८ वैशाख २०८१ शनिबार
अर्थ

मध्यपहाडी लोकमार्गको कास्की खण्डको काम अन्तिम चरणमा

मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की पश्चिमखण्ड । तस्बिरः सन्देश श्रेष्ठ/नागरिक

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत कास्की खण्डको काम अन्तिम चरणमा पुगेको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की पश्चिम खण्डको काम लगभग ९५ प्रतिशत सकिएको हो। यो खण्ड अब माघसम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्की पश्चिमखण्डको पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोला सम्मको १२ किलोमिटर सडकको निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका कास्की पश्चिम खण्ड हेर्ने इन्जिनियर अनन्त बरालले बताए। उनले यो खण्ड माघ अन्तिम सम्ममा सम्पन्न भइसक्ने बताए। ‘नियमित काम भयो भने माघ नलाग्दै सकिन्छ, नभए ढिलोमा माघ मसान्तसम्ममा जसरी पनि सकिन्छ,’ उनले भने।  

कास्की पश्चिम खण्ड अन्तर्गत याम्दीदेखि घट्टेखोला सम्मको १२ किलोमिटर सडक मध्ये अब २ किलोमिटर मात्रै ‘अस्फाल्ट’ कालोपत्र गर्न बाँकी छ। अन्य ठाउँमा अस्फाल्ट कालोपत्र लगाउने काम सकिएको ईञ्जिनियर बरालले बताए। बाँकी २ किलोमिटर पनि कालोपत्र गर्न बाहेक अन्य सबै काम सकिएको उनले जानकारी दिए। कालोपत्र गरिसकेको ठाउँमा भने रोड मार्किङको काम भइरहेको उनले बताए।

याम्दीदेखि घट्टेखोलासम्मलाई दुई खण्डमा विभाजन गरेर सडक निर्माणको काम भइरहेको छ। याम्दीदेखि सुईखेतसम्म र सुईखेतदेखि घट्टेखोलासम्म गरी ६–६ किलोमिटरको दुई खण्ड बनाएर ठेक्का सम्झौता भई काम भइरहेको छ।

चार वर्षअघि निर्माण शुरु भएको यो खण्ड निर्माणमा ढिलाई भएको छ। २ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०५६ सालमा शुरु गरिएको यो खण्ड सम्झौता गरिएको मिति भन्दा २ वर्ष ढिला भइसकेको छ। सुरुवातमा विद्युत पोल र खानेपानीको पाइपको स्थानान्तरणको समस्याले ढिलाई भएको भएको थियो। पछि उक्त समस्या समाधान भएपनि कोरोनाका कारण आयोजनाको काम प्रभावित भयो। सोहि कारण यसको निर्माण सम्पन्न गर्ने म्याद तीन पटक थप गरिसकिएको छ।

आयोजना निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा पोल र पाइप कसले स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी तय नहुँदा सुरुमा लामो समय काम प्रभावित भएको दावी आयोजनाको छ। अब चैतसम्ममा सम्पन्न गर्नेगरी म्याद थपिएको छ। तोकिएको मितिमा निर्माण सम्पन्न नभएपछि वि.सं.२०७६ असोजमा पहिलोपटक, पहिलो चरणको कोरोनाका बेला दोस्रो पटक र कोरोनाको दोस्रो चरणपछि तेस्रो पटक म्याद थप गरिएको हो। उनले थपिएको म्याद भन्दा अगाडि नै सक्नेगरी काम भइरहेको उनले बताए।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको कास्कीको पश्चिम खण्ड याम्दीदेखि कास्की पर्वत/सिमाना नयाँपुलसम्म ३७ किमी पर्दछ। सो खण्ड मध्ये घट्टेखोला–नयाँपुलको २५ किमी सडकको काम यसअघिनै सम्पन्न भइसकेको छ। कास्कीको पूर्वी खण्डको भैँसेदेखि याम्दीसम्मको ‘सडक एलाइनमेन्ट’ भइसकेको छैन।

आयोजनाले याम्दी–सुइखेत खण्ड निर्माणका लागि विसं २०७४ भदौमा स्वच्छन्द इलाइट जेभीसँग रु ९८ करोड ७९ लाख ६१ हजार ४१५ मा र सुइखेत–घट्टेखोला खण्ड शर्मा एण्ड कम्पनीसँग रु ९८ करोड १२ लाख ५० हजार ५२९ लागतमा ठेक्का सम्झौता गरेको थियो।

प्रकाशित: २ कार्तिक २०७८ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App