coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखराका होटलमा दसैं–तिहार प्याकेज

अरुबेला भन्दा आधा सस्तोः व्यवसायी

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन/नागरिक

चारतारे होटल माउन्ट कैलाशले दसैं–तिहार अफर भनेर आन्तरिक पाहुना लक्षित प्याकेज ल्याएको छ। यो प्याकेजमा आन्तरिक पाहुनाले अरुबेलाको भन्दा झन्डै आधा सस्तो मूल्यमा होटलमा बसोबास गर्न पाउँनेछन्। आन्तरिक पाहुना आकर्षिक गर्न विशेष प्याकेज ल्याएको होटलले बताएको छ।

होटलका संचालक नरेश भट्टराईका अनुसार यो प्याकेज लागु हुनुअघि एकजोडीले १० हजार रुपैयाँमा होटलमा बस्न पाउँथे। त्यसमा अतिरिक्त कर तिर्नुपर्दथ्यो। तर, अहिले छुटको योजनामा बस्दा एकजोडी पाहुनाले करसहित ५ हजार रुपैयाँ तिर्नुपर्दछ। तर, एक्लै बस्दा भने ३५ सय रुपैयाँ पर्ने भट्टराईले बताए। ‘५० प्रतिशतसम्मको छुट हामीले यो प्याकेजमा दिएका छौ। यसले आन्तरिक पाहुनालाई पोखरासम्म तान्न सघाउनेछ,’ उनले भने। उनका अनुसार अरुबेला एक्लै बस्दा ७ हजार रुपैयाँ तिर्नुपर्दथ्यो। तर, अब ३५ सय रुपैयाँ पर्नेछ।  

‘कोरोना संक्रमणले गर्दा पाहुना लामो समयदेखि हिँड्डुल गर्न पाएका छैनन्। आन्तरिक पाहुना घरभित्रै थुनिएका थिए,’ उनले भने, ‘अब भने बाहिर हिँड्डुल गर्न थालेका छन्। आन्तरिक पाहुनाको चहलपहल पनि बढेको छ।’ अहिले आन्तरिक पाहुनाको आगमनले पोखरामा केही चहलपहल बढेको उनले बताए। उनका अनुसार प्याकेजमा बस्ने पाहुनाले कोठाको बास र ब्रेकफास्ट खान पाउँछन्।

‘अहिलेको अकुपेन्सीको आधार ३० प्रतिशत हारहारी छ। यो आकार दसैंतिहारमा केही बढ्ने अपेक्षा छ,’ उनले भने। उनका अनुसार नोभेम्बर पछिको समयका विदेशी पाहुनाको पनि बुकिङ आउन थालेको छ। ‘केही विदेशीले बुकिङ गर्न थालेका छन्। पाहुना नै नआएसम्म त यकिन भएन,’ उनले भने, ‘तर पाहुना आउने योजनामा छन्।’  

पोखराकै अर्को ल्याण्डमार्क होटलले पनि दसैं तिहारको सस्तो प्याकेज ल्याएको छ। संचालक ओमप्रकाश पाण्डेका अनुसार ल्याण्डमार्कमा एक जोडीका लागि ७७ सय रुपैयाँको प्याकेज छ। यो मुल्य पहिला ११ हजार ५ सय रुपैयाँको हो। यो प्याकेजमा पाहुनाले एकरातको बास, ब्रेकफास्ट र डिनर खान पाउने छन्। ‘अरुबेलाको भन्दा सस्तो प्याकेज ल्याएका छौ। यसले आन्तरिक पाहुनालाई पोखरासम्म तान्न सक्ने अनुमान छ,’ उनले भने।  

उनका अनुसार प्याकेजमा एक्लै बस्दा पाहुनाले ५५ सय रुपैयाँ तिर्नुपर्दछ। यो मुल्य पहिला ६५ सय रुपैयाँ थियो। उनका अनुसार पछिल्लो समय आन्तरिक पाहुनाले बुकिङ र सोधपुछ गर्न थालेका छन्। ‘कोरोना संक्रमण केही कम भएकोले आन्तरिक पाहुना आउने अपेक्षा छ,’ उनले भने, ‘दसैं तिहारमा आन्तरिक पाहुनाको आगमन हुने भएकोले होटलले छुट सहितको प्याकेज ल्याएको छ। यसले पाहुनालाई सस्तोमा पोखरा बसाउनेछ।’

