बिग्रेको अवस्थामा भित्रिएको सात हजार ५ सय ९१ टन डिएपी ‘प्रोपर डिस्पोज’ (व्यवस्थित नष्ट) नगरिँदा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा समस्या खडा भएको छ।
नेपालमा कृषिका लागि चाहिने रासायनिक मलका दुई आयातकर्ता ‘साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले २३ अगस्त २०२० यता आयात गरेका मल सुक्खा बन्दरगाहभित्र थन्किएको ठाउँमा कुहिएका छन्। दुईवटै आयातकर्ताले गरी आयात गरेका डिएपी मलमध्ये एक लाख ५१ हजार ८ सय २० बोरा मल भिजेर डल्लो परेको अवस्थामा नेपाल भित्रिएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ। समुद्री बाटोमैं वर्षतको पानीले उक्त मल भिजेको बताइएको छ।
सुक्खा बन्दरगाहभित्रै अब ति मल कुहिएर समस्या खडा भएको संचालन गर्ने कम्पनी प्रीस्टिन भ्यालि ड्राइपोर्ट प्रालिले जनाएको छ। पानीले भिजेर बिग्रिएको मल करिब १४ महिनादेखि सुक्खा बन्दरगाहमा थन्किएको हाे। साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको ६ हजार ६ सय टन खेपमध्ये छ हजार ३ सय ३० टन मल बाटोमैं बिग्रेको थियो। यो भनेको एक लाख २६ हजार बोरा हो। त्यसतै कृषि सामग्री कम्पनीले मगाएको एक हजार ३ सय ८० टनको खेपमा एक हजार २ सय ६१ टन अर्थात २५ हजार २ सय २० बोरा मल बिग्रिएको थियो।
‘बिग्रिएको मल नष्ट गर्नुपर्ने छ, भन्सार ऐनले आयातकर्ताले नै त्यस प्रकारका आयातित बस्तु नष्ट गर्नुपर्ने भनेको छ,’ वीरगन्ज सुक्खा बन्दरगाह भन्सारका प्रवक्तासमेत रहेका भन्सार अधिकृत चुडामणी शर्माले नागरिकलाई भने, ‘बिग्रिएको मल हामीले जफत गरेर राखेका छौं। अब आयातकर्तासंग समन्वय गरेर यसलाई डिस्पोज गर्ने हो।’ उनका अनुसार आवश्यक प्रक्रियापछि गत जेठ १६ गतेका दिन उक्त मल जफत गरेर भन्सारले लिसकेको छ, अब नष्ट गर्न मात्र बाँकी छ। ‘बल्क’ (थोक खेप)मा जहाजमा आयात हुने मल त्यतिबेला समुद्री मार्गमैं वर्षाको पानीले भिजेको आयातकर्ताबाट जानकारी पाइएको उनले बताए।
भन्सार अधिकृत शर्माका अनुसार भारतीय बन्दरगाहमा आएपछि आयातकर्ताले त्यतै नष्ट गर्नका लागि पहल गरे पनि नियमले नमिल्ने भन्दै भारतीय पक्षले त्यसको अनुमति दिएका थिएनन्। रेलमार्फत वीरगन्ज सुक्खा बन्दरगाह भित्रिएको मल अनलोड हुने बेलामा नै डल्ला परिसिकेको फेला परेको थियो। ‘काम नलाग्ने अवस्थाको मल भन्सारले जाँचपास गर्ने कुरै भएन,’ शर्माले भने। उक्त मल अहिले बन्दरगाहमा रेलवे लिकको बीचमा र किनार थुपारिएको छ।
बन्दरगाह सन्चालन गर्ने प्रिस्टाइन भ्याली ड्राइपोर्टले बिग्रिएको मल बन्दरगाहबाट हटाउन भन्दै आइरहेको छ। प्रिस्टाइन भ्यालीले बन्दरगाहमा उक्त मलका कारण अनेक असहजता भएको बताउँदै आएको छ। ‘जथाभावी राखिएको मलका कारण बन्दरगाह व्यवस्थापनका कठिनाइ भइरहेको छ। रासायनिक बस्तु हो र परिमाण पनि अधिक छ। कुहिएर त्यहीँको माटोमा बस्यो भने दिर्घकालसम्म यसले समस्या गर्ला,’प्रिस्टाइन भ्यालीको मुख्य साझेदर प्रिस्टनि ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक बि. मोहनले भने, ‘यसको असर अरु आयातित बस्तुमा नपरोस भनेर हामी निकै सावधान छौं। कन्टेनर कार्गो, फलाम र बैग कार्गो (बोराबन्द मालबस्तु) को चाप बढिरहेको अवस्थामा थन्किएको ठूलो परिमाणको मल थप समस्या बनेको छ।’
संयुक्त अरब इमिरेट्स दुबईको ‘स्वीस सिंगापुर ओभरसिज इन्टरप्राइजेज’ले मल आपूर्तिको जिम्मा लिएको थियो। यताका आयातकर्ता साल्ट ट्रेडिङ्ग र कृषि सामग्री कम्पनी हुन्। उनीहरुको पनि गैरजिम्मेवारी देखिएको छ। साल्ट ट्रेडिङको वीरगन्जस्थित कार्यालयका प्रमुख अमोज लामिछाने मल भिजेर भएको क्षति आपूर्तिकर्ताले नै बेहोरेको बताएका छन्।
प्रकाशित: ३१ आश्विन २०७८ ०९:५७ आइतबार