७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रधानमन्त्री देउवाले भनेः विमानस्थलको भलबाढी व्यवस्थापनका लागि बजेट आउँछ

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः उमेश पुन/नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणमा परेका समस्याहरुबारे जानकारी गराएको थियो।  

आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको काम ८५ प्रतिशत सम्पन्न भएको जानकारी गराए। उनले विमानस्थल निर्माण सम्पन्न भएसँगै सञ्चालनमा सहज बनाउन विमानस्थलको एप्रोचमा पर्ने रिठ्ठेपानी डाँँडा कटान, ल्याण्डफिल साईटको वैकल्पिक ब्यवस्था र विमानस्थल क्षेत्रमा वर्षेनी पस्ने भलबाढी व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने बताए।  

‘विमानस्थल सञ्चालनमा आउनु भन्दा ६ महिना अगाडि नै डाँडा कटान सक्नुपर्ने बाध्यता छ, तर, वातावरण प्रभाव मूल्याङ्कन (ईआए) हुन नसक्दा डाँडा कटान ठोस रुपमा अगाडि बढ्न सकेको छैन,’ उनले भने। रिट्टेपानीको डाँडा कटान नगरी विमानस्थल सञ्चालनमा आउन नसक्ने उनले स्पष्ट पारे। उनले ईआईए र डाँडाकटान दुवै एकसाथ अगाडि बढाउने बारेमा प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको ब्रिफिङ समेत गरे।

त्यस्तै मुनंकर्मीले विमानस्थलमा ठूलो वर्षा भएको बेला काहुँ, कुँडहर, चाउथे, बिजयपुर लगायतका क्षेत्रबाट बगेर आएको भलबाढी विमानस्थलको धावनमार्गमा पस्ने गरेको भन्दै यसले विमानस्थल सञ्चालनमा समस्या आउन सक्ने जानकारी गराए। त्यसैले यसको ब्यवस्थापन गर्नुपर्ने भन्दै उनले यसका लागि करिब ६४ करोड रुपैयाँ खर्च लाग्ने बताए।

आयोजना प्रमुख मुनंकर्मीले वैकल्पिक ल्याण्डफिल साइट पनि नतोकिँदा विमानस्थल सञ्चालनमा असर पर्ने हो कि भन्ने त्रास बढेको बताए। हालको ल्याण्डफिल साइट विमानस्थल भन्दा २ किलोमिटर नजिक भएकाले त्यसलाई सार्नैपर्ने बाध्यात्मक परिस्थिति रहेको उनले प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरे। विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिना अघि नै ल्याण्डफिल सार्नुपर्ने उनको भनाई छ। त्यसो भएमा हालको ल्याण्डफिल साइटमा रहेका चराहरुपनि अन्यत्र बसाई सर्ने र चराको रुट पनि परिवर्तन गर्न समय लाग्ने भएकाले चाँडै वैकल्पिक ल्याण्डफिल साइट खोज्नुपर्ने भएपनि अहिलेसम्म महानगरपालिकाले नगरेको उनले बताए।

जवाफमा प्रधानमन्त्री देउवाले भलबाढी व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिने आश्वासन दिए। तर उनले ईआईए र डाँडा कटान सँगसँगै गर्नेबारे भने कुनै जवाफ दिएनन्। ल्याण्डफिल साईटको विकल्प खोज्ने जिम्मेवारी महानगरपालिकाको भएकाले महानगरले नै त्यसको व्यवस्थापन गर्ने बताएको निरीक्षणमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए। 

पत्रकारसँग भने प्रधानमन्त्री देउवाले विमानस्थलको एप्रचोचमा पर्ने रिठ्ठेपानीको डाँडा कटान छिट्टै हुने बताए। ‘डाँडा कटान छिट्टै सुरु गर्नुपर्छ, यसले विमानस्थल सञ्चालनमा कुनै असर नपर्ने अवस्थाको सिर्जना गर्छौं,’ उनले भने। २२ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको पोखरा विमानस्थल १० जुलाई २०२२ सम्ममा निर्माण सम्पन्न गर्नेगरी चिनको सिएएमसी ईञ्जिनिरिङ कम्पनीले निर्माण गरिरहेको छ। 

यसअघि १० जुलाई २०२१ मै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण निर्माणमा ढिलाई भएपछि एक वर्ष म्याद थपिएको थियो।

प्रकाशित: २५ आश्विन २०७८ ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App