८ वैशाख २०८१ शनिबार
अर्थ

सुस्ताएको पर्यटनमा आन्तरिक पाहुनाको राहत

अल्ट्रालाइटबाट पोखराको आकाशमा फन्को मार्दै पाहुना।

पोखरा–काठमाडौं रुटमा यतिबेला बुद्ध एयरले मात्र दैनिक १० वटा उडान गरिरहेको छ। ती सबै उडानका करिब सतप्रतिशत सिट नै यात्रुले भरिएका छन्। त्यस्तै पोखरा–भैरहवा हुने दैनिक दुईवटा उडानमा पनि सिट पाउन मुस्किल छ। यती एयरलाइन्सले पोखरा–काठमाडौं रुटमा दैनिक ६ वटा उडान गरिरहेको छ। यतीका जहाजका सिट पनि यात्रुले भरिएका छन्। त्यस्तै गुण एयरलाइन्सको जहाजमा पनि टिकट पाउन मुस्किल छ।

एयरलाइन्स पदाधिकारीका अनुसार यो पटक हवाई यात्रा गर्ने यात्रुको ‘ट्रेन्ड’ परिवर्तन भएको देखिएको छ। उनीहरुका अनुसार पोहोर–परार दसैंअघि पोखराबाट काठमाडौं जाँदा र दसैंपछि काठमाडौंबाट पोखरा फर्किदा जहाजको टिकट सहजै पाइन्थ्यो। यात्रु अभाव भएपछि हवाई कम्पनिले निकै नै सस्तो भाडादरमा दसैंअघि पोखरा–काठमाडौ र दसैंपछि काठमाडौं–पोखरा यात्रुलाई यात्रा गराउँथे। दसैंका बेला काठमाडौंबाट बाहिरिँदा र दसैंपछि पोखराबाट फर्किदा मात्र जहाजमा खचाखच यात्रु हुँदा टिकटको मूल्य पनि महंगो पर्दथ्यो। तर, अहिले दुईतर्फी उडानमै हवाई यात्रु खचाखच छन्।

कोरोना भाइरस संक्रमणले लामो समयदेखि थलिएको पर्यटन क्षेत्र ब्यूँतिने प्रयासमा छ। त्यही अनुसार अहिले आन्तरिक यात्रुको ओहोरदोहोर चल्दा हवाई क्षेत्रमा यात्रुको भीड भएको एयरलाइन्स पदाधिकारी बताउँछन्। उनीहरुका अनुसार पोखरा–काठमाडौं रुटमा मात्र नभई काठमाडौंबाट हुने कुनैपनि गन्तव्यका उडानमा यात्रु पर्याप्त यात्रु छन्। यात्रु अभाव नभएपछि उडान व्यवस्थापनमा समेत हम्मेहम्मे परेको हवाई कम्पनिका पदाधिकारी बताउँछन्।

‘योपटक दसैअघि पोखरा–काठमाडौं र दसैंपछि काठमाडौं–पोखरा रुटमा पनि पर्याप्त यात्रु भए। अघिल्ला वर्षसम्म दसैंअघि काठमाडौं–पोखरा र दसैंपछि पोखरा–काठमाडौं मात्र यात्रु हुन्थे,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन्, ‘अहिले दसैंअघि र दसैंपछि दुवै रुटमा यात्रुको उस्तै खचाखच भयो।’ उडान संख्या बढाउँदा पनि यात्रुले खोजेजति टिकट उपलब्ध गराउन नसकेको उनले बताए।

‘हवाई यात्रा गर्ने यात्रुको ट्रेन्ड नै परिवर्तन भएको हाम्रो अनुमान छ। किनकी दसैंअघि पोखराबाट काठमाडौं जाने जहाजमा यात्रु नपाउँदा रित्तै उड्थे। दसैंपछि काठमाडौंबाट पोखरा फर्किदा पनि यात्रु हुँदैनथे,’ बरालले भने, ‘अहिले भने दुवै रुटमा यात्रु अभाव छैनन्। अझ विदेशी पाहुना नहुँदाको अवस्थामा पनि आन्तरिकको भरमा उडान गर्दा पनि यात्रु अभाव भएको छैन।’ कोरोना संक्रमणको त्रासले गर्दा स्थलमार्ग हुँदै खचाखच बसमा यात्रा गर्न असुरक्षित ठानेकै कारणले पनि यात्रुले हवाईजहाज रोजेको हुनसक्ने उनले बताए। त्यसबाहेक स्थलमार्गको झन्झटिलो यात्राले पनि यात्रुलाई जहाजमा आकर्षण गरेको उनको अनुमान छ।

‘सुरक्षित यात्राका लागि यात्रुले विकल्पको रुपमा हवाईजहाजलाई लिएका हुन सक्छन्। हुन त पहिले भन्दा अहिले आन्तरिक यात्रुको हवाई यात्रा पनि बढेको छ,’ उनले भने। बरालका अनुसार पोखरा आउने जहाजका सबैजसो सिटका यात्रु आन्तरिक पाहुना हुन्। एकाध विदेशी बाहेक सबै आन्तरिक यात्रु पोखरा आएको उनले बताए। ‘कोरोनापछि हवाई सेवाले गति लिएको देखिएको छ। आन्तरिक यात्रुको भीडभाडले पनि यसलाई पुष्टि गर्छ,’ उनले भने।

