coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष

यात्रु सहायता कक्ष उद्घाटन गर्दै प्रहरी प्रमुख एसपी बोहरा । तस्बिरः महेश्वर

नजिकिएको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै उदयपुर प्रहरीले सदरमुकामस्थित त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेर सञ्चालनमा ल्याएको छ। चाडपर्वका बेला हुने यात्रुको भिडभाड तथा सम्भावित दुर्घटनाबाट बचाउन सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको हो।  

त्रियुगा नगरपालिका ३ र १२ स्थित त्रियुगा बसपार्क प्रवेशद्वारमै जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयले स्थापित सहायता कक्षको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले एक कार्यक्रमका बीच उद्घाटन गरे। सहायता कक्षले भीडभाडमा यात्रुहरुको यात्रालाई सहज बनाउँदै सुरक्षित गन्तव्य गराउन सहयोग पुर्‍याउने उद्देश्य लिइएको एसपी बोहराले बताए। 

यातायात व्यवसायी, ट्राफिक प्रहरी, जिल्ला प्रहरी तथा सवारी चालक र स्थानीयवासीको बृहत उपस्थितिमा कक्ष उद्घाटन गर्दै एसपी बोहराले चाडपर्वका बेला सुरक्षित यात्रा र सहज गन्तव्यका लागि यसले सहयोग पुग्ने बताए। कार्यक्रममा सवारी चालकहरुले सुरक्षित भएर सवारी चलाउन पनि उनले आग्रह गरेका थिए। 

‘चाडपर्वका बेला सबै यात्रुहरु हतारमा हुने गर्छन्, त्यस्तो हुँदा गन्तव्य असहज हुनसक्छ, चोरी चकारी र पाकेटमारीको सम्भावनाले सरसामान र नगद सुनचाँदी असुरक्षित हुन पनि सक्छ’, उनले भने, ‘त्यसैले यात्रु, चालक र यातायात व्यवसायी सबै चनाखो भएर हिँड्नुपर्छ। अप्ठेरो परे प्रहरीलाई तत्काल खवर गर्नुपर्छ।’  

दुर्घटना हुनुको मुख्य कारण चालकहरुको लापरबाही र यात्रुको बेवास्ता पनि भएको उनले बताए। कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख नायव निरीक्षक (सई) लिलाकुमार श्रेष्ठले यात्राको क्रममा कुनै पनि यात्रुलाई आईपर्ने समस्या सामाधानका लागि सहायता कक्ष खोलिएको बताए। उनले अप्ठेरो परेका बेला सहयाग गर्नकै लागि ट्राफिक प्रहरी र प्रहरी सधै तैनाथ राखिने बताए।  

यात्राको क्रममा कतै समस्या परे तत्काल यात्रु सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गर्दै उनले जनताको सेवाकै लागि ट्राफिक र प्रहरी परिचालन भएको उनको भनाइ थियो। चाडबाडको बेला भाडामा ठगी हुन सक्ने, पाकेटमारी हुन सक्ने तथा चोरीचकारीको पनि उत्तिकै सम्भावना भएकाले होसियारीपूर्वक यात्रा गर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ।  

त्यसैगरी कोभिडको जोखिम अझै कायमै रहेकाले यात्रा गर्दा अनिवार्य मास्क लगाउन, भिडभाड नगरी बस्न तथा सेनिटाईजर प्रयोग र साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ। यातायात व्यवसायीलाई पनि हरेक यात्रुबाहक सवारी साधनमा सेनिटाईजर र साबुनपानी राख्न क्षमताभन्दा बढी यात्रु नराख्न, हटमा यात्रु नराख्न आग्रह गरिएको छ।

प्रकाशित: १८ आश्विन २०७८ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App