coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दशैं सस्तो बजार सुरु : अनुगमनलाई प्रभावकारी बनाउन मन्त्री शाहीको निर्देशन

बुटवल उद्योग वाणिज्य संघले बिहीबारदेखि बुटवलमा दशैं सस्तो बजार सुरु गरेको छ। चाडपर्वका बेला उपभोक्तालाई सस्तो सुलभ मूल्यमा गुणस्तरीय उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले पाँच दिन दशैं सस्तो बजार संचालन गरिएको संघका अध्यक्ष उज्ज्वल कसजुले बताए। बुटवलस्थित संघको कार्यालय रहेको बालमन्दिर परिसरमा दशैं सस्तो बजारको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अजय शाहीले सबैले उपभोक्ताको हित र अधिकारलाई सर्वोपरी ठान्नु पर्ने बताए।

मन्त्री शाहीले दशैंको समयमा दैनिक उपभोग्य वस्तुको खरिदमा उपभोक्ता ठगिने गुनासो आउने स्मरण गर्दै अनुमनलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई निर्देशन दिए। संघले उपभोक्ता हितलाई मध्यनजर गरेर सस्तो बजार संचालन गर्नु सराहनीय रहेको भन्दै उनले प्रदेश सरकारको तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाए।

बुटवल उद्योग वाणिज्य संघले प्रदेशसभा र प्रदेशसभा सचिवालयको लागि आफ्नो भवन उपलब्ध गराएको स्मरण गर्दै मन्त्री शाहीले संघको योगदान अतुलनीय रहेको बताए।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै औद्योगिक तथा व्यावसायिक वातावरण बनाइ दिन सरकारसँग माग गरे। संघले विपन्न परिवारलाई लक्षित गरेर दशैंमा सस्तो बजार सञ्चालन गर्दै आएको स्मरण गर्दै यो २० औं संस्करणको भएको जानकारी गराए।  

असोज २५ गतेसम्म चल्ने दशैं सस्तो बजारमा दैनिक उपभोग्य वस्तु तथा नयाँ नोट सटहीको समेत गरी ३० वटा स्टल छन्। दशैं सस्तो बजारमा नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको नयाँ नोट सटहीको लागि ग्लोवल आईएमई बैंकले व्यवस्थापन गरेको छ। नेपाल दुग्ध विकास संस्थानको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन लगायतका दैनिक उपभोग्य सामाग्रीसहित मासु तथा अण्डा लगायतका उपभोगका सामाग्री राखिएको छ।

दशैं सस्तो बजारमा हरेका समान बजार मूल्यभन्दा कममा उपलब्ध गराईने कार्यक्रम संयोजक कृष्ण श्रेष्ठले बताए। कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका प्रमुख टेकराज भट्टराई, संघका सल्लाहकार अर्जुनमान सैंजु, उपभोक्ता हित संरक्षण मञ्चका समुन्द्र जिसी, बुटवल. ६ का वडा अध्यक्ष तेजप्रसाद विक, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले बोल्दै सुपथ मूल्यका गुणस्तरीय सामान उपलब्ध गराइनु पर्ने बताए।

प्रकाशित: २१ आश्विन २०७८ १४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App