसकेको छ।

प्रकाशित: ४ कार्तिक २०७८ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App