१६ चैत्र २०८० शुक्रबार
अर्थ

सूचनामा ‘स्मार्ट’ बन्न नसक्दा किसानलाई क्षति

किसानले स्मार्ट फोन बोके, तर मौसमी सूचनामा स्मार्ट हुन सकेनन्

सूचना दिनेले पनि स्मार्ट तरिकाले दिन नसक्दा क्षति भयो

नेपालगञ्ज क्षेत्रमा बाढीमा ढुबेको खेतको धान । तस्बिरः अर्जुन ओली/नागरिक

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज २९ गते बुलेटिन जारी गर्दै देशका धेरै ठाउँमा वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना औंल्याएको थियो। त्यसबाहेक त्यही बुलेटिनमार्फत लामो यात्रा गर्दा र कृषि कर्ममा पनि सजग हुनु भन्दै किसानलाई सचेत गराएको थियो।  

तर, दसैंको चटारोमा रहेका किसानले महाशाखाको बुलेटिनलाई खासै वास्ता गरेनन्। दसैं अघि नै काटेको धान पनि थन्क्याउनेतिर लागेनन, बरु, दसैंको भोलिपल्ट तराईका धेरै ठाउँमा किसानले धमाधम धान काट्नतिर लागे। केहीदिनदेखि खुलेको मौसमले पनि किसानलाई यो बेला भीषण वर्षा होला भन्ने अनुमान पनि गर्न दिएन।  

तर, वर्षभरिका लागि खाद्यान्न थुपार्ने चटारोमा रहेका किसानको धान एकाएकको वर्षाले खेतमै डुबाइदियो । काटेर भित्र्याउने तयारीमा रहेको कतिपय ठाउँको धान त बाढीको भेलले नै बगायो।वर्षभरि दुख गरेर पाकेको धान भकारीमा भित्र्याउने बेला बाढीमा बग्दा किसान यतिबेला मारमा छन्। 

महाशाखाले वर्षाको सम्भावना रहेकोले कृषि कर्म गर्दा सचेत हुनु भन्दै जानकारी गराएपनि धेरै किसानले यो बारे हेक्कै राखेनन्। त्यसको मारमा अहिले किसान छन्। महाशाखाका मौसमविद् राजु प्रधानांग भन्छन, ‘हामीले असोज २९ गते विशेष बुलेटिन निकालेर कृषि कर्म र लामो यात्रामा जाँदा ख्याल गर्नु भनेका थियौ। तर, त्यसबारेमा किसानले हेक्का नराखेको हुनसक्छ। दसैंको चटारोमा रहेकोले पनि धेरैको ध्यान खेतीमा भन्दा चाँडबाँडमा रमाउनेमा पुग्यो। त्यसले गर्दा अहिले मार खेप्नुपर्ने अवस्था आयो।’

प्रधानांगका अनुसार असोज ३१ मा जारी गरिएको अर्काे बुलेटिनमा पनि किसानलाई सचेत गराईएको हो। तरपनि किसानले काटेको धान जोगाउने भन्दा थप काट्नतिर लागे। ‘हामीले बुलेटिनमा त लेख्यौ नै कृषिका आधिकारीक निकायलाई पनि जानकारी दिएका हौ। तरपनि किसानले यसबारेमा थाहा नपाएकैले क्षति भोगेको हुनुपर्छ,’ प्रधानांगले भने, ‘किसानले हेक्का राखेको भए सायद यो खालको क्षति नहुन पनि सक्थ्यो ।’

प्रधानांगका विचारमा मौसमबारे जानकारी दिँदा अब झन बढी सचेत हुनुपर्ने अहिलेको क्षतिबाट सिकाइ भएको छ। ‘वर्षा, बाढी, हिमपात र पहिरो मात्र नभनि अब अलि फराकिलो भएर सूचना जारी गर्ने बेला भएको अहिलेको क्षतिबाट सिक्नुपर्छ,’ उनले भने, ‘मौसमको प्रभाव बाढिपहिरो र हिमपातमा मात्र होईन, कृषिकर्ममा पनि उत्तिकै पर्छ । मौसम अनुसारको क्षेत्रलाई बढी प्राथमिकतामा राखेर सूचना जारी गर्ने बेला भएको छ।’

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय अधिक किसानसम्म स्मार्ट फोनको पहुँच छ। अझ सामाजिक सञ्जालका कारण त सानोतिनो सूचना पनि अहिले अधिक नागरिकसम्म छोटो समयमै पुग्छ। त्यसैगरि महाशाखाको त्यो बुलेटिनको जानकारी पनि किसानसम्म नपुगेको भने होईन। तर, किसानले यसलाई वेवास्ता गरेको हुनसक्ने विज्ञ बताउँछन्।

