coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्जा नउठेकोमा ६ महिनापछि मात्रै बैंकले सार्वजनिक सूचना निकाल्न पाउने

अबदेखि बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी नउठेको ६ महिनापछि मात्रै असुलीका लागि सार्वजनिक सूचना निकाल्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो। ‘एक वर्षभन्दा बढीको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नुअघि कर्जा भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ,’ एकीकृत निर्देशिकामा भनिएको छ।  

सोही निर्देशिकाले नै ब्याज पुँजीकरणका लागि बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको एक महिनाभित्र राष्ट्र बैंकमा निवेदन पेस गर्नुपर्ने उल्लेख गरिएको छ।  

एक बैंकले अर्को बैंकमा विदेशी मुद्रामा निक्षेप खाता खोल्न नपाउने

त्यस्तै, अबदेखि एक बैंकले अर्र्को बैंकमा विदेशी मुद्रामा ब्याज आर्जन गर्ने खाता खोल्न नपाइने केन्द्रीय बैंकले नियम बनाएको छ। हाल स्वदेशी निक्षेपमा मात्रै यस्तो व्यवस्था रहेकोमा अबदेखि विदेशी मुद्रामा पनि निक्षेप खाता खोल्न नपाउने व्यवस्था गरिएको निर्देशिकामा भनिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै केन्द्रीय बैंकले सिसिडी रेसियो हटाएर सिडी रेसियो लागू गरेपछि तरलता अभाव भइरहेको बेला राष्ट्र बैंकको पछिल्लो निर्देशनमा सिसिडी रेसियो गणना गर्दा विदेशी निक्षेपलाई समेत गणना गर्न पाइने व्यवस्था छ।  

बैंकहरूले कर्जा विस्तारमा जोड दिँदा धेरै बैंकको सिडी रेसियो ९० प्रतिशत हाराहारीमा पुगेको छ। यसै बेला एक बैंकमा भएको विदेशी मुद्राको निक्षेप अर्को बैंकमा जम्मा गर्ने र सोही निक्षेप पुनः ऋणको रूपमा प्रयोग गर्ने क्रम सुरु भएको थियो।  

त्यस्तै, राष्ट्र बैंकको उक्त निर्देशनमा सबै प्रकारका स्वदेशी मुद्राको निक्षेप खातामा दिइने ब्याजदरको अन्तर पाँच प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ। एकै संस्थाको बचत खाताको ब्याज दर अन्तर दुई प्रतिशतभन्दा बढी हुन नहुने निर्देशिकामा उल्लेख छ।  

एक सातामा ३७ अर्बले बढ्यो निक्षेप  

पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप ३७ अर्ब रूपैयाँले बढेको छ। ठूलो मात्राले निक्षेप बढे पनि बैंकिङ प्रणालीमा तरलताको अवस्थामा भने सुधार देखिएको छैन। वाणिज्य बैंकसँग असोज २२ सम्म ४२ खर्ब ५५ अर्ब रूपैयाँ निक्षेप रहेको नेपाल बैंकर्स संघले जनाएको छ।  

सोही अवधिसम्म ३९ खर्ब ८३ अर्ब रूपैयाँ कर्जा रहेको छ। अघिल्लो साता असोज १५ सम्म वाणिज्य बैंकमा ४२ खर्ब १८ रूपैयाँ निक्षेप रहेको थियो। त्यस्तै, त्यतिखेरसम्म कर्जा ३९ खर्ब ४२ अर्ब रूपैयाँ रहेको थियो। एक सातामा वाणिज्य बैंकमा ३७ खर्ब रूपैयाँ निक्षेप थपिँदा कर्जा लगानी ४१ अर्ब रूपैयाँले बढेको छ।

प्रकाशित: २६ आश्विन २०७८ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App