coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जनशक्ति अभावमा खेतीयोग्य जमिन बाँझै

लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा रोजगार खोज्दै बिदेसिनेको संख्या बढ्दै गएपछि ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको छ। भएका युवा पनि बिदेसिएपछि गाउँमा काम गर्ने जनशक्तिको अभाव हुँदा खेतीयोग्य जमिन बाँझै भएको हो।  

बाह्रै महिना खेती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जमिन बाँझै छाडेका छन्। युुवा बिदेसिएसँगै गाउँमा वृद्धवृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ। जिल्लाको बेनी नगरपालिका तथा मालिका, मंगला, रघुगंगा, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन्।

सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका–२ बगरफाँटमा मात्रै २६ हेक्टरभन्दा बढी जमिन बाँझै रहेको स्थानीय चित्रबहादुर रिजालले बताए। उनले भने, ‘खेती गर्न जनशक्ति पाइँदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गा जमिन बाँझै छाड्न बाँध्य छौं।’ यहाँका बासिन्दाले आफ्नै जग्गा भएर पनि सदरमुकामदेखि खाद्यान्न सामग्री किनेर ल्याउने गर्दछन्। सुविधा खोज्दै केही सहरतिर पस्न थाले, केही बिदेसिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका–३ का जगबहादुर बुढाले बताए। अहिले यहाँ भएका युवा पनि खेती गर्न छाडेर व्यापार, व्यवसाय गर्न थालेको उनको भनाइ छ।

ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ। गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिँदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ। शिक्षित वर्ग र पुँजी भएका सहर झरेका छन् भने रोजगारका लागि बिदेसिएका परिवार पनि सुविधा खोज्दै सहरमा बसाइँ गर्न थालेपछि गाउँका घरमा बुढाबुढी मात्रै देखिन्छन्।  

वर्षौंदेखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिँदै गएको छ भने घर जीर्ण भई भत्कन थालेका छन्।

प्रकाशित: २६ आश्विन २०७८ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App