हवाई यात्रामा जस्तै आन्तरिक पाहुनाको भीडभाड पर्यटनका अरु क्षेत्रमा पनि रहेको व्यवसायीले बताएका छन्। आन्तरिक त्यही भीडमा केही भारतीय पाहुना पनि थपिँदा पर्यटन क्षेत्र चलायमान देखिएको छ। पर्यटन व्यवसायीका अनुसार लेकसाइडका होटलमा आन्तरिक पाहुनाको आगमन पनि यतिबेला ह्वात्तै थपिएको छ। होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी भन्छन्, ‘कोरोना संक्रमण सुरु भएपछिको सबैभन्दा बढी भीडभाड अहिले देखिएको छ। आन्तरिक यात्रु पर्याप्त आएका छन्। केही भारतीय पनि छन्। उनका अनुसार अहिले होटल बाराहीमा ५६ कोठामा पाहुना बस्न मिल्छ। ती सबै कोठा अहिले आन्तरिक पाहुनाले भरिएका छन्।

फूलपातीदेखि बाराही होटल पाहुनाले भरिन थालेकोमा मंगलबारसम्मका लागि पुरै भरिभराउ रहेको केसीले बताए। ‘बेलुकीपखको लेकसाइडको भीडभाड हेर्दा कोरोना संक्रमणको त्रासको कुनै संकेत नै छैन,’ उनले भने, ‘यसले व्यवसायीलाई पनि हौस्याएको छ।’ आन्तरिक र भारतीय पाहुनाको साथले पर्यटन क्षेत्र चलायमान बनेको उनले बताए।

कोरोना संक्रमणको त्रासले लामो समय घरभित्रै थुनिएका आन्तरिक यात्रु अहिले अलि सहज भएको मौका पारेर घुम्न निस्केको उनले बताए। ‘होटलले पाहुनाबाट राम्रो मुल्य नै लिएका छन्। उत्तिसारो सस्तो पनि होईन, आन्तरिक पाहुना पनि लामो समयसम्म घरभित्रै थुनिँदा कहाँ जाउँ र के गरौ भन्ने अवस्थामा थिए,’ उनले भने, ‘अहिले सहज अवस्था पारेर घुम्न निस्कँदा सबैतिर भीडभाड भएको हो।’

ल्याण्डमार्क होटलका संचालक ओमप्रकाश पाण्डे पनि होटलका ५० प्रतिशत कोठामा पाहुना रहेको बताउँछन्। ल्याण्डमार्कमा १०१ वटा कोठा छन्। ती मध्ये आधा कोठामा पाहुना रहेको उनले बताए। ल्याण्डमार्कले चितवनको सौराहामा पनि होटल संचालन गरेका छ। सौराहाको होटलमा पनि ५० प्रतिशत कोठामा पाहुना रहेको उनले बताए। ‘लामो समय सुस्ताएको पर्यटन क्षेत्रमा केही राहत दिलाउने गरि चहलपहल बढेको छ। यही चहलपहलका बीच मौसमले साथ नदिँदा आउन चाहेका पाहुना पनि रोकिएको उनले बताए।

होटल र जहाजमा मात्र पाहुनाको भीड नभई यहाँको आकाशमा उडान हुने साहसिक गतिविधिमा पनि पाहुनाको चहलपहल देखिएको छ। यहाँको आकाशमा उड्ने अल्ट्रालाइट र प्याराग्लाइडिङमा पनि पाहुना छन्। पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठ भन्छन, ‘लामो समय सुस्ताएको पर्यटनमा सुखद संकेत देखिएको छ। तर, यहीबेला मौसम खराबी हुँदा समस्या भएको छ।’ उनका अनुसार अहिले पोखरामा केही आकारमा भारतीय पाहुना पनि छन्। तिनैमा आन्तरिक पाहुना पनि थपिँदा व्यवसायमा केही चमक देखिएको छ।

उनका अनुसार पोखरा अल्ट्रालाइट कम्पनिले मात्र अहिले दिनमा ८/९ वटा उडान गरिरहेको छ। त्यसबाहेक अरु कम्पनिले पनि केही आकारमा उडान गरिरहेका छन्। पोखराको आकाशमा अहिले दैनिक प्याराग्लाइडिङको करिब ४ सय उडान भईरहेको हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए।

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार अहिले पोखराको होटलका कोठाको अकुपेन्सी ५० प्रतिशत छ। यो अकुपेन्सी अझै केही दिन रहिरहने र त्यसपछि बिस्तारै घट्दै जाने उनले बताए। ‘आन्तरिक पाहुनाको भरमा पनि पर्यटन क्षेत्र चम्किएको छ। अब कोरोना संक्रमण नहुने हो भने आगामि दिनमा पाहुना आउनेछन,’ उनले भने, ‘अहिले सुखद् संकेत देखिएको छ। अब पर्यटनमा सुधार आउनेछ।’

प्रकाशित: १ कार्तिक २०७८ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App