नेपाल कृषि अनुसन्धान परिषद्की वरिष्ठ वैज्ञानिक तथा सूचना अधिकारी डा. सुधा सापकोटा भन्छिन, ‘अधिक मान्छेका हातहातमा स्मार्ट फोनको पहुँच पुगेको छ । किसानको हातसम्म पनि स्मार्ट फोनको पहुँच पुगेको छ, तर, किसान आफै भने स्मार्ट हुन नसकेको अहिले देखिएको छ ।’ किसान पनि अब स्मार्ट फोन जस्तै स्मार्ट बन्नुपर्ने उनले बताइन्। ‘हातमा मोवाइल नहुने कमै छन्। सामाजिक सञ्जालमा पनि उत्तिकै पहुँच छ। तर, किसान भने आफ्नै पेशामा स्मार्ट बन्न सकेनन। हुन त सबै किसानसम्म इन्टनरनेट पहुँन नपुगेको पनि होला, तर, थाहा पाउनेले पनि नपाएजस्तो गर्दा क्षति भयो,’ उनले भनिन, ‘आगामि दिनमा कृषि कर्म गर्दा मौसमी विवरणमा ध्यान दिनुपर्ने सिकाई भने अहिले भएको छ।’ उनका अनुसार मौसम पूर्वानुमान महाशाखाले मौसमी विवरण परिषद्लाई बेलाबेला उपलब्ध गराउँछ। त्यही अनुसार विभिन्न माध्यममार्फत किसानसम्म जानकारी पुर्‍याउने गरेको उनले बताइन्। 

‘मौसमी विवरणको सूचना प्रवाहमा यो पटक कमि भएको पनि हुनसक्छ । किसानलाई सूचना दिँदादिँदै पनि कतिपयको पहुँचमा नभएको पनि होला । तर, कतिपयले वेवास्ता पनि गरेका हुन सक्छन,’ उनले भनिन, ‘किसान स्मार्ट हुन नसकेका पनि हुन । अब किसान पनि स्मार्ट हुनुपर्ने बेला भएको छ । किनकी स्मार्ट हुन नसक्दा यो पटक क्षति भोगेको कुरालाई भुल्नु हुँदैन । त्यसबाहेक सूचना प्रवाहमा पनि सरोकारवालाले चाँसो देखाउनुपर्छ ।’

पछिल्लो समय मौसमी विवरण सहजै मोवाइलमा हेर्न सकिने भएकोले अब किसानले त्यतातर्फ ध्यान दिनुपर्ने उनले बताइन्। ‘किसानले स्मार्ट फोन बोके, तर, सूचना लिनमा स्मार्ट हुन सकेनन,’ उनले भनिन, ‘सूचनामा स्मार्ट भएका किसानले केहीदिन पर्खिन सक्थे।’ उनले किसानले मात्र नभई सरोकारवालाले सूचना दिँदा पनि अब अलि ध्यान दिनुपर्ने बताइन्। ‘मौसमको असर कुन कुन क्षेत्रमा पर्न सक्छ भनेर ‘फोकस’ गर्नुपर्ने बेला भएको छ। कृषिकर्ममा त अझै बढी महत्व छ,’ सापकोटाले भनिन, ‘संचारमाध्यममा मार्फत अब जानकारी पनि बारम्बार दिनुपर्ने जरुरी भयो। सायद यो पटक किसानले बेलैमा थाहा पाएको भए यो खालको क्षति नहुनसक्यो।’ मौसम र उत्पादन अनुसार अब किसानलाई सचेत गराउने बेला भएको उनले बताइन्।  

भूगर्भविद् श्रीकमल द्विवेदी पनि मौसमी जानकारी दिँदा अब विशेष क्षेत्र नै तोक्नुपर्ने अवस्था रहेको बताउँछन्। ‘अब सूचना प्रवाह गर्दा पनि ध्यान दिनुपर्छ। तीनदिनको मौसम पूर्वानुमान गर्न सकिने भएकोले असर पर्ने क्षेत्र तोकेर सूचना प्रवाह गर्न सकेमा बढी प्रभावकारी हुन सक्छ,’ द्विवेदी भन्छन, ‘किसानलाई बेलैमा अलर्ट गराउन सकेको भए यो क्षति नहुन पनि सक्थ्यो।’ मौसम पूर्वानुमान महाशाखाले कृषि कर्ममा सचेत हुनु भनेको अवस्थामा कृषि मन्त्रालयले किसानसम्म सूचना प्रवाहमा चुकेको उनको अनुमान छ। ‘एकपटक सामान्य सूचना गरेर मात्र हुँदैन, बारम्बार जारी गरेपछि बल्ल किसानले थाहा पाउने हुन,’ उनले भने।  

अब सर्वसाधारण जनता पनि मौसमी सूचनामा सचेत हुनु जरुरी रहेको उनले पनि बताए। ‘सर्वसाधारणलाई के कस्तो सुचना दिने भन्ने पनि ख्याल राख्नुपर्छ,’ उनले भने, ‘कुन क्षेत्रमा बढी असर पर्ने हो भन्ने खुट्याउन सक्नुपर्छ।’ संचारमाध्यमबाट तत्काल जानकारी दिन सकेको भए यो क्षति कम हुन सक्ने उनको अनुमान छ। ‘धानलाई ठाडो बोटमै राख्न सकेको भए यो क्षति नहुन सक्थ्यो। बदलिएको मौसमबारे कसैलाई हेक्का नभएकै हो,’ उनले भने, ‘अब किसान पनि सचेत हुने बेला भएको छ। स्मार्ट किसानको जमाना सुरु भएकोले त्यही अनुुसार आफुलाई अपग्रेड गर्नुपर्ने उनले बताए।

प्रकाशित: ३ कार्तिक २०७८ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App