१६ चैत्र २०८० शुक्रबार
अर्थ

पेट्रोलियम इन्धनको 'रेकर्डतोड' तस्करी

पर्सा जिल्लाबाट भारततर्फ पछिल्लो समयमा पेट्रोलियम इन्धनको तस्करी ब्यापक रुपमा बढेको छ। स्थानीयहरुका अनुसार विगतमा यस प्रकारले पेट्रोलियम इन्धनको तस्करी कहिले पनि भएको थिएन। वीरगन्ज मुख्य नाकामा नेपालबाट फर्किने भारतीय मालबाहक गाडीहरुले आफ्नो ट्यांकीमा हालेर लैजाने बाहेक इन्धनको चोरी निकासी नभए पनि जिल्लाका सबै साना नाका र चोरहबाटोहरु अहिले पेट्रोलियम इन्धनको तस्करीको अखडा बनेको छ।  

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका इकाइहरुलाई बाक्लो उपस्थिती र गस्तीका बावजुद यस प्रकारले तस्करी भएपछि सुरक्षाकर्मी उपर सवाल उठेको छ। स्थानीयले यसलाई मिलोमतो मानेका छन्। ‘सीमा वार पार दुबैतिरका ‘बलेकिया’ (तस्कर) पृष्ठभूमिका मानिसहरु अहिले डिजेल ओसार पाेसारमा लागेका छन्,’ एक जना नागरिक अगुवाले भने, ‘सुरक्षाकर्मीले देखेर पनि नदेखेको जस्तो गर्छन्।’ नेपालमा भारत बिहारको भन्दा डिजेलमा प्रति लिटर ४२ रुपैयाँ ३६ पैसाको फरक छ। यसले गर्दा यस लिटर मात्र डिजेल वारीबाट पारी पुर्याएपछि यसमा चार हजार २ सय ३६ रुपैयाँ नाफा हुने रहेछ। नेपालमा अहिले डिजेल प्रति लिटर एक सय १३ रुपैयाँको भाउमा बिक्री छ। सीमापारी यसको मूल्य ९७ रुपैयाँ १ पैसा भारतीय अर्थात नेपाली रुपैयाँमा एक सय ५५ रुपैयाँ ३६ पैसा पर्न जान्छ।  

यसरी प्रति लिटरमा कायम भएको ४२ रुपैयाँ ३६ पैसाको मूल्यान्तरले गर्दा सीमावर्ती इलाका डिजेल तस्करीको अखाडा बनेको छ। छिटफुट रुपमा पेट्रोलको पनि चोरी निकासी भइरेहको छ। पेट्रोलमा बिहारभन्दा नेपालमा २६ रुपैयाँ ४६ पैसा मूल्य कम छ। यता एक सय ४२ रुपैयाँ प्रति लिटर डिजेलको भाउ छ भने सीमापारी यसको मूल्य एक सय ५ रुपैयाँ २९ पैसा भारतीय अर्थात नेपाली रुपैयाँमा एक सय ६८ रुपैयाँ ४७ पैसा पर्न जान्छ। पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी लागि परेको दावी गर्छन्। 

‘सुरक्षाकर्मीको मिलोमतोमा कुनै प्रकारको तस्करी भएको जस्तो मलाई लाग्दैछन्,’ पाण्डेले नागरिकलाई भने, ‘कहिकतै एकात जना सुरक्षाकर्मीले कमजोरी गरेका छन् भने त्यो कुरा बेग्लै हो। त्यसको जानकारी आएपछि हामीले त्यसता प्रहरीलाई कारबाही गर्छौं तर त्यसतो गुनासो आएको पनि छैन।’  

साइकल, मोटरसाइकल, ट्याक्टर लगायतका साधन अहिले पेट्रोलियम इन्धनको तस्करीमा प्रयोग भएका छन्। माल सामान बोकेर नेपाल आउने ढुवानीका सवारी साधनले भने गाडीकै ट्यांकीमा हालेर डिजेल लैजाने गरेका छन्। यसको परिमाण पनि समग्रमा ठूलो नै हुने गरेको छ। पेट्रोलपम्प संचालकहरुकै संलग्नातामा तस्करी र यसको लागि सेटिङ्ग हुने गरेको खुलेको छ। यस्तो क्रियाकलापविरुद्ध बोल्नेहरु उपर पेट्रोलपम्प संचालकका मानिसहरुले यसअघि हातपात र दुर्व्यवहार गरेको घट्ना पनि सार्वजनिक भएको थियो।  

डिजेलसहित ट्याक्टर नियन्त्रणमा

डिजेल तस्करीमा संलग्न एउटा ट्याक्टर प्रहीले आइतबार साँझ ८ बजे नियन्त्रणमा लिएको छ। ना.३ त २५६६ नम्बरको आयशर ट्याक्टरमा डिजेल लोड गरी जानकीटोलको बाटो हुँदै अवैधरूपमा चोरी निकासी भइरहेको भन्ने सूचना प्राप्त भई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका –२ बाट डिजेलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

डिजेल तस्करीमा संलग्न भनेर प्रहरीद्वारा नियन्त्रणमा लिइएको ट्याक्टर । तस्बिरः सौजन्य पर्सा प्रहरी

कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जारी गरेको विज्ञप्तिमा, ‘ट्याक्टरलाई रोकी जाँच गर्ने क्रममा चालक ट्याक्टर छाडी भागी फरार भएको उक्त ट्रयाक्टरमा डिजेल ७० लिटर लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको’ जनाइएको छ। ट्याक्टरलाई डिजेलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ। 

प्रहरीले डिजेलसहित ट्याक्टरको मूल्यांकन सात लाख ४ हजार ९ सय रुपैयाँ गरेको छ।

प्रकाशित: १८ आश्विन २०७८ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App