पोखराको पाँचतारे होटल पोखरा ग्राण्डले पनि चाँडपर्व लक्षित प्याकेज ल्याएको छ। पोखरा ग्राण्डले दसैं तिहार भन्दै ल्याएको प्याकेज अरुबेला भन्दा सस्तो रहेको होटलले जनाएको छ। पोखरा ग्राण्डमा एक्लै बस्दा ४ हजार ४ सय ४४ र दुईजना बस्दा ५ हजार ५ सय ५५ रुपैयाँ तिर्नुपर्ने सिनियर सेल्स म्यानेजर कमल शेरचनले बताए। होटलको यो मुल्यमा ब्रेकफास्टको सुविधा छ। त्यसबाहेक कर पनि यही मुल्यमा समावेश गरिएको उनले बताए। त्यसबाहेक एकजनाको डिनरको मुल्यमा दुईजनाले खान पाउने गरि प्याकेजमा पनि समेटिएको उनले बताए। शेचरनका अनुसार यसअघि एक्लै बस्दा पाहुनाले ६ हजार रुपैयाँसम्म तिर्नुपर्दथ्यो। दुईजनाको ८ हजार रुपैयाँसम्म पर्दथ्यो।  

‘यो प्याकेज दसैं तिहारमा घुम्न आउने आन्तरिक पाहुना लक्षित छ। तर, क्रिसमससम्मका लागि लागु हुनेछ,’ शेरचनले भने, ‘आन्तरिक पाहुना तान्नका लागि यसले सघाएको छ।’ आन्तरिक पाहुनाहरु समुह बनाएर प्याकेजमा बस्न आउने गरेको उनले बताए। ‘चाडपर्वमा होटलले ल्याउने यस्तो प्याकेज प्रभावकारी हुन्छन, अरुबेला भन्दा सस्तोमा सेवा पाउने भएपछि पाहुनालाई सस्तो पर्न जान्छ,’ उनले भने। कोरोना भाइरस संक्रमण कमजोर भएको बेला आएको यो प्याकेजले होटलमा बस्ने पाहुनाको आकार बढाईरहेको उनले बताए। ‘चाँडबाँड पनि लागेको छ। आन्तरिक पाहुनाको आगमन पनि थपिँदै गएको छ,’ उनले भने।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार पर्यटन क्षेत्रका व्यवसायीले ल्याउने प्याकेज जुनसुकै बेलाका पनि आकर्षक हुन्छन्। दसैं तिहारको बेला सबैतिर अफर ल्याउने पहिल्यै देखिको चलन भएको र त्यही अनुसार पर्यटन क्षेत्रमा पनि आउने गरेको व्यवसायीको भनाई छ।

‘दसैंतिहारको बेला अरुतिरको बजारमा पनि आकर्षक प्याकेज र अफर ल्याउने चलन हो। परिवार नै लिएर घुमघाममा हिड्ने चलन भएकोले दररेटमा सहुलियत दिँदा पाहुनाले लाभ पाउँछन्,’ पराजुलीले भने, ‘त्यही अनुसार यो पटक पनि धेरैजसो होटलले छुटका प्याकेज ल्याएका छन्।’ कोरोनाको मारमा परेको पर्यटन क्षेत्र उकासिन पनि प्याकेज अझै बढी आवश्यक पर्ने उनले सुनाए।  

उनका अनुसार प्याराग्लाइडिङ, अल्ट्रालाइट, होटल, रेस्टुरेन्ट सहित पर्यटक बसमा पनि छुट रहेकोले पाहुनाले सस्तोमा पोखरा घुम्न पाउँछन्। ‘अहिले धेरैजसो होटलले प्याकेज ल्याएका छन्। पोखरा–काठमाडौंको पर्यटक बसमा समेत छुट दिइएको छ। सस्तो प्याकेज हेरेर आउने चलन पनि छ,’ उनले भने, ‘कोरोना महामारीको मारमा परेका पर्यटन व्यवसायीलाई प्याकेजको सस्तो मूल्यले पाहुना तान्न सघाउने अपेक्षा हो।’ उनका अनुसार पछिल्ला दिन पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढेको छ। ‘अबका केही दिन पाहुना आगमन अझै बढ्ने अपेक्षा छ,’ उनले भने।

प्रकाशित: २१ आश्विन २०७८ ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App