८ वैशाख २०८१ शनिबार
अर्थ

प्राकृतिक परीक्षणलाई अर्थशास्त्रको नोबेल पुरस्कार

डेभिड कार्ड, जोसुआ डी अंग्रिस्ट, गुइडो डब्लू इम्बेन्स

यस वर्षको अर्थशास्त्रको नोबेल पुरस्कार अर्थशास्त्रीहरू डेभिड कार्ड, जोसुआ डी अंग्रिस्ट र गुइडो डब्लू इम्बेन्सले जितेका छन्। उनीहरूले अमेरिकाको फास्ट फुड क्षेत्रमा न्यूनतम ज्याला वृद्धिदेखि क्यास्ट्रो–युगको क्युबाबाट बसाइँसराइसम्मको वास्तविक दुनियाँको आर्थिक प्रभाव देखाउने ‘प्राकृतिक परीक्षण’ अन्वेषणका लागि उक्त पुरस्कार पाएका हुन्।

चिकित्सा अथवा अन्य विज्ञानभन्दा फरक अर्थशास्त्रीहरूले कठोरतापूर्वक नियन्त्रित क्लिनिकल परीक्षण गर्न सक्दैनन्। बरु प्राकृतिक परीक्षणले संसारमा परेको प्रभावको अध्ययन गर्न वास्तविक जीवनको अवस्था प्रयोग गर्दछ। यस्तो अवधारणा अन्य सामाजिक विज्ञानमा पनि फैलिएको छ।

‘उनीहरूको अनुसन्धानले कारणसम्बन्धी प्रमुख प्रश्नहरूको जवाफ दिने हाम्रो क्षमतालाई पर्याप्त मात्रामा सुधार गरेको छ,’ इकोनोमिक साइन्सेस प्राइज कमिटीका सभापति पिटर फ्रेड्रिक्सनले भनेका छन्।  

विगतका नोबेल पुरस्कारहरू अमेरिकी संस्थाहरूले नै पाएको पृष्ठभूमिमा यो पनि अपवाद रहेन। क्यानडामा जन्मेका कार्ड अहिले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत छन्। अंग्रिस्ट अमेरिकी र इजरायली दुवै देशको नागरिकता भएका अर्थशास्त्री हुन्। उनी मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत छन्। डचमा जन्मेका इम्बेन्स स्टानफोर्ड युनिभर्सिटीका हुन्।

सन् १९९० को दशकको सुरुतिर अमेरिकी राज्य न्यू जर्सीमा फास्ट–फुड क्षेत्रमा न्यूनतम ज्यालावृद्धिले पारेको प्रभावसम्बन्धी कार्डको एउटा प्रयोगले त्यस्तो ज्यालावृद्धिले सधैं रोजगारी कटौतीको स्थितितर्फ लैजानुपर्छ भन्ने अर्थशास्त्रको पारम्परिक पाण्डित्यलाई उल्टाइदिएको छ।  

उक्त विषयमा उनले प्रतिष्ठित अर्थशास्त्री अलेन क्रुगरसँगको सहकार्यमा गरेको शोधलाई अमेरिकामा न्यूनतम ज्याला १५ डलर बनाउने कानुन निर्माणका लागि दबाब दिन बाइडेन प्रशासन लगायतले प्रयोगसिद्ध प्रमाणको रुममा प्रयोग गरेका थिए।

उनले सन् १९८० मा फिडेल क्यास्ट्रोले इच्छुक क्युबालीलाई मुलुक छाड्न दिएको अनुमतिको असर पनि अध्ययन गरेका थिए। त्यसको परिणामस्वरूप मियामीतर्फ भएको उच्च बसाइँसराइका बाबजुद शैक्षिक स्तर कमजोर भएका मियामीका बासिन्दामा ऋणात्मक ज्याला वा श्रम असर नपरेको कार्डले फेला पारे।  

कमिटीले प्राकृतिक प्रयोगहरूको व्याख्या गर्न कठिन हुने उल्लेख गर्दै अंग्रिस्ट र इम्बेन्सले सन् १९९० को दशकको मध्यतिर कारणवाचक सम्बन्धको विश्लेषणका लागि प्रणालीसम्बन्धी योगदान गरेको जनाएको छ। पुरस्कारको राशी एक करोड स्विडिस क्रोन्स (११ लाख ४० हजार अमेरिकी डलर) को छ।

प्रकाशित: २६ आश्विन २०७८ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App