१५ चैत्र २०८० बिहीबार
अर्थ

गत वर्षभन्दा दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य

दसैँको लागि मुस्ताङ हुँदै काठमाडौं ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि राखिएका छन्। सोमबारदेखि खरिदका लागि ग्राहक आए पनि आज बिहानैदेखि च्याङ्ग्रा, खसी, बोका खरिद गर्नका लागि ग्राहकको भीड लागेको छ।  

जिल्लाका मात्रै नभई काठमाडौंँदेखि काभ्रेसम्मका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आएपछि व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा एक हजार २ सय पुर्याएका छन्। आजबाट भने अझै १ सय मूल्य बढ्न सक्ने व्यापारीको भनाई छ। यो मूल्य गत वर्षको भन्दा दोब्बर बढी हो।  

यहाँका व्यापारीले गत वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७५० देखि ८०० सम्ममा बिक्री गरेका थिए। यस वर्ष भने सुरुको मूल्य नै एक हजार २०० राखेका छन्।  

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठ गत वर्षभन्दा यस वर्ष मुस्ताङको घरमै महँगो तिर्नुपरेकाले मूल्य बढेको बताउँछन्। सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै गरेका उनले भने, ‘चीनबाट मुस्ताङसम्म ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा च्याङ्ग्रा प्रतिगोटा ४० हजार तिर्न परेकाले यस वर्ष च्याङ्ग्रा महँगो भएको हो।’

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गरेर ल्याउनुपरेको उनको भनाई छ। ‘सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनुपर्ने र यहाँ किलोमा बिक्री गर्नुपर्दा च्याङ्ग्रा महँगो परेको हो,’ उनले भने। अर्का व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो १२ सयसम्ममा बिक्री गरेको बताए। मुस्ताङमै च्याङ्ग्राको मूल्य बढेकाले यस वर्ष यहाँ पनि मूल्य बढेको उनको भनाई छ।

व्यापारीले सानो च्याङ्ग्रा प्रतिगोटा ३६ हजार र ठूलो च्याङ्ग्रा ४० हजारमा खरिद गरेर काठमाडौं ल्याएको दाबी गरेका छन्। च्याङ्ग्रा तयारी मासुको मूल्य भने दुई हजार ६ सय कायम गरिएको छ। सल्लाघारीमा च्याङ्ग्राको तयारी मासु दुई हजार ६ मा बिक्री भइरहेको छ। व्यापारी सुमन शाहीले गत वर्ष तयारी मासु एक हजार ७ मा बिक्री गरेको बताए। यस वर्ष किलोमै एक हजार १ सय बढी मूल्य तोकिएको छ।

बिक्री हुन छाडेपछि यस वर्ष व्यापारीले काठमाडौं भेडा धेरै ल्याएका छैनन्। भेडा पनि मुस्ताङमै प्रतिगोटा ३५ हजार पर्ने उनीहरुको भनाई छ। काठमाडौं उपत्यकामा भने व्यापारीले प्रतिकिलो एक हजार १ सयमा भेडा बिक्री गरिरहेका छन्। च्याङ्ग्रा ल्याउँदा यस वर्ष विभिन्न ठाउँमा २५ हजार कर तिरेको र सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई २५ हजार कर तिरेको खड्काले बताए।  

भक्तपुर नगरपालिकालाई कर तिरे पनि नगरपालिकाले एउटा अस्थायी शौचालयसम्मको व्यवस्था नगरेको व्यापारीको गुनासो रहेको छ। च्याङ्ग्रा व्यवसायी राजाराम श्रेष्ठले भक्तपुर नगरपालिकाले एउटा गोठबाट २५ हजार भाडा लिए पनि शौचालयसम्म नदिएको गुनासो गरे। नगरपालिकाले बत्तीसमेत नदिएको गुनासो व्यापारीले गरेका छन् । शुल्क लिएपछि अस्थायी विद्युत्को व्यवस्थासमेत नगरेको भन्दै व्यापारीले कतिपय अध्याँरोमा टुकी बालेर बस्नुपरेको छ। कतिपयले इमरजेन्सी लाइट बालेका छन्।  

नगरपालिकाले तयारी मासु बिक्री गर्ने प्रत्येक व्यापारीसँग १० हजारका दरले भाडा लिएको छ । चौरमा १४ वटा तयारी मासु बिक्री गर्ने अस्थायी मासु पसल छन् । मासु व्यापारी कुर्णबहादुर शाहीले नगरपालिकाले एउटा पसलबाट १० हजार भाडा लिएको बताउँदै शौचालय र बत्तीसमेतको व्यवस्था नगरपालिकाले नगर्दा महिलालाई समेत निकै समस्या परेको गुनासो गरे।

सल्लाघारीमा खसी प्रतिकिलो ६५७ देखि ७५० सम्ममा बिक्री भएको छ। खसी व्यापारी सिन्धुपाल्चोकका मङ्गल श्रेष्ठले खसीको जात र ठाउँअनुसार मूल्य फरक परेको बताए। २२ किलोदेखि ९० किलोसम्मका खसी आफूले बिक्री गरेको भन्दै उनले सरकारले निर्धारण गरेको ६५० मा सबै जातका खसी बिक्री गर्न नसकिने बताए।  

त्यसैगरी भक्तपुरको हनुमानघाट र ठिमीको कमेरोटारमा राँगो बिक्री भइरहेको छ। त्यस्तै भेलुखेल, च्यामासिंहलगायतका ठाउँमा बोका र खसी बिक्री भइरहेका छन्। हनुमानघाट र कमेरोटारमा एक हजार भन्दा बढी राँगा बिक्रीका लागि राखिएका छन्।  

रामेछाप, पश्चिमका तराई जिल्लाबाट र भारतबाट राँगा ल्याएका हुन्। प्रतिराँगा २५ हजारदेखि ८५ हजारसम्ममा बिक्री भएकोे व्यापारीले बताउँछन्।भक्तपुरका नेवार समुदायले दसैँमा फूलपातीका दिन विभिन्न टोलका गुठीबाट राँगो काट्ने र घर–घरमा मासु भित्र्याउने परम्परा छ भने नवमीसम्म नै विभिन्न गुठी समूहले टोलटोलमा राँगा बलि दिने परम्परा  छ। 

प्रकाशित: २७ आश्विन २०७८ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App