७ वैशाख २०८१ शुक्रबार
अर्थ

६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही

बजार अनुगमन गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली। तस्बिर : नागरिक

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा उच्च मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायत कैफियत भेटिएपछि ६ दर्जन व्यावसायिक फर्म कारबाहीमा परेका छन्।  

यो एक साताको अवधिमा उपभोक्ता ठगी गर्ने ७२ व्यावसायिक फर्मलाई पाँच लाख ६५ हजार रूपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। चाडपर्वको मौका छोपी मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिएको विभागले जनाएको छ। ‘चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाएका छौं,’ सेढाईंले भने, ‘खाद्यान्न, लत्ताकपडा पसल धेरै कारबाहीमा परेका छन्।’ कारबाहीमा पर्नेमा बढी बिलबिजक सम्बन्धी घटना छन्। कसूरको प्रकृति अनुसार न्यूनतम पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गरिएको प्रवक्ता सेढाईंले बताए।  

विभागबाहेक जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गरेर कारबाहीको दायरामा ल्याएका छन्। विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको छ। चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न टोली परिचालन गरिएको हो। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यातायात लगायत बजारका सबै क्षेत्रलाई नियमन गरेर गैरव्यावसायिक क्रियाकलाप रोक्ने काम भइरहेको विभागले जनाएको छ।

विभागको नेतृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय लगायत निकायले संयुक्त अनुगमन गरिरहेका छन्। ६ टोली बनाएर अुनगमन सुरु गरेको वाणिज्य विभागका प्रवक्ता सेढाईंले बताए। ‘बजारमा ६ टोली परिचालन गरेका छौं,’ प्रवक्ता सेढाईंले भने, ‘अन्य निकायसँग पनि संयुक्त अनुगमन गर्ने योजना बनाएका छौं।’ पालिकाहरूसँग पनि समन्वयन गरिरहेको उनले जानकारी दिए।

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमन गर्न लागिएको वाणिज्य विभागका महानिर्देशक पौडेलले बताए। ‘नियमित अनुगमन गर्दै आएका थियौं,’ महानिर्देशक पौडेलले भने, ‘चाडपर्वमा थप जनशक्ति मगाएर बजारमा विशेष निगरानी बढाएका छौं।’ विभागले सामान्य प्रशासन मन्त्रालयबाट एक दर्जन जनशक्ति ल्याएर परिचालन गरेको छ।  

अनुमगन टोलीले दसैंमा बढी खरिद–बिक्री हुने खाद्यान्न, लत्ताकपडा, माछा–मासु, फलफूल, तरकारी लगायतको पनि अनुगमन गरेको जनाएको छ। चाडपर्वको मौका छोपी अभावको बहाना बनाएर मूल्यवृद्धि गर्ने भएकाले त्यस्ता विषयमा पनि निगरानी बढाएको विभागको दाबी छ। खुद्रा, होलसेल पसलमात्र नभएर ठूला डिपार्टमेन्टल स्टोर, भाटभटेनी, बिग मार्ट, सेल्सबेरी लगायतमा पनि अनुगमन गरेको छ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिरहेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गर्नेमाथि निगरानी बढाएको विभागले जनाएको छ।  

विभागको अुनगमनमा खाद्यान्न, तेल, दूध तथा दुग्धजन्य, चिया, मसला, पिउने पानी, बिस्कुट, भुजिया, दालमोट, दाल, काजु, किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलो लगायत खाद्यवस्तु न्यून गुणस्तर भेटिएको जनाएको छ। विभागले मानव स्वास्थ्यमा असर गर्ने रोग कारक सूक्ष्म जिवाणु वा हानिकारक तत्व वा रासायनिक मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्य वस्तुलाई पनि बन्देज गरिएको जनाएको छ।

विभागले अनुगमन गर्दा लेबलमा खाद्य पदार्थको नाम, उत्पादकको नाम र ठेगाना, खाद्य पदार्थको समिश्रण, वस्तुको तौल, आयतन, बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन मिति, निश्चित अवधिभित्र उपभोग गरिसक्नुपर्ने वस्तु भए त्यसको अवधि, कुनै खास अवस्थामा उपभोक्ताको स्वास्थ्यलाई हानि पु¥याउने खालका खाद्य पदार्थको लेबलमा जनचेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ हेरेको छ।

खाद्य पदार्थ दूषित वा न्यून गुणस्तर नरहेको सुनिश्चित गर्नुपर्ने, खाद्य पदार्थको उत्पादन तथा प्रशोधन गर्दा खाद्य स्वच्छता तथा व्यवस्थापन प्रणाली अवलम्बन गर्नुपर्ने, खाद्य पदार्थको उत्पादन तथा प्रशोधन गर्ने स्थान र परिसर सफा राख्नुपर्ने भनेको छ।

निरीक्षणको क्रममा कुनै खाद्य पदार्थ सडे–गलेको, कुहिएको, किरा परेको वा फोहोर मिसएको, दूषित खाद्य पदार्थ, उपभोग गरिसक्नुपर्ने अवधि समाप्त भई वा अन्य कारणबाट निर्धारित गुणस्तरभन्दा न्यून गुणस्तर रहेको पाइएमा स्थानीय प्रशासनको रोबहरमा नष्ट गरेको विभागको दाबी छ।

प्रकाशित: २६ आश्विन २०७८